विद्यालयलाई १० रोपनी जग्गा दान

म्याग्दी : पहिरोले क्षतिग्रस्त भएपछि चौरमा विद्यार्थी पढाइरहेको धौलागिरि गाउँपालिका–७ धारापानीको किसानी माविले भवनसहित खेल मैदान पनि बनाउन जग्गा पाएको छ ।

धारापानी पुर्ख्यौली घर भई अन्यत्र पुगेको एक परिवारले ६ र अन्य गाउँलेले ४ रोपनी जग्गा दान गरेपछि विद्यालयले भवन बनाउने ठाउँ टुंगो भएको हो । हाल रूपन्देहीको मायादेवी–६ बस्दै आएका चक्रबहादुर थापा, पूर्णबहादुर र बहिनीहरू सुवा र मना खत्रीले आमाबाबु कुन्ता र चन्द्रबहादुरको सम्झनामा ४० लाख मूल्य बराबरको जग्गा दान गरेका हुन् ।

यस्तै गाउँलेहरू चन्द्रप्रकाश थापा, लालबहादुर थापा र तुलबहादुर थापाले २ रोपनी दिएका छन् । सडकदेखि विद्यालयसम्म पुग्न स्थानीय वेदप्रसाद, सूर्य, केशर, खिमदल, मनबहादुर, चन्दु, महादेव थापा र तेजप्रकाश पुर्जाले २ रोपनी जग्गा दिएका छन् ।

गत असार २६ को भीषण बाढीपहिरोले विद्यालय भवन भत्किएको थियो । पुनर्निर्माण गर्ने भनिए पनि जग्गा अभावले काम अघि बढ्न पाएको थिएन । दानमा पाएको जग्गा विद्यालयको नाममा ल्याउन कागजी प्रक्रिया थालिएको किसानी मावि व्यवस्थापन समितिका अध्यक्ष किरण थापाले बताए ।

‘केही सँधियारले विद्यालयलाई जग्गा दिनुभएको छ,’ उनले भने, ‘अब भवनलगायत पूर्वाधार निर्माण गर्न स्रोत खोज्न सजिलो भएको छ ।’

चौरमा विद्यार्थी राखेर पढाइरहेको विद्यालयका लागि अब भवन बनाउन बजेट माग्न पनि सजिलो भएको प्रधानाध्यापक ध्रुवबहादुर भण्डारीले बताए ।

तत्काल खेलमैदानमा जस्तापाताको छाप्रो बनाई पढाउने र दुई वर्षभित्र नयाँ भवन निर्माण गर्ने लक्ष्य राखेको उनले सुनाए । १० कक्षासम्म पढाइ हुने विद्यालयमा २ सय ८० विद्यार्थी छन् ।

प्रतिक्रिया

TOP