काठमाडौँ । ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू सरकारसँग सहमति भएपछि आज आ–आफ्नो घर फर्किएका छन् ।
सरकार र ऋणीहरूका प्रतिनिधिबिच शनिबार भएको वार्तामा १४ बुँदे सहमति भएसँगै धर्ना कार्यक्रम स्थगित भएको हो । सहमति पश्चात् आज बिहान सरकारले साझा यातायातका बसहरूको व्यवस्था गरी उनीहरूलाई गन्तव्यतर्फ पठाएको छ ।
विभिन्न सरकारी निकायका अधिकारीहरुको उपस्थितिमा ३२३ जना ऋणीहरूलाई ८ वटा बसमार्फत बिदाइ गरिएको छ । झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासी लगायतका जिल्लाका ऋणीहरूलाई आ–आफ्नो क्षेत्रतर्फ पठाइएको छ।