काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पार्टीविपरीत गतिविधि गर्ने जनप्रतिनिधिमाथि कारबाही गर्नुपर्ने माग उठेको छ । बुधबारको बैठकमा केन्द्रीय सदस्य बलदेव तिमल्सिनाले पार्टीको वैधानिक महाधिवेशन, विधि र प्रक्रियामा सहभागी नभई पार्टी नीति तथा हितविपरीत गतिविधि गर्ने जनप्रतिनिधिमाथि अनुशासनको कारबाही गर्न माग गरेका हुन् ।
उनले पार्टीको टिकट, झण्डा र कार्यकर्ताको योगदानबाट निर्वाचित भएर पदमा पुगेपछि अनुशासन उल्लङ्घन गर्ने प्रवृत्तिको अन्त्य गर्न त्यस्ता जनप्रतिनिधिको तथ्यगत छानबिन गरी विधानबमोजिम तत्काल कारबाही गर्न तथा निर्वाचन आयोगमार्फत पदमुक्त गर्ने प्रक्रिया अघि बढाउनुपर्ने जोडदार माग गरेका छन् ।
तिमल्सिनाले पार्टीको आन्तरिक सुदृढीकरण, भ्रातृ संस्थाहरूको अधिवेशन, विपद् प्रभावितको पुनःस्थापना, सुकुम्बासी व्यवस्थापन र पार्टी अनुशासनका विषयमा केन्द्रीय कार्यसमिति बैठकमा विभिन्न प्रस्ताव राखेका छन् ।
तिमल्सिनाले १५औँ महाधिवेशनपछि पार्टीभित्रको आन्तरिक तिक्तता बिर्सेर तल्लो तहसम्म एकताको सन्देश फैलाउनुपर्ने बताएका छन् । उनले पार्टीको ‘हामी तयार छौँ अभियान’लाई परिणाममुखी बनाउन वडा तहसम्म स्पष्ट कार्ययोजना र कार्यविभाजनसहित संगठन परिचालन गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
उनले लामो समयदेखि तदर्थवादमा सञ्चालन भइरहेका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूलाई पूर्णता दिई तीनदेखि छ महिनाभित्र अनिवार्य अधिवेशन गर्ने कार्यतालिका बनाउनुपर्नेमा जोड दिएका छन् । नेविसंघ, तरुण दल, महिला संघ, किसान महासंघ, ट्रेड युनियन, दलित संघलगायतका संस्थालाई अभियान, प्रशिक्षण, सरकारी गतिविधिको प्रतिरोध र चुनावी परिचालनमा सक्रिय बनाउनुपर्ने उनको प्रस्ताव छ ।