२०८३, श्रावण २७ गते

Switch TV Mode

बुधवार, श्रावण २७ गते २०८३

इरानी खतराका कारण नाटो शिखर सम्मेलनपछि ट्रम्पले गोप्य रूपमा विमान फेरेको खुलासा

बुधवार , श्रावण २७, २०८३

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा भएको नाटो शिखर सम्मेलनबाट फर्किने क्रममा सम्भावित सुरक्षा खतराका कारण आफूले गोप्य रूपमा विमान परिवर्तन गरेको पुष्टि गरेका छन्।

ट्रम्पका अनुसार अमेरिकी गोप्य सुरक्षा सेवा (सिक्रेट सर्भिस) र सेनाको निर्देशनमा उनलाई फरक उडान र विमान प्रयोग गर्न भनिएको थियो। 'म उनीहरूले भनेअनुसार गर्नुपर्छ,' उनले पत्रकारहरूसँग भने।

यसअघि सार्वजनिक भएको विवरणअनुसार जुलाई ८ मा अंकारा विमानस्थलमा ट्रम्प क्यामेरासामु एयर फोर्स वनमा चढेका थिए। तर त्यसपछि उनलाई विमानको विपरीतपट्टि लगिएको खानपान सामग्री बोक्ने ट्रकमार्फत गोप्य रूपमा अर्को सैन्य विमानमा स्थानान्तरण गरिएको थियो।

अमेरिकी अधिकारीहरूले ट्रम्पमाथि इरानबाट सम्भावित आक्रमणको विश्वसनीय खतरा रहेको बताएका छन्। रिपोर्टअनुसार अमेरिकी गुप्तचर निकायले नाटो शिखर सम्मेलनस्थलनजिक काँधबाट प्रहार गर्न मिल्ने क्षेप्यास्त्र बोकेको व्यक्ति देखिएको सूचनासमेत प्राप्त गरेको थियो।

ट्रम्पले आफूलाई गोप्य रूपमा अर्को विमानमा सारिएको घटनाबारे धेरै जानकारी नलिएको बताए। 'सायद त्यहाँ खतरा थियो। मैले त्यसबारे धेरै सोधिनँ। मलाई धेरै धम्कीहरू आउँछन्,' उनले भने।

उनले आफू सवार वैकल्पिक सैन्य विमान नै 'झन् ठूलो जोखिममा' रहेको दाबीसमेत गरेका छन्। ट्रम्प टर्कीमा नाटो शिखर सम्मेलनका लागि कतारले उपहारस्वरूप दिएको नयाँ बोइङ ७४७–८ विमानबाट पुगेका थिए। फर्किने क्रममा भने उनले पुरानो एयर फोर्स वन प्रयोग गर्ने घोषणा गरेका थिए।

तर सार्वजनिक रूपमा पुरानो एयर फोर्स वनमा चढेको देखिए पनि उनलाई पछि सी–३२ए सैन्य विमानमा सारिएको थियो। सी–३२ए बोइङ ७५७ को परिमार्जित संस्करण हो, जसको प्रयोग अमेरिकी उपराष्ट्रपतिको यात्रामा समेत हुने गर्छ।

ट्रम्पलाई विमान परिवर्तन गरिएको विषयमा विमानमा रहेका पत्रकार र ह्वाइट हाउसका केही कर्मचारीसमेत तत्काल जानकारी दिइएको थिएन। गोप्य सुरक्षा योजनामार्फत गरिएको यो कदमले डिकॉय विमानमा रहेका व्यक्तिहरूको सुरक्षामाथि समेत प्रश्न उठाएको छ।

यो घटना अमेरिका–इरानबीचको तनाव उत्कर्षमा पुगेका बेला भएको थियो। वार्ता भंग भएपछि अमेरिकाले इरानमाथि पुनः सैन्य कारबाही सुरु गरेको भोलिपल्ट ट्रम्पको उक्त गोप्य विमान परिवर्तन गरिएको थियो।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार