२०८३, मंसिर ३ गते

Switch TV Mode

बुधवार, मंसिर ३ गते २०८३

रुसी विमानद्वारा जापानी हवाई क्षेत्र उल्लङ्घन

मंगलवार , मंसिर २, २०८३

टोकियो। दुई संदिग्ध रुसी सैन्य विमानले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेपछि जापानले लडाकु विमान परिचालन गरेको छ । घटनाप्रति जापानले रुससँग कडा कूटनीतिक विरोधसमेत जनाएको छ ।

जापान सरकारका प्रवक्ता मिनोरु किहाराका अनुसार मङ्गलबार बिहान फुकुओकाको दक्षिणपश्चिममा रहेको ओकिनोसिमा टापुनजिकै रुसी विमान जापानी हवाई क्षेत्रमा प्रवेश गरेका थिए । त्यसलगत्तै जापानको आत्मरक्षा बलले ती विमानलाई चेतावनी दिन लडाकु जेट परिचालन गरेको थियो ।

प्रवक्ता किहाराले उक्त घटनालाई जापानको सार्वभौमिकता र राष्ट्रिय सुरक्षामाथिको गम्भीर चुनौती भन्दै यस्तो गतिविधि अस्वीकार्य रहेको बताएका छन् । जापानले कूटनीतिक माध्यमबाट रुससँग विरोध जनाउँदै यस्ता घटना नदोहोर्‍याउन आग्रह गरेको छ ।

यसैबीच, दक्षिण कोरियाले पनि आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रुसी विमानको निगरानीका लागि लडाकु विमान परिचालन गरेको जनाएको छ । यद्यपि, ती विमानले दक्षिण कोरियाको सार्वभौम हवाई क्षेत्र भने उल्लङ्घन नगरेको सियोलले स्पष्ट पारेको छ ।

जापान र रुसबीच प्रशान्त महासागरका विवादित टापुको स्वामित्वलाई लिएर लामो समयदेखि तनाव रहँदै आएको छ । युक्रेन युद्धपछि जापानले रुसमाथि लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धमा सहभागिता जनाएसँगै दुई देशबीचको सम्बन्ध थप तनावपूर्ण बनेको हो ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार