काठमाडौँ । रसुवामा आएको बाढीपछि सरकारले उद्धार तथा राहत कार्य तीव्र बनाएको छ। प्रधानमन्त्री बालेन साहले नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई उद्धार तथा राहतका लागि प्रभावित क्षेत्रमा परिचालन गरिएको बताएका छन्।
प्रधानमन्त्री साहका अनुसार अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी प्रभावित क्षेत्रमा पठाइएको छ। विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाउँदै मेडिकल टिम, नेपाल स्काउट, रेडक्रस लगायतका निकायसँग समन्वय गरी आवश्यक काम अघि बढाइएको छ।
प्रभावित क्षेत्रमा थप एम्बुलेन्स तथा स्वास्थ्यकर्मी पठाउने प्रक्रिया अघि बढाइएको प्रधानमन्त्री साहले जानकारी दिएका छन्।
बाढीको जोखिम रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ। स्थानीयवासीलाई एसएमएस तथा फोनमार्फत सूचना दिँदै सुरक्षित स्थानमा जान सचेत गराइएको छ।
सम्भावित उद्धार तथा राहतका लागि हेलिकप्टरहरू प्रभावित क्षेत्रतर्फ पठाइएको छ। निजी हेलिकप्टर कम्पनीहरूलाई समेत हेलिकप्टर तयारी अवस्थामा राख्न भनिएको प्रधानमन्त्री साहले बताएका छन्। केही निजी हेलिकप्टरसमेत प्रभावित क्षेत्रतर्फ परिचालन भइसकेका छन्।
बाढीपछिको अवस्थाबारे थप आवश्यक निर्णय लिन उच्चस्तरीय बैठक बोलाइएको प्रधानमन्त्री साहले बताएका छन्।
उनले सबैलाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसकेमा सम्बन्धित निकायबाट आउने उद्धारसम्बन्धी अपडेट पर्खन आग्रह गरेका छन्। थप जानकारी तथा राहतसम्बन्धी सूचनाका लागि १२३४, १०० र ११११ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।