गण्डकी । देशका प्रमुख पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर ‘सिल्भर ट्रयाङ्गल’ अवधारणामा पर्यटन प्रवर्द्धनको साझा पहल अघि बढाइएको छ ।
पर्यटन प्रवर्द्धन, विकास, असल अभ्यासको आदानप्रदान तथा आपसी सहकार्यका लागि पोखरा महानगरपालिका, भरतपुर महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच यसअघि भएको समझदारी कार्यान्वयन गर्न तीनवटै स्थानीय तहले अग्रसरता लिएका हुन् ।
यसैक्रममा भरतपुर महानगरपालिकाले सोमबार सरोकार भएका पक्षबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनका विषयमा अन्तरक्रिया गरी सुझाव सङ्कलन तथा आगामी कार्ययोजनाबारे छलफल गरेको छ । कार्यक्रममा तीनै स्थानीय तहका प्रमुखसहित जनप्रतिनिधि, प्रशासक, निजी क्षेत्रका अगुवा र पर्यटन व्यवसायीले तीनवटै गन्तव्यको पर्यटन प्रवर्द्धन तथा विकासका लागि साझा प्रतिबद्धता जनाए ।
कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले पोखरालाई साहसिक पर्यटन, भरतपुरलाई प्रकृति र लुम्बिनीलाई संस्कृतिसँग जोडेर पर्यटन प्रवर्द्धन गर्नुपर्ने बताए । पर्यटकीय पूर्वाधार निर्माणसँगै सरसफाइ र वातावरणीय स्वच्छतामा पनि ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पर्यटनका माध्यमबाट तीनवटै सहरको अर्थतन्त्र समृद्ध बनाउने उद्देश्यले ‘सिल्भर ट्रयाङ्गल’को अवधारणा अघि सारिएको बताए । गत जेठमा तीन स्थानीय तहबीच भएको समझदारीअनुसार महानगरको नीति, योजना तथा कार्यक्रममा उक्त कार्यक्रमलाई समेटिएको उनले जानकारी दिए ।
“अब व्यवसायदेखि व्यवसाय (बीटुबी) र सरकारदेखि सरकार (जीटुजी) सहकार्यलाई ठोस रूपमा अगाडि बढाउनुपर्छ”, प्रमुख आचार्यले भने, “नेपाल आउने पर्यटकले पोखरा, चितवन र लुम्बिनी एकैपटक घुम्ने गरी कनेक्टिभिटी तथा पर्यटकीय सेवासुविधा विस्तारमा जोड दिनुपर्छ ।”
लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनले पर्यटन विकासका लागि निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्नुपर्ने बताइन् । पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दिगो रूपमा सञ्चालन गर्न सबैले पहल गर्नुपर्ने उनको भनाइ थियो ।
पोखरा भ्रमण वर्ष २०२५–२०२६ का संयोजक गोपी भट्टराईले पर्यटन प्रवर्द्धनमा निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताए । पछिल्लो समय प्राकृतिक विपद्का कारण पर्यटन क्षेत्रमा असर परेको उल्लेख गर्दै उनले नेपाल खुला र सुरक्षित छ भन्ने सन्देश विश्वभर पुर्याउनुपर्ने बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पर्यटकको बसाइ लम्ब्याउने गरी योजना बनाउनुपर्नेमा जोड दिए । चितवन उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी सुवेदीले तीन स्थानीय तहबीच व्यावसायिक सञ्जाल विस्तार र प्रचारप्रसारलाई प्राथमिकता दिनुपर्ने बताए ।
नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पर्यटकीय गन्तव्यको डिजिटल माध्यमबाट प्रचारप्रसार गर्नुपर्ने बताए । भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले नेपालको पहिचानसँग जोडिएका तीनवटै गन्तव्यको प्रवर्द्धनका लागि सहकार्य र साझेदारी आवश्यक रहेको बताए । उनले छिट्टै ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन मेला (ट्राभल मार्ट) आयोजना गरिने जानकारी दिए ।
गत जेठ २६ गते तीन स्थानीय तहबीच भएको समझदारीपत्रमा प्रत्येक वर्ष पालैपालो ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन मेला आयोजना गर्ने, आवश्यकताअनुसार व्यवसायदेखि व्यवसाय (बीटुबी) तथा सरकारदेखि सरकार (जीटुजी) बैठक सञ्चालन गर्ने र संयुक्त रूपमा पर्यटन प्रवर्द्धन तथा बजार विस्तार अभियान चलाउने उल्लेख छ ।
समझदारीअनुसार पर्यटन प्रवर्द्धनका लागि संयुक्त ब्रोसर, भिडियो तथा डिजिटल सामग्री उत्पादन र वितरण गरिनेछ । डिजिटल सूचना बोर्ड स्थापना गर्ने योजना पनि समेटिएको छ । यसैक्रममा भरतपुर महानगरपालिकाले कार्यालय परिसरमा स्थापना गरेको डिजिटल सूचना बोर्डको सोमबार शुभारम्भ गरिएको थियो ।
समझदारीपत्रमा पर्यटन व्यवसायी, होटल, ट्राभल एजेन्सी तथा स्थानीय समुदायबीच सहकार्य र सञ्जाल विस्तार गर्ने, सांस्कृतिक, शैक्षिक तथा पर्यटन आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने र पर्यटन प्रवर्द्धनका लागि स्थानीय, प्रदेश तथा सङ्घीय सरकार, नेपाल पर्यटन बोर्ड तथा विकास साझेदार संस्थासँग समन्वय गर्ने विषय पनि समेटिएका छन् ।
तीनवटै गन्तव्यलाई समेटेर एकीकृत पर्यटक प्याकेज विकास गर्ने योजना रहेको जनाइएको छ ।