प्रदेशसभा समिति सभापतिको गाडी जलाइयो

जाजरकोट : अज्ञात समूहले बिहीबार राति कर्णाली प्रदेशसभाका अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंहको गाडी जलाइदिएका छन् ।

समितिका सभापति तथा कर्णाली प्रदेश सभाका सदस्य सिंह चढ्ने कर्णाली प्रदेश ००१ झ ००४० नम्बरको सरकारी गाडी भेरी नगरपालिका–७, पुन्मामा जलाइएको हो ।

सडक छेउमा पार्किङ गरी राखिएको उक्त गाडी राति १० बजेतिर अपरिचित समूहले जलाएको डीएसपी किशोर श्रेष्ठले बताए । गाडीमा एक्कासि आगो लागेको देखेपछि सभापति सिंह र सुरक्षा टोलीलाई स्थानीयले जानकारी गराएका थिए ।

आगलागीबाट गाडी पूर्ण रुपमा क्षति भएको डीएसपी श्रेष्ठले बताए । गाडीमा आगो लगाउनेको खोजी भइरहेको उनले बताए ।

पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपाका नेतासमेत रहेका सभापति सिंहलगायत नेता कार्यकर्ताले भेरी नगरपालिका ७, स्याउलीमा शुक्रबार हुने पार्टी कार्यक्रममा जान उक्त गाडी प्रयोग गरेका थिए ।

पार्टीको आमसभा, संगठनलगायत कार्यक्रममा सभापति सिंहले सरकारी गाडी प्रयोग गरेको झोकमा आगलागी गरिएको आशंका गरीएको छ । यसअघि सभापति सिंहको उक्त गाडी सुर्खेतमा घाँस बोक्न प्रयोग भएको भनेर आलोचना भएको थियो ।

अहिलेसम्म कसैले आगलागीको जिम्मेवारी लिएका छैनन् ।

प्रतिक्रिया

TOP