२०८३, मंसिर १२ गते

Switch TV Mode

शुक्रवार, मंसिर १२ गते २०८३

अन्तरिक्षमा एआई पूर्वाधार विस्तार गर्न स्पेसएक्सलाई एफसीसीको स्वीकृति

बिहिवार , मंसिर ११, २०८३

वासिङ्टन । अमेरिकी सरकारले अन्तरिक्षमा कृत्रिम बुद्धिमत्ता (एआई) का लागि डाटा सेन्टर निर्माण गर्ने उद्देश्यले स्पेसएक्सलाई १० लाख स्याटेलाइट प्रक्षेपण गर्न अनुमति दिएको छ । अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) ले बुधबार उक्त योजनालाई स्वीकृति दिएसँगै एलन मस्कको कम्पनी स्पेसएक्सको अन्तरिक्षमा एआई पूर्वाधार विस्तार गर्ने महत्वाकांक्षी योजनाले नियामकीय अनुमति पाएको हो ।

एफसीसीले जारी गरेको विज्ञप्तिमा यो अनुमति अमेरिकाको एआई विकाससम्बन्धी प्रयासलाई थप गति दिने उल्लेख गरेको छ ।
विश्वका ठूला प्रविधि कम्पनीहरूले एआई मोडलको प्रशिक्षण तथा सञ्चालनका लागि आवश्यक सर्भर र अन्य पूर्वाधार राख्ने डाटा सेन्टर निर्माणमा सयौँ अर्ब डलर लगानी गरिरहेका छन् । तर, पृथ्वीमा डाटा सेन्टर विस्तार हुँदा विद्युत् र पानीजस्ता स्रोतमा अत्यधिक दबाब पर्ने चिन्ता बढ्दै गएको छ ।

स्पेसएक्सले प्रस्ताव गरेको अन्तरिक्षस्थित डाटा सेन्टर सञ्जाललाई ‘स्टारमाइन्ड’ नाम दिइएको छ । एफसीसीका अनुसार उक्त सञ्जाल सौर्य ऊर्जाबाट सञ्चालन हुनेछ । गुगलसहित अन्य प्रविधि कम्पनीहरूले पनि अन्तरिक्षमा एआई पूर्वाधार निर्माण गर्ने सम्भावनाबारे अध्ययन गरिरहेका छन् ।

एफसीसीका अध्यक्ष ब्रेन्डन कारले अन्तरिक्षमा कम्प्युटिङ क्षमता विस्तार गरेर स्पेसएक्स र अन्य कम्पनीहरूले नयाँ प्रविधिको सम्भावनालाई अघि बढाइरहेको बताएका छन् । उनले यसलाई अन्तरिक्ष र उन्नत प्रविधिमा अमेरिकी नेतृत्व कायम राख्ने तथा आर्थिक समृद्धि विस्तार गर्ने अवसरका रूपमा व्याख्या गरेका छन् ।

यद्यपि, स्पेसएक्सको योजनामाथि केही कम्पनी तथा वैज्ञानिक संस्थाहरूले आपत्ति जनाएका छन् । अमेजनको काइपर सिस्टम्स, भियास्याट र अमेरिकन एस्ट्रोनोमिकल सोसाइटीले स्याटेलाइट प्रक्षेपण योजनाको विरोध गर्दै अनुमति रोक्न माग गरेका थिए ।

उनीहरूले अन्तरिक्षमा स्याटेलाइटको अत्यधिक संख्या बढ्दा आपसी ठक्कर, स्याटेलाइट निष्क्रिय भएपछि सुरक्षित व्यवस्थापन गर्न नसकिने जोखिम तथा अन्तरिक्ष फोहोर बढ्ने सम्भावनाबारे चिन्ता व्यक्त गरेका छन् ।

स्पेसएक्सले भने अन्तरिक्षको दीर्घकालीन स्थायित्व र अन्तरिक्ष फोहोर व्यवस्थापनलाई ध्यानमा राखेर थप उपाय अपनाउने प्रतिबद्धता जनाएको छ । कम्पनीको प्रस्तावअनुसार स्याटेलाइटलाई प्रारम्भिक परीक्षणका लागि कम उचाइमा तैनाथ गरी सञ्चालनमा सक्षम भएपछि उच्च कक्षमा सारिने व्यवस्था गरिनेछ ।

स्पेसएक्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत एलन मस्कले एफसीसीको निर्णयप्रति धन्यवाद व्यक्त गर्दै यो परियोजना अमेरिका र विश्वका लागि महत्वपूर्ण उपलब्धि हुने प्रतिक्रिया दिएका छन् ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार