काठमाडौँ । विश्वभर रहेका नेपाली समुदायलाई एउटै डिजिटल प्लेटफर्ममार्फत जोड्ने उद्देश्यले विकसित गरिएको नयाँ नेपाली सामाजिक सञ्जाल ‘थोप्ला’ सार्वजनिक गरिएको छ। थोप्ला टोलीले मंगलबार आयोजित कार्यक्रममा उक्त प्लेटफर्म औपचारिक रूपमा सार्वजनिक गर्दै यसलाई नेपाली समुदाय, संस्कृति, सिर्जना, मनोरञ्जन तथा आपसी सहकार्यलाई प्राथमिकतामा राखेर विकास गरिएको जनाएको छ।
थोप्लाले विश्वका जुनसुकै स्थानमा रहेका नेपालीहरूलाई सहज रूपमा जोड्ने, आफ्ना विचार तथा प्रतिभा प्रस्तुत गर्ने र समुदायसँग निरन्तर सम्पर्कमा रहने वातावरण निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ। प्लेटफर्ममा निःशुल्क अडियो तथा भिडियो कल, पोस्ट, भिडियो र रिल साझेदारी, आफ्नै ह्यासट्यागमार्फत प्रतियोगिता तथा टुर्नामेन्ट सञ्चालन, पारदर्शी मतदान प्रणाली, डिजिटल क्वाइन उपहार तथा वालेट प्रणालीजस्ता सुविधा उपलब्ध गराइएको छ।
त्यस्तै, प्राकृतिक विपद् वा अन्य आपत्कालीन अवस्थामा प्रयोगकर्ताले ‘म सुरक्षित छु’ सुविधा प्रयोग गरी आफ्ना आफन्त तथा समुदायलाई आफ्नो अवस्थाबारे तत्काल जानकारी गराउन सक्ने ‘नेपाली संकट प्रतिक्रिया प्रणाली’ समेत थोप्लामा समावेश गरिएको छ।
थोप्ला टोलीका अनुसार आगामी दिनमा व्यवसाय प्रवद्र्धन, स्थानीय कार्यक्रम प्रवद्र्धन, सामुदायिक सेवा, सिर्जनाकर्ता (क्रिएटर) समर्थन तथा अन्य नवीन डिजिटल सेवाहरू समेत थप गर्दै यसलाई विश्वभरका नेपालीहरूको साझा डिजिटल समुदायका रूपमा विकास गर्ने योजना रहेको छ। टोलीले विश्वभर रहेका नेपालीहरूलाई थोप्लामा आबद्ध भई आफ्ना अनुभव, संस्कृति, सिर्जना तथा प्रतिभा आदानप्रदान गर्दै समुदायलाई अझ सशक्त बनाउन आग्रह गरेको छ।
थोप्ला विश्वभर फैलिएका नेपाली समुदायलाई एकै डिजिटल प्लेटफर्ममा जोड्ने उद्देश्यका साथ विकसित गरिएको सामाजिक सञ्जाल हो। सञ्चार, मनोरञ्जन, समुदाय निर्माण, सिर्जनात्मक अभिव्यक्ति तथा डिजिटल सहकार्यलाई एउटै प्लेटफर्ममा उपलब्ध गराउने लक्ष्यका साथ यसको विकास गरिएको जनाइएको छ ।