२०८३, कार्तिक २७ गते

Switch TV Mode

बिहिवार, कार्तिक २७ गते २०८३

डीएनए परीक्षणले जोड्यो ४१ वर्षअघि टुटेको आमाछोराको सम्बन्ध

बिहिवार , कार्तिक २७, २०८३

चिली । चिलीमा अगस्टो पिनोचेको सैनिक शासनकालमा अस्पतालबाटै आमाबाट छुट्याइएका तीन दाजुभाइ ४१ वर्षपछि आफ्नी जैविक आमासँग पुनर्मिलन भएका छन् । दशकौँदेखि सन्तान गुमाएको पीडा बोकेर बाँचेकी ६६ वर्षीया टेरेसिटा डे जेसस पादिलाले अन्ततः आफ्ना छोराहरूलाई भेट्न पाएकी हुन् ।

अमेरिकामा हुर्किएका टिम रोलनिक (४१), ट्राभिस मर्डोक (३७) र उनका जुम्ल्याहा भाइ क्रिसलाई बाल्यकालमै आमाबाट अलग गरी अमेरिकी परिवारको जिम्मा लगाइएको थियो । उनीहरूलाई आफूहरू जैविक परिवारबाट अलग भएको जानकारी भए पनि त्यसको वास्तविक कारण थाहा थिएन ।

परिवारसँगको सम्बन्ध खोज्ने क्रममा सन् २०२० मा टिमले डीएनए परीक्षण गराए । परीक्षणबाट उनको जैविक परिवार चिलीमा रहेको खुलेपछि परिवार पुनर्मिलनमा सहयोग गर्ने संस्थाको सहायतामा उनले आफ्ना भाइहरूको समेत खोजी गरे । त्यसक्रममा आफ्ना भाइहरू पनि अमेरिकामै हुर्किरहेको पत्ता लाग्यो ।

तीनै दाजुभाइबीच सम्पर्क स्थापित भएपछि उनीहरू नजिकिए । त्यसको छ वर्षपछि टिम र ट्राभिस चिली पुगेर जन्म दिने आमासँग भेट्न सफल भए । सन् २०१३ मा सवारी दुर्घटनामा गम्भीर घाइते भएका क्रिस भने स्वास्थ्य अवस्थाका कारण आमालाई भेट्न चिली जान सकेनन् ।

यो पुनर्मिलन चिलीको सैनिक शासनकालमा बालबालिकालाई अवैध रूपमा परिवारबाट अलग गरिएको भयावह इतिहाससँग जोडिएको छ । न्यायिक प्रतिवेदनअनुसार अगस्टो पिनोचेको १७ वर्षे शासनकालमा करिब २० हजार बालबालिकालाई जबर्जस्ती वा आपराधिक प्रक्रियाबाट अन्य परिवारको जिम्मा लगाइएको थियो । नागरिक संस्था ‘नोस बुस्कामोस’ ले यसबाट प्रभावित परिवारको सङ्ख्या ५० हजारभन्दा बढी हुन सक्ने अनुमान गरेको छ ।

संस्थाकी निर्देशक कन्स्टान्जा डेल रियोका अनुसार गरिब तथा विपन्न महिलाहरू यस्तो अवैध गतिविधिको मुख्य निशानामा पर्ने गरेका थिए । यसमा सामाजिक कार्यकर्ता, चिकित्सक, न्यायाधीश र वकिलसमेत संलग्न रहेको उनको भनाइ छ ।

पादिलाले पनि गरिबीसँग सङ्घर्ष गर्दै सन्तान हुर्काउने सपना देखेकी थिइन् । गर्भवती भएपछि अस्पतालले आफ्ना बच्चाहरूको भविष्य राम्रो बनाउन सहयोग गर्ने विश्वास गरेकी उनी त्यहीँबाट सन्तान खोसिएपछि जीवनभर वियोगमा रहिन् । ‘धम्की र त्रास देखाएर मेरा सन्तान मबाट खोसिए । त्यसको पीडा मैले जीवनभर भोग्नुपर्यो,’ उनले आफ्नो विगत सम्झँदै भनिन् ।

पुनर्मिलनपछि उनले आफूले सधैँका लागि गुमाएको ठानेका छोराहरू फेरि पाएको बताइन् । यता ट्राभिसले पनि विगतको पीडामा मात्र अल्झिनुभन्दा परिवारसँग नयाँ सम्झना बनाउँदै भविष्यतर्फ अघि बढ्न चाहेको बताएका छन् ।

पिनोचेको सैनिक शासनकालमा बालबालिका परिवारबाट अलग पारिएको घटना त्यहाँको मानवअधिकार उल्लङ्घनको अर्को गम्भीर पाटोका रूपमा रहेको छ । उक्त शासनकालमा कम्तीमा तीन हजार ९५ जनाको हत्या वा जबर्जस्ती बेपत्ता पारिएको थियो भने दशौँ हजार मानिसले यातना र कारावास भोगेका थिए ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार