धनकुटा । आधुनिक प्रविधि र विद्युतबाट चल्ने उपकरणको प्रयोग बढ्दै गएको अहिलेको समयमा पनि जिल्लाको केही ग्रामीण भेगमा परम्परागत सीप र प्रविधिको जगेर्ना भइरहेको छ । विशेषगरी ठेकी निर्माणमा अहिले पनि पानी र चुदारोको प्रयोग गरिँदै आएको छ । यसले स्थानीय संस्कृति र परम्परालाई जीवन्त राखेको छ । महालक्ष्मी नगरपालिका वडा नं ४ का दीर्घबहादुर पौडेल एक वर्षेमा करिब १०० ठेकी बनाउँदै आएका छन्।
उनले फुर्सदका समयमा मात्रै ठेकी बनाउने काम गर्दै आएको बताए । खेतीपातीको याममा लगाउने र बाली उठाउने यामबाहेकका समयमा ठेकी बनाउने काम गर्दै आएको उनको भनाइ छ । उनले बनाउने ठेकी सानोदेखि ठूलो आकारसम्मका हुन्छन् । यसमा दुईदेखि ३८ कुरुवासम्म अट्ने क्षमता ठेकी बनाउँदै आएको उनको भनाइ छ । ठेकीसँगै पौडेलले तोङ्वा, खाने भाँडो र हर्पेसमेत बनाउने गरेको बताउछन् ।
परम्परागत तरिकाले बनाउँदा ठेकीप्रति कुरुवा ३०० रुपैयाँका दरले बिक्री हुने गरेको छ । सानो दुई कुरुवा अट्ने ठेकी ६०० र ३८ कुरुवा अट्ने ठेकी करिब ११ हजार ४०० मा बिक्री हुँदै आएको छ । यसबाट वार्षिक रुपमा करिब रु छ लाखसम्मको आम्दानी गर्दै आएको बताए ।
कालिगढ पौडेलका अनुसार, बिजुलीबाट बनाइने ठेकीभन्दा परम्परागत ठेकीेप्रति कुरुवा करिब १०० रुपैयाँ सस्तो पर्ने गरेको छ । त्यसैले बजारमा परम्परागत रुपमा चुदारोको प्रयोग गरेर बनाइएको ठेकीको माग राम्रो रहेको छ ।
ठेकी निर्माण प्रक्रिया निकै रोचक र मेहनतपूर्ण छ । नजिकैको खोलाबाट ल्याइएको पानीलाई करिब पाँच मिटर माथिबाट झारेर साचो घुमाइन्छ । त्यसपछि सो साचोमा काठ राखेर चुदारोको सहायताले काँचो काठलाई बिस्तारै आकार दिइन्छ । यसरी तयार गरिने ठेकीमा कालिगढको सीप र कलात्मकता स्पष्ट देखिन्छ । ठेकी बनाउन मुख्यतः दार र कटहरका रूखको काठ प्रयोग गर्दा उपयुक्त मानिन्छ । दार र कटहरका काठबाट बनाइएको ठेकी दूध जमाउँदा दही र मोही मीठो हुन्छ भन्ने मान्यता रहेको छ । तर, पछिल्लो समय काठ र चुदारोको अभावका कारण यो परम्परा हराउँदै जाने चिन्ता बढ्दो छ ।
महालक्ष्मी –४ का वडाध्यक्ष शुक्रराज बूढाथोकीका अनुसार, गाउँमा बिजुली पुगे पनि ठेकी निर्माणमा पुरानै विधि अपनाइँदै आएको छ । पानी र चुदारोको प्रयोग गरेर ठेकी मात्र नभई कुटानी–पिसानीको मिलसमेत सञ्चालनमा रहेको उनले बताए ।
उनका अनुसार गाउँमा केही समयअघि विद्युत्बाट चल्ने ठेकी बनाउने मेसिन आएको भए पनि दीर्घकालीन सञ्चालन हुन सकेन । बूढाथोकीले पानी र चुदारोको प्रयोगबाट उत्पादन हुने सामग्री सस्तो पर्ने मात्र होइन, वातावरणमैत्री र दिगो पनि हुने बताए ।
यसले स्थानीय सीप, परम्परा र पहिचानलाई संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलेको छ । बूढाथोकीले परम्परागत सीपलाई आधुनिक प्रविधिसँग समन्वय गर्दै संरक्षण र प्रवर्द्धन गर्न नगरपालिकाले काम गरिरहेको जानकारी दिए । उनले भने“ यस्ता परम्परागत सीपले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै सांस्कृतिक सम्पदाको जगेर्ना गर्न अझ योगदान पुर्याएको । ”