काठमाडौं । ललितपुरबाट स्रोत नखुलेको १ करोड ६७ लाख भन्दाबढी नगदसहित तीन जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भोजपुर नगरपालिका–३ का ३० वर्षीय दीपक खड्का, ललितपुरको गोदावरी नगरपालिका–१० का ३२ वर्षीय जयराम केसी र काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वरका २९ वर्षीय प्रज्वल रिजाल रहेका छन् ।
अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार उनीहरू सवार बा.प्र. १–०२७ च २७६५ नम्बरको भ्यानबाट १ करोड ६७ लाख ३३ हजार २३० रुपैयाँ बरामद भएको हो ।
नख्खुचोकतर्फबाट अघि बढिरहेको उक्त भ्यानलाई प्रहरीले नियन्त्रणमा लिएर जाँच गर्दा भित्र राखिएको बोराबाट स्रोत नखुलेको रकम फेला पारेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान गरिरहेको जनाएको छ ।