गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्याङमा क्षेत्रमा शनिबार बिहान ठूलो सुक्खा पहिरो खसेको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार बिहान करिब ८ः३० बजे बुढीगण्डकी नदीपारिको डाँडाबाट पहिरो खसेको हो ।
पहिरोको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी जगतबाट प्रहरी सहायक निरीक्षक ऋषिराम यादवको कमान्डमा चार जनाको टोली घटनास्थलतर्फ खटिएको उनले जानकारी दिए ।
पहिरो खस्दा ठूलो आवाजसहित धुलो उडेको र त्यसको आवाज तथा धुलो निकै टाढासम्म पुगेको स्थानीयले बताएका छन् ।
पहिरोले बुढीगण्डकी नदीको बहावमा हालसम्म कुनै अवरोध नगरेको र नदी अवरुद्ध नभएकाले तल्लो तटीय क्षेत्रमा तत्काल जोखिम नरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए ।
पहिरो थप खस्न सक्ने सम्भावना, नदीको बहाव तथा आसपासका बस्ती र बाटोको अवस्थालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाइएको प्रहरीले जनाएको छ ।