२०८३, कार्तिक २४ गते

Switch TV Mode

सोमवार, कार्तिक २४ गते २०८३

बालेनको फेसबुक पोष्टमा ‘लुसिफर’

सोमवार , कार्तिक २४, २०८३

काठमाडौँ । आलोचकहरूबाट ‘लुसिफर’ को आरोप खेप्दै आएका प्रधानमन्त्री बालेन साहले सोमबार भने यही शब्द लेख्दै सामाजिक संजालमा तस्बिर राखेका छन् । 

प्रधानमन्त्री साहले सोमबार दिउँसो फेसबुकमा आफ्नो तस्बिर सार्वजनिक गर्दै त्यससँगै ‘लुसिफर’ लेखेका छन् । उनले तस्बिरमा अमेरिकी र्‍यापर   जे–जी को नामसमेत उल्लेख गरेका छन् ।

कालो पहिरन, कालो चस्मा र लामो दाह्रीमा देखिएका बालेनको उक्त तस्बिर उनको नियमित सार्वजनिक छविभन्दा फरक छ । तस्बिरमा उनले एक हातले कपाल समातेका छन् ।

यसअघि ‘लुसिफर’ शब्द प्रधानमन्त्री साहको आलोचनाका क्रममा प्रयोग हुँदै आएको थियो । विशेषगरी भदौमा भएको जेनजी आन्दोलनका क्रममा युवाहरूलाई अगाडि सारेर आफू पर्दापछाडि बसेको र विध्वंसात्मक गतिविधिमा भूमिका खेलेको आरोप लगाउँदै उनका आलोचकहरूले उनलाई ‘लुसिफर’ भन्ने गरेका थिए ।

सामान्य अर्थमा ‘लुसिफर’ शब्द शैतान वा विद्रोही चरित्रसँग जोडिन्छ । आलोचकहरूले यही अर्थमा उक्त शब्द प्रयोग गर्दै आएका थिए । तर, यसअघि यस विषयमा मौन रहँदै आएका प्रधानमन्त्रीले अहिले आफैँले उक्त शब्द सार्वजनिक रूपमा प्रयोग गरेका छन् ।

अमेरिकी र्‍यापर जे–जीको ‘लुसिफर’  शीर्षकको गीतसमेत रहेकाले प्रधानमन्त्रीको पोस्टमा गरिएको उल्लेख त्यसैसँग सम्बन्धित हुन सक्ने देखिन्छ । यद्यपि, उनले ‘लुसिफर’ शब्द र जे–जीको नाम कुन सन्दर्भमा राखेका हुन् भन्नेबारे कुनै स्पष्टीकरण दिएका छैनन् ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार