नयाँ जनादेशमा जाने निर्णय अग्रगामी र प्रगतिशील : मन्त्री रायमाझी

ऊर्जामन्त्री टोपबहादुर रायमाझीले प्रणाली बचाउन संसद् विघटन गर्नुपरेको बताएका छन्। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको कास्की जिल्लास्तरीय कार्यकर्ता भेलालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले सिस्टम बचाउनका लागि संसद् भंग गरेको जिकिर गरेका हुन्।

नेकपाका स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री रायमाझीले दाहाल–नेपाल समूहले बहुमतको दम्भमा प्रधानमन्त्रीलाई हटाएर सिस्टममाथि नै प्रहार गर्न लागेकाले प्रधानमन्त्रीले बाध्य भएर संसद् विघटन गरेको बताए।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओलीपक्षीय नेता रायमाझीले ओलीलाई प्रधानमन्त्री, पार्टी अध्यक्ष, पार्टी सचिवालय, स्थायी कमिटी र सांसद पदबाटसमेत हटाउने षडयन्त्र भएको थाहा पाएपछि बाध्य भएर संसद् विघटन गरिएको उनले बताए।

‘पार्टीको म्याण्डेटविपरीत प्रधानमन्त्रीलाई हटाउन खोजेपछि नयाँ जनादेशमा जाने निर्णय भएको हो,’ उनले भने। अबको चुनावमा जितिन्न कि के हो भन्ने लाग्यो कि लोभले काम गर्‍यो कुन्नी, एउटालाई अध्यक्ष पद चाहियो, अर्कोलाई प्रधानमन्त्री पद चाहियो, त्यो पनि अहिल्यै।’

प्रतिक्रिया

TOP