Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • बाबुरामजीसँग मिलेर देशलाई समाजवादको नयाँ मोडेल दिनुछ : प्रचण्ड

    बाबुरामजीसँग मिलेर देशलाई समाजवादको नयाँ मोडेल दिनुछ : प्रचण्ड

    नेपालमञ्च संवाददाता
    असोज ८ २०७९, शनिबार
    513
    SHARES

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र आफू एकअर्काको पूरक भएको बताएका छन् ।

    उनले लामो समयपछि भट्टराईसँगको सहकार्य चुनावका लागि मात्रै नभएको पनि प्रष्ट पारे । तीन दशक एउटै पार्टीमा सहकार्य गरेका प्रचण्ड–बाबुराम दोस्रो संविधानसभाबाट संविधान जारी भएपछि अलग भएका थिए ।

    शनिबार समाजवादी पार्टीले आयोजना गरेको कार्यक्रममा प्रचण्डले भने, ‘जनयुद्ध गर्ने, नयाँ संविधान बनाउने र मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नेतृत्वको टिम हुनुको नाताले पनि भट्टराईसँगको सहकार्य धेरै लामो हुन्छ ।’

    उनले बाबुरामसँगको सहकार्यबाट देशलाई समाजवादको नयाँ मोडल तयार दिने दावी गरे । ‘तपाइँहरूलाई के नलागोस् भने दुई जना बसेर चुनावका लागि मात्रै सहकार्य गरे । तर, यसको लागि मात्रै गरिएको छैन । यो त्योभन्दा धेरै माथि उठ्न बल गरिएको छ । र, यो देशलाई फेरि एकचोटी समृद्धिको, विकासको, समाजवादको एउटा नयाँ मोडल हामीले नै दिनुपर्ने हुन्छ, हामीले नै दिन्छौं,’ उनले भने, ‘हामी हिजो पनि एकअर्काको पूरक भएर आन्दोलनलाई यहाँसम्म ल्याएको हो । बानी, बेहोरा र स्वभावको हिसावले बाबुरामजीको र मेरो धेरै मिल्दैन । तर फेरि हामी दुइटा एक ठाउँमा हुँदा एकको अभाव अर्कोले पुर्ति गरिदिने, अर्कोको अभाव अर्कोले पूर्ति गरिदिने एउटा ठूलो शक्ति र तागत भएको थियो ।’

    प्रचण्डले पछिल्लो एक दशक छुट्टिदा दुबैका लागि परिणाम राम्रो नभएको स्वीकार गर्दै बाँकी एक दशक देशमा समाजवादको नयाँ मोडल ल्याउन खर्चिने बताए ।

    ‘हाम्रो प्रत्येक काम एक दशकमा एउटा गरेको देखिन्छ । हामीले एक दशक लगाएर जनयुद्धको तयारी गर्‍यौं । एक दशक जनयुद्ध गर्‍यौं । एक दशक संविधान बनाउनेमा बितायौं । अब एक दशक नयाँ प्रयोग गर्ने भनेर हामी आ–आफ्नो ढंगले गयौं । परिणाम त्यति राम्रो देखिएन । अबको दशक फेरि एकठाउँ केन्द्रित भएर समाजवादको नयाँ मोडेल दिनुछ यो देशलाई,’ उनले भने ।

    नेता भट्टराईले २०७३ जेठमा माओवादी परित्याग गर्दै नयाँ शक्ति पार्टी गठन गरेका थिए । पछिल्लो पाँच वर्षमा विभिन्न पार्टी चहार्दै आएका भट्टराईले हालै समाजवादी पार्टी गठन गरेका हुन् । उनले मंसिरमा हुने निर्वाचनमा माओवादी केन्द्रको चुनावी चिन्ह हसियाँ हथौडाबाट निर्वाचन लड्ने निर्णय गरेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend