Online Nepal
  • आइतबार, ९ असोज २०७९
  • सिन्धुपाल्चोक-१ माओवादीको भागमा, के गर्लान् मोहन बस्नेत ?

    सिन्धुपाल्चोक-१ माओवादीको भागमा, के गर्लान् मोहन बस्नेत ?

    नेपालमञ्च संवाददाता
    भाद्र ३० २०७९, बिहिबार
    642
    SHARES

    काठमाडौं : सत्तारुढ दलहरुबीच झण्डै एक सय बढि निर्वाचन क्षेत्रको सिट बाँडफाँटमा सहमति जुटेको छ । दलहरुले समानुपातिक सूची बुझाउने मिति नजिकिएकाले गठबन्धनबीको सिट बाँडफाँटलाई केहि दिन पर धकेलेका छन् ।

    दलहरुबीच सहमति भएका भनिएका निर्वाचन क्षेत्रमा असन्तुष्टिहरु देखिन थालेका छन् । तिनैमध्येको एक हो, सिन्धुपाल्चोक–१ । देशभरका सबै निर्वाचनमध्ये सहमति जुटाउन सबैभन्दा बढि पेचिलो बनेको सिन्धुपाल्चोक–१ माओवादीको भागमा परेको नेताहरुले बताएका छन् ।

    कांग्रेस नेता मोहन बस्नेत र माओवादी केन्द्रका नेता एवं सभामुख अग्निप्रसाद सापकोटाको निर्वाचन क्षेत्र हो यो । दुई नेताबीचको व्यक्तिगत टकरावका कारण गठबन्धनबीच यो निर्वाचन क्षेत्रलाई लिएर सहमति जुटाउन निकै सकस भएको एक नेताले बताए ।

    कांग्रेस नेता बस्नेतले कुनै पनि हालतमा सिन्धुपाल्चोक-१ छोड्न नसक्ने र गठबन्धनबीच अर्काे पार्टीलाई दिने समझदारी भए आफूले विद्रोह गर्ने चेतावनी दिँदै आएका छन् । माओवादी केन्द्रले पनि उक्त निर्वाचन क्षेत्र कांग्रेसलाई छोड्न नसकिने अडान राख्दै आएको छ ।

    २०७४ सालको निर्वाचनमा नेकपा एमालेको सहयोगमा माओवादी केन्द्रबाट अग्निप्रसाद सापकोटा निर्वाचित भएका थिए । सापकोटाले कांग्रेसका मोहन बस्नेतलाई पराजित गरेका थिए । सापकोटाले ४०५०४ मत ल्याउँदा बस्नेतले २९७९८ मत ल्याएका थिए ।

    कांग्रेस केन्द्रीय समिति बैठकमा बस्नेतले भनेका थिए, ‘म गठबन्धनको विपक्षमा छैन । प्रदेश र प्रतिनिधिसभाको चुनावमा पनि गठबन्धन गरौँ । तर, मेरो निर्वाचन क्षेत्र सिन्धुपाल्चोकमा मेरो सिट धरापमा प¥यो र म उमेदवार बन्न पाइनँ भने त्यहाँ विद्रोह हुन्छ ।’

    उनी सोही निर्वाचन क्षेत्रबाट २०५४ र २०७० मा गरेर दुई पटक सांसद निर्वाचित भएका थिए । २०७० मा निर्वाचन जितेपछि उनी सञ्चारमन्त्री समेत बनेका थिए । २०६४ मा भने उनी माओवादी उम्मेदवारसँग पराजित भएका थिए ।

    माओवादी केन्द्रका नेता सापकोटालाई अर्काे निर्वाचन क्षेत्र जान बस्नेतले बारम्बार प्रस्ताव गर्दै आएका छन् । सापकोटाको नाम माओवादी केन्द्रले सिन्धुपाल्चोकका दुबै निर्वाचन क्षेत्रबाट सिफारिससमेत गरेको छ ।

    तर गठबन्धनबीच सिन्धुपाल्चोक–१ माओवादीलाई नै छोड्ने समझदारी बनेपछि कांग्रेस नेता बस्नेतले के गर्छन् भन्ने धेरैके चासो छ ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend