Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • सत्तामा जान मात्र कांग्रेसले गठबन्धन गरेको होइनः राठौर (अन्तर्वार्ता)

    सत्तामा जान मात्र कांग्रेसले गठबन्धन गरेको होइनः राठौर (अन्तर्वार्ता)

    नेपालमञ्च संवाददाता
    कार्तिक २५ २०७९, शुक्रबार
    432
    SHARES

    नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर बाँके ३ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन् । नेविसंघको नेतृत्वपछि बाँके बर्दियामा पार्टी राजनीतिमा लामो समयदेखि क्रियाशील नेता राठौर सुशील कोइरालापछि बाँकेको प्रतिनिधित्व गर्ने कांग्रेस केन्द्रीय नेता हुन् । चुनावी सन्दर्भलाई लिएर उनीसँग गरिएको कुराकानीः

    बाँके ३ नै किन रोज्नुभयो ?

    म सल्यानमा जन्मेको, काठमाडौंमा स्कुल र कलेज पढेको । काठमाडौंमै विद्यार्थी राजनीति गरेको । नेपाल विद्यार्थी संघको नेतृत्वमा पुगेको व्यक्ति । मैले सुखको राजनीति गर्न चाहेको भए काठमाडौंमै पनि गर्न सक्दथेँ । तर पनि बाँके–वर्दियालाई मैले आफ्नो राजनीतिक क्षेत्र बनाएको छु । पार्टीको संगठन सुदृढ गर्न र विकासमा अघि बढाउन मैले २० वर्षदेखि बाँके–वर्दियामा राजनीति गरिरहेको छु ।

    सुशील दाई र मेरो निर्वाचन क्षेत्र एउटै पर्ने भएकाले वर्दियाको सबैभन्दा पछि परेको राजापुर क्षेत्र रोजेको हुँ । हिजो सदरमुकामसँग, मुलुकसंग नजोडिएको राजापुर क्षेत्रमा अहिले देशको सबैभन्दा लामो पूल बनेको छ । त्यहाँ जति पनि विकास बनेको छ त्यो मेरो नेतृत्वमा, मेरो पहलमा भएको हो ।

    तर गठवन्धनका कारण त्यो क्षेत्र छाड्नु परेकाले नेपालगञ्जको काखमा रहेको ३ नम्बर क्षेत्र विकासमा निकै पछि परेको क्षेत्र रोजेको हुँ । विमानस्थल सारिएपछि यो क्षेत्रले कान्ति गुमाएको छ । कृषिको सम्भाव्य क्षेत्र भए पनि गति पाउन सकेको छैन । भौतिक विकास समस्याग्रस्त छ । त्यसैले यो क्षेत्रको विकास मेरो प्राथमिकता हो ।

    चुनावी मुद्दा, योजनाहरू के के छन् ? 

    हिजो मैले बर्दियाको राजापुर क्षेत्रमा राजनीति शुरु गर्दा त्यस क्षेत्रका जनतालाई टिकापुरमा, गुलरियामा, नेपालगञ्जमा घर बनाउन नपर्ने अवस्थाको सिर्जना गर्छ भनेको थिए । आज त्यो पूरा भएको छ । बाँकेको क्षेत्र नम्बर ३ मापहाडबाट झरेका गरिबहरू, दलितहरू बस्दछन् । त्यसैगरी, आदिवासी थारुहरू, मधेशी, मुस्लिम त्यसमा पछि पछि परेको समुदायको यस क्षेत्रमा बसोबास छ । यहाँका स्थानीयलाई नेपालगञ्जमा र कोहलपुरमा घर बनाउन पर्ने अवस्थाको अन्त्य गर्छु ।

    १० वर्षदेखि एमालेले जितेको यो क्षेत्रमा विकासको काम शून्यप्राय छ । यहाँ कृषि, शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रमा विभिन्न आवश्यकता देखिएको छ । यहाँ अधिकांश किसानहरूको बसोबास भएकाले निर्वाहमुखी खेतीलाई व्यवसायिकतासंग जोड्नु आवश्यक छ । यहाँ सिक्टा र बबईको पानील्याएर सिंचाई प्रवन्ध गर्ने आवश्यकता छ । मानखोलामा तटवन्धनको आवश्यकता छ । त्यसको व्यवस्थापनका लागि पहल गर्छु ।

    नेपालगञ्जको धम्बोझीदेखि गुलरियासम्म ४ लेनको सडक बनाउन मेरै पहलमा प्रक्रिया अघि बढेको छ । त्यसलाई २ वर्षभित्र सम्पन्न गर्ने, परसपुरदेखि गौघाटसम्मको सडक निर्माणको प्रक्रिया एक वर्षभित्र सम्पन्न गर्ने बैजनाथको सम्झनाचोकदेखि खजुरा आउने बाटो सम्पन्न गर्ने मेरो प्रतिवद्धता छ । खजुराको ३ र ४ नम्बर जोड्ने पेडारी नालाको पुल लगायत विभिन्न पुल पुलेसा निर्माण गर्ने लगायतका अन्य विभिन्न प्राथमिकता मैले तय गरेको छु ।

    अहिले यहाँहरू गठवन्धन गरेर निर्वाचनमा होमिनु भएको छ । बहुमत नपुग्दा सरकार बनाउन गठवन्धन त ठिकै होला तर निर्वाचनमै गठवन्धन के का लागि ?

    कतिपय बुद्धिजीवीले काँग्रेसले सत्तामा जानका लागि माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टीसँग गठबन्धन गरेको हो भनिरहेका छन् । त्यसरी भन्नेमा विपक्षी निकट बुद्धिजीविको संख्या बढी छ । एक अर्थमा उनीहरूले भनेको कुरा पनि गलत छैन किनभने सत्तामा नगई आफ्नो घोषणापत्र, योजना कार्यान्वयन गर्न सकिँदैन । नीति तथा कार्यक्रम बनाएर देशलाई विकास एवं सुशासनको बाटोमा हिँडाउन सत्तामा जानै पर्छ । संघ र प्रदेशबाट सम्वन्धित क्षेत्रमा बजेट हाल्न सकिंदैन ।

    तर सत्तामा जान मात्र गठबन्धन गरिएको होइन । बीपी कोइरालाले २००७ सालको क्रान्तिपछि संविधानसभाबाट संविधान बन्नुपर्छ भन्नु भएको थियो । तर संविधानसभाबाट संविधान बन्न झन्डै सात दशक कुर्नुप¥यो । नेताले कुनै कुरा बोल्दैमा तत्काल पूरा हुन सक्दैन । त्यसका लागि परिवेश तयार हुनुपर्छ । जनताको चेतना विकास हुनुपर्छ । ७० वर्ष लगाएर संघर्ष गरेर, करोडौं खर्च गरेर २–२ पटक संविधानसभाको चुनाव गराएर ल्याइएको संविधान धरापमा पार्न केपी ओलीले जसरी २–२ पटक असंवैधानिक रूपमा संसद विघटन गर्नुभयो । मुलुकलाई नै गम्भीर अनिश्चयको बाटोमा लैजाने प्रयत्न गर्नु भयो ।

    सात दशकको संघर्षपछि हामीले समावेशी संविधान बनाएका हौं । मधेसी, मुस्लिम, जनजाति, थारु, अल्पसंख्यक सबैको हकहित र निश्चित प्रतिनिधित्व सुनिश्चित भएको संविधान मासिन्थ्यो । सबै समुदाय फेरि अधिकारविहीन बनाइन्थे । अर्को अराजकताको अभ्यास हुन्थ्यो । काम गरेर वातावरण हँुदैनथ्यो । सशस्त्र द्धन्द्धले हामीलाई कति पछाडि पारेको छ । तत्काल नेपाली कांग्रेसको नेतृत्वमा केपी ओलीको असंवैधानिक कदमको विरोधमा दलहरू एकजुट नभएको भए आज मुलुक कुन अवस्थामा पुग्थ्यो कल्पना गर्नुस् त । त्यसबाट मुलुकलाई जोगाएर समृद्ध र समुन्नत नेपाल बनाउने अभियानमा भएका दलहरूले अहिले गठवन्धन गरेका हौं । निर्वाचनपछि हाम्रो गठवन्धनले सरकार बनाउँछ र संविधानको जगेर्ना र कार्यान्वयनमार्फत् सुशासन र समृद्धिसहितका आवश्यकता पूरा गर्छ ।

    एमालेले अहिले कांग्रेसले आफूविरुद्ध घेरावन्दी गरेको आरोप लगाएको छ नि ?

    कांग्रेस कसैको विरुद्ध छैन । नेपालमा प्रजातन्त्र र बहुदलीय व्यवस्था स्थापना कांग्रेसकै नेतृत्वमा भएको हो । विभिन्न दलहरूले जनतासामु विभिन्न एजेण्डा लिएर जाउन र जसले बहुमत ल्याउँछ उसैले सरकार चलाओस् र दोश्रो शक्ति प्रतिपक्षमा रहोस् भन्ने काँग्रेसको मूल मान्यता हो । जनताको, लोकतन्त्रको, संविधानको, मानवअधिकारको विरुद्ध लाग्नेको पक्षमा काँग्रेस कहिल्यै पनि हुँदैन ।

    २०६४ सालको संविधानसभामा माओवादीसहित कम्युनिस्टसँंग अत्यधिक बहुमत थियो । त्यतिबेला संविधान बन्न सकेन । मुलुक एकखाले अनिश्चिततामा जाने अवस्था बन्यो । प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाएर दोश्रो संविधानसभा निर्वाचन गरियो । निर्वाचनपछि हाम्रो आदरणीय नेता सुशील कोइरालाको नेतृत्वदायी पहलमा संविधान जारी भयो । वर्तमान संविधानले सबै नेपालीलाई अधिकार सम्पन्न बनाएको छ । मुलुकलाई नयाँ गति दिने मार्गरेखा कोरेको छ ।

    यद्यपि, यो संविधान पूर्ण छ भन्ने हाम्रो पनि ठम्याई होइन । मधेशीका, थारुका, मुस्लिम, दलित, महिला आदिवासी, पछि पारिएका समुदाय, विभिन्न क्षेत्र पक्षका कतिपय विषय नपुगेका होलान । संविधान अपरिवर्तनीय दस्तावेज होइन ।समय र आवश्यकताका आधारमा परिवर्तन गर्दै लैजाने विषय हो । अहिलेसम्मका परिवर्तनलाई जोगाउँदै भएका कमी कमजोरी हटाउँदै अघि बढ्ने हो ।

    केपी ओलीले संविधान नै ध्वस्त गर्ने, प्रणाली नै सखाप पार्ने खालका क्रियाकलाप गरेर सुधारको बाटो बन्द गर्नेमात्र होइन, प्राप्त उपलब्धि नै सखाप पार्ने प्रयास गर्नुभयो । त्यो अवस्थामा उहाँकै पार्टीका ठूलो संख्याका सांसदसहित कांग्रेस र अरु पार्टी मिलेर ओलीको त्यो अनधिकृत प्रयासमा रोक लगाएको हो । त्यसैले हामी कसैका विरुद्ध छैनौं । प्राप्त उपलब्धि संस्थागत गर्दै सुशासनसहित समुन्नति र विकासमा अघि बढ्नेहरूका साथमा छौं ।

    अपेक्षित विकास हुन नसक्नुमा कांग्रेस पनि दोषी छ भन्ने आवाज सुनिन्छ ?

    कांग्रेस सच्चिनु त जरुरी छ । बीपी कोइरालाले जीवन भनेको पाठशाला हो भन्नुभएको छ । उहाँले मर्ने कुराको मलाई अनुभूति भयो पनि भन्नुभएको छ । उहाँले बनाएको पार्टी हो यो । अर्का नेता सुवर्णशमशेरले आफ्नो १६ हजार विघा जमिन राष्ट्रियकरण गरेर भूमिसुधार लागू गरेर अघि बढाएको पार्टी हो नेपाली काँग्रेस ।

    वीपी कोइराला, सुवर्णशम्सेर, गणेशमानजी, किसुनजी जति पनि हाम्रा नेताहरू हुनुहुन्थ्यो ।उहाँहरू खान पुग्ने परिवारकै सदस्य हुनुहुन्थ्यो । कठोर राणा शासनमा जीवन नै जोखिममा राखेर किन उहाँहरूले २४/२५ वर्षकै उमेरमा नेपाली कांग्रेस पार्टी खोल्नुभयो । माननीय हुनलाई, मन्त्री प्रधानमन्त्री हुनलाई उहाँहरूले पार्टी खोल्नुभएको होइन । जनतालाई अधिकार सम्पन्न बनाउनका लागि, गरिब दुःखीहरूको हितका लागि हो ।

    वीपी कोइरालालाई राजाले पञ्चायतकालमा पनि प्रधानमन्त्रीको अफर गरेकै हो । प्रजातन्त्र मास्ने राजाको अफर वीपी कोइरालाले अस्वीकार गर्नुभयो । २०४६ सालको आन्दोलन सफल भएपछि प्रधानमन्त्री बन्न राजाले  आग्रह गर्दा गणेशमान सिंहले आफूले छोडेर कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउनु भएको हो ।

    यत्रो संघर्ष गरेर आएको । हिजो राणा फालेको, पञ्चायत फालेको, राजा फालेको पार्टी काँग्रेस । त्योसंगै सहकार्य गरेका अन्य पार्टीहरू जनताको मनमा बस्नु पर्ने हो । तर किन बस्नसकेका छैनन्,अलोकप्रिय भैरहेका छन् ? यो सोचनीय प्रश्न हो । नेताले झूठ बोलेका कारण, ढाँटेका कारण दलहरू, नेताहरू अनपपूलर भैरहेको परिस्थिति छ ।

    गर्न नसक्ने काम गर्छु भनेर नेताहरू जनतालाई झुठ बोलेका कारण आज त्यत्रो संघर्ष गरेर आएका पार्टीहरू, नेताहरू भरोसायोग्य कम भएको तपाई हामी सबैले सुनिरहेका छौं, देखिरहेका छौं । नेताले गर्न सक्ने काम गर्छौं भन्ने । नसक्ने काम यति समयमा सक्छौं वा यो काम सकिँदैन भनेर जनतालाई स्पष्ट भन्ने हो भने जनतामा भ्रम हुँदैन ।

    तपाईले काँग्रेसमा सुधारको प्रश्न गर्नुभयो । काँग्रेसले गरेका कामलाई, विकासका आधारलाई एउटा निष्कर्षमा पु¥याउनु छ । हामी कानूनी राज्यका लागि, सुशासनका लागि लडेका हौं । जनताले खोजेकोजस्तो सुशासन, कानूनी राज्यको निर्माणमा कहिँ न कहिँ समस्या छ भन्ने हाम्रो बुझाई छ । त्यो पूरा गर्नुपर्छ । आफ्नो ठाउँबाट यसका लागि म प्रतिवद्ध छु ।

     


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend