काठमाडौँ । नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कमल थापाको शब्द रचनामा तयार भएको ‘पिरतीको मिठो धुन’ गीत सार्वजनिक भएको छ ।
चर्चित गायिका अन्जु पन्त र गायक ताराप्रकाश लिम्बुको स्वर रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो । प्रहरी सेवाको व्यस्त र चुनौतीपूर्ण जिम्मेवारीबीच पनि साहित्य र संगीतमा रुचि राख्दै आएका थापा पछिल्लो समय सांगीतिक क्षेत्रमा आफ्ना सिर्जनामार्फत चिनिन थालेका छन्।
वर्दीभित्र रहेर पनि संवेदनशील मन र सिर्जनात्मक सोचलाई जीवित राखेका थापाका गीतमा जीवनका अनुभव, प्रेम, प्रकृति, जन्मभूमिप्रतिको माया र सामाजिक परिवेशका कथा समेटिएका छन् । गीतमा अन्जु पन्त र ताराप्रकाश लिम्बुको स्वरले प्रेमभावलाई संगीतमा उतारेको छ। गीतको भिडियोमा प्रदीप लामा र जुना सुन्दासको प्रस्तुति रहेको छ।