तनहुँमा ओली र दाहाल-नेपाल गुटमा कुन बलियो ?

दमौली : साविक देखि नै प्रधानमन्त्री केपी शर्मा ओलीको पकड देखिदै आएको तनहुँमा पार्टीको विभाजन घोषणा हुन मात्र बाँकी रहँदा कुन गुट बलियो भन्ने प्रतिष्पर्धा देखिएको छ ।

मंगलबार दाहाल पक्षले देशैभर आयोजना गरेको विरोध सभाका क्रममा तनहुँमा दाहाल( नेपाल पक्षले आफूलाई सक्दो बलियो देखाउने भरमग्दुर प्रयास गर्यो।

जिल्लाका विभिन्न भागबाट बाक्लै संख्यामा मोटरसाईकल र्याली उतारेर नेतृत्वले आफ्ना पक्षमा कार्यकर्ता संख्या बलियो रहेको सन्देश दिने प्रयास गर्यो ।

कालो व्यानरमा ओली नेतृत्वको विरोधमा प्रदर्शनमा उत्रिएका नेताहरुले दमौली खुला पार्कमा सभा गरेका थिए ।जिल्ला सेक्रेटरी राजेन्द्र केशरी न्यौपानेको अध्यक्षतामा भएको सभामा गण्डकी अञ्चल सचिवालय सदस्य हेमराज लामिछाने र रेखा थापा बस्याल, अञ्चल कमिटी सदस्य शंकरनारायण श्रेष्ठ, मदन आले, विष्णुभक्त सिग्देल, विघटित प्रतिनिधि सभा सदस्य कलिला खान, व्यास नगर कमिटी अध्यक्ष श्रीराम कार्कीलगायतले सम्बोधन गरेका थिए ।

झण्डैएक घण्टा लामो सम्बोधन गरेका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले विजयी सांसदहरूले कार्यकर्ताको अपमान गरेर प्रतिगमनका लागि सघाएको आरोप लगाए । उनले तनहुँमा पार्टी एक भएकाले मात्र छ वटा सिट जितेको दावी गरे ।

कार्यक्रममा दाहाल नेपाल खेमामा रहेका भ्रातृ संगठन युवा संघका अध्यक्ष ईश्वर बस्याल, अनेरास्ववियुका डम्बर विक,मुक्ति समाजका रनसिंह नेपालीले पनि बोलेका थिए । कार्यक्रममा आफ्नो गुटमा रहेका प्रदेश तथा जिल्लास्तरीय नेताको बाक्लो उपस्थिति देखाउने प्रयत्न नेतृत्वले गरेको थियो ।

केन्द्रीय लेखा आयोग सदस्य विद्या ढकाल, प्रदेश सदस्य ओमकुमारी पौडेल, अतिन्द्रकेशरी न्यौपाने लगायत पनि कार्यक्रममा उपस्थित थिए ।

प्रतिक्रिया

TOP