२०८३, मंसिर ३ गते

Switch TV Mode

बुधवार, मंसिर ३ गते २०८३

वित्तीय अपराध नियन्त्रणमा आधुनिक प्रविधि प्रयोग गर्न प्रहरी महानिरीक्षक केसीको निर्देशन

मंगलवार , मंसिर २, २०८३

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित एकदिवसीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले वित्तीय अपराधको बदलिँदो स्वरूप र अनुसन्धानमा प्रविधिको बढ्दो प्रयोगले नयाँ चुनौती सिर्जना गरेको बताए ।
‘आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धानः वित्तीय अपराध रोकथाम नेपाल प्रहरीको मूल अभियान’ नारासहित आयोजित कार्यशालाको मुख्य विषय ‘वित्तीय अपराध अनुसन्धानः प्रमाण सङ्कलनदेखि फैसलासम्म’ रहेको छ ।

आईजीपी केसीले कार्यशालाले वित्तीय अपराध अनुसन्धानका विद्यमान चुनौतीको वस्तुनिष्ठ विश्लेषण गर्दै प्रमाण सङ्कलन, विश्लेषण, अभियोजन र न्यायिक निरूपणसम्मका प्रक्रियालाई प्रभावकारी बनाउने उपाय पहिचान गर्ने विश्वास व्यक्त गरे ।

वित्तीय अपराध नियन्त्रण र अनुसन्धानलाई परिणाममुखी बनाउन सरकारी निकाय, नियामक संस्था, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार सेवा प्रदायक र अन्य सरोकारवालाबीच समन्वय, सहकार्य तथा सूचनाको प्रभावकारी आदानप्रदान आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा प्रहरीका उच्च अधिकारी, अपराध अनुसन्धानकर्ता, अभियोजनकर्ता, वित्तीय नियामक निकाय, बैंक तथा वित्तीय संस्था र दूरसञ्चार सेवा प्रदायकका प्रतिनिधिलगायतको सहभागिता थियो ।

सोही अवसरमा आईजीपी केसीले ‘नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह–भाग ३’ पुस्तकसमेत लोकार्पण गरेका थिए ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार