ऋचाले घोषणा गरिन् चौथो फिल्म ‘कौसीद’

काठमाडौं–नायिका ऋचा शर्माले चौंथो फिल्म घोषणा गरेकी छन्। यसअघि आधा लभ, भिसा गर्ल र सुनकेशरी फिल्मको निर्माता बनिसकेकी उनी अहिले ‘कौसीद’ नामको फिल्म बनाउन कस्सिएकी हुन्।

अन्य कलाकार कोभिड–१९ का कारण अलमलमा परे पनि उनी भने कला क्षेत्रमै चलायमान देखिएकी छन्। केही समयअघि ‘डिजिटल सिनेमा घर’ एपको घोषणा गरेकी उनी अहिले भने नयाँ फिचर फिल्मका साथ देखापरेकी छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले कौसीदको घोषणा गरेकी हुन्। कौसीद फिल्म बैंकको ऋणमा फसेका मान्छेको कथा भन्नेछ।

भोलाराज सापकोटा र ऋचा शर्माको मुख्य भूमिका रहने फिल्मलाई कुमार भाष्करले निर्देशन गर्नेछन्। छायाँकनको मिति नतोकिएको फिल्मलाई नवविनय श्रेष्ठ र धिरजन थपलियाले लेखेका हुन्।

फिल्मका निर्मातामा केदार भुषाल छन् भने कार्यकारी निर्माताका रुपमा डिमेश श्रेष्ठ छन्। लक्ष्मण बानियाँ सह–निर्माताका रुपमा फिल्ममा अटाएका छन्।

प्रतिक्रिया

TOP