Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • नवराज सिलवालप्रति एमालेमा चरम असन्तुष्टि, धमाधम पार्टी छोड्दै कार्यकर्ता

    नवराज सिलवालप्रति एमालेमा चरम असन्तुष्टि, धमाधम पार्टी छोड्दै कार्यकर्ता

    नेपालमञ्च संवाददाता
    कार्तिक ३० २०७९, बुधबार
    9.2K
    SHARES

    ललितपुर : ललितपुर १ का प्रतिनिधिसभा उम्मेदवार नवराज सिलवालप्रति नेकपा एमालेभित्र चरम असन्तुष्टि देखिएको छ । मंसिर ४ गतेको निर्वाचन मिति नजिकिदै जाँदा उम्मेदवार सिलवालसँग एमाले कार्यकर्ता रुष्ट बन्दै गएका छन् ।

    सिलवालप्रति रुष्ट एमालेका पुराना नेता कार्यकर्ताहरु धमाधम लोकतान्त्रिक बामगठबन्धनका पक्षमा खुल्न थालेका छन् । तिमध्ये अधिकांश एमाले नेता कार्यकर्ताहरु नेपाली कांग्रेस प्रवेश गरिरहेका छन् ।

    चुनावी अभियान सुरु भएसँगै ललितपुर १ मा एमाले कार्यकर्ताहरु धमाधम कांग्रेस प्रवेश गर्न लागेका हुन् । सिलवालले पाँच वर्षअघि चुनाव जितेपछि पार्टी र ललितपुर १ को पक्षमा कुनै पनि काम नगरेको एमालेकै नेता कार्यकर्ताको गुनासो छ ।

    सिलवालबाट ललितपुर १ को विकास सम्भव नभएको भन्दै मंगलबार मात्रै एमालेका एक दर्जन बढि युवाहरु कांग्रेस प्रवेश गरेका छन् । एमालेको भ्रातृ संस्था युवा संघ नेपाल, गोदावरी नगरपालिका वडा नं १३ का अध्यक्ष पारस केसीसहित समीर खड्का र रञ्जन विष्ट नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

    उनीहरुसँग ठूलो संख्यामा युवाहरु कांग्रेस प्रवेश गरेका थिए । उनीहरुलाई कांग्रेस केन्द्रीय सदस्य एवं ललितपुर १ का प्रतिनिधिसभा उम्मेदवार उदय शम्शेर राणाले पार्टी प्रवेश गराए ।

    त्यस्तै आइतबार सिलवालकै वडामा ६५ भन्दा बढि युवाहरुले एमाले परित्याग गरेका थिए। उनीहरुले सिलवाल काम गर्नेभन्दा कुरा मात्रै गर्ने नेता भएको भन्दै एमाले परित्याग गरेका थिए । गोदावरी नगरपालिका वडा नं ३ का ६५ जना युवा कार्यकर्ताहरुलाई लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्ने घोषणा गरेका थिए । उनीहरुले लोकतान्त्रिक बामगठबन्धनको विकल्प नरहेको भन्दै एमाले पार्टी विकासविरोधी भएको दावी समेत गरे ।

    गोदवारी नगरपालिका वडा नम्बर ३ कै एमालेका नेता बालमुकुन्द घिमिरे पनि कांग्रेस प्रवेश गरे । वडा नम्बर ३ मा प्रभाव राख्ने नेता घिमिरे नै कांग्रेसमा प्रवेश गरेपछि सिलवाललाई ठूलो धक्का पुगेको छ । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा गोदवारी नगरपालिका वडा नम्बर ३ मा एमालेबाट वडाध्यक्ष निर्वाचित थिए ।

    उनले एमालेले पूर्व पञ्चहरुको पार्टी बनेको र सिलवाल पनि प्रतिगमनको मतियार भएको दावी गरेका थिए ।

    ‘नेपाली कांग्रेसले प्रगतिशील र परिवर्तनकारी शक्ति वाम गठबन्धनले गर्दा यो देश, संविधानको रक्षा र जनताकै परिवर्तनका साथै विकास पनि हुन्छ भन्ने कुराले आकर्षित भएर नेपाली कांग्रेस प्रवेश गरेको हुँ । आजैदेखि गठबन्धनलाई जिताउन लागि सके,’ उनले भने ।

    एमालेबाट कोञ्जोस्योम गाउँपालिका उपाध्यक्ष उम्मेदवार सुस्मिता दुलाल पनि पार्टी कार्यकर्तासहित कांग्रेस प्रवेश गरेकी थिइन् । गोदावरी नगरपालिका ७ देवीचौरमा आयोजित लोकतान्त्रिक बामगठबन्धनको घरदैलो कार्यक्रममा ठूलो संख्यामा युवाहरु एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए ।

    एमाले उम्मेदवार सिलवाल लहड र प्रतिशोध साँध्न मात्रै राजनीतिमा आएको तर उनीसँग ललितपुर १ को विकासका लागि कुनै योजना नभएको स्थानीयको आरोप छ । पछिल्लो १५ दिनमा मात्रै संयौंको संख्यामा एमाले कार्यकर्ताहरुले पार्टी परित्याग गरेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend