Online Nepal
  • आइतबार, ९ असोज २०७९
  • संघीय निर्वाचन : प्रकाशमान ‘सेफ जोन’मा, गगनलाई कति गाह्रो ?

    संघीय निर्वाचन : प्रकाशमान ‘सेफ जोन’मा, गगनलाई कति गाह्रो ?

    पुष्पा आचार्य
    भाद्र २५ २०७९, शनिबार
    774
    SHARES

    काठमाडौं : दश वटा निर्वाचन क्षेत्र भएको देशकै एक मात्रै जिल्ला हो काठमाडौं । लामो समय बामपन्थीको प्रभाव जिल्ला मानिने काठमाडौंको २०६४ सालदेखि दृश्य बदलिएको हो ।

    पछिल्ला निर्वाचनमा काठमाडौं कांग्रेसको प्रभाव जिल्ला बन्दै गएको छ । २०७४ सालमा बामगठबन्ध हुँदा पनि कांग्रेसले ४ वटामा जित हात पारेको थियो भने काठमाडौं–८ मा झिनो मतले कांग्रेस उम्मेदवार पराजित भएका थिए ।

    स्थानीय निर्वाचनमा मेयरमा पराजित भएपनि कांग्रेसको मत जिल्लाभर अगाडि छ । काठमाडौँ महानगरपालिकाकाका ३२ वडामा कांग्रेसले १९ वडा जितेको हो भने १० नगरपालिकामध्ये बहुमत पालिका नेतृत्व पनि कांग्रेसले जितेको छ । देशको संघीय राजधानी र सबैभन्दा बढि निर्वाचन क्षेत्र भएको जिल्ला भएका कारण सबैको चासो काठमाडौंमा बढि हुनु स्वभाविक हो ।

    काठमाडौंमा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने नेताहरु बताउँछन् । पाँच दलीय सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने समझदारी अनुसार ६ निर्वाचन क्षेत्र कांग्रेसको भागमा पर्ने निश्चित छ भने बाँकी ४ मध्ये काठमाडौं–७ जसपाले दावी गरेको छ । काठमाडौं–८ र काठमाडौं–२ मा एकीकृत समाजवादी र काठमाडौं–५ कुनै पनि दलको प्राथमिकतामा छैन। काठमाडौ–५ मा एमाले गठबन्धनभन्दा अगाडि देखिएको छ ।

    स्थानीय तहको मतपरिणाम अनुसार काठमाडौंमा कांग्रेस एमालेभन्दा केहि अगाडि देखिएको छ । पाँच दलीय गठबन्धन भए एमालेलाई काठमाडौंमा केहि गाह्रो हुने देखिन्छ । कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह र अहिलेका महामन्त्री गगनकुमार थापाको जिल्ला हो, काठमाडौं । दुबै नेता यसपटक पनि चुनावी प्रतिस्पर्धामा छन् । काठमाडौं–१बाट लगातार तीन पटक जितेर सिंहले ह्याट्रिक गरिसकेका छन् भने थापाले दुई पटक चुनाव जितेका छन् ।

    काठमाडौं महानगरका १०, ११, २९ र ३१ नम्बर वडाहरु समेटिएको काठमाडौं–१ मा कांग्रेस अन्य दलभन्दा अगाडि देखिएको छ । स्थानीय तह निर्वाचनमा स्वतन्त्रतर्फ मेयरका उम्मेदवार बालेन्द्र शाह निकै मतान्तरले अगाडि भएपनि दलहरुमध्ये कांग्रेस अगाडि छ ।

    महानगरपालिका प्रमुख शाहले चार वटै वडाबाट ९ हजार ६७४ मत ल्याउँदा कांग्रेस उम्मेदवार सिर्जना सिंहले ६ हजार ५१६ मत पाएकी थिइन् भने एमालेका उम्मेदवार केशव स्थापित ४ हजार ७९४ मत पाएका थिए ।

    २०७४ सालमा निर्वाचनमा सिंहका निकटतम प्रतिस्पर्धी रविन्द्र मिश्र फेरि निर्वाचन लड्ने तयारीमा छन् । तर उनको पार्टी विवेकशील साझा निकै कमजोर देखिएको छ । त्यसमा पनि मिश्रको लोकप्रीयता अघिल्लो निर्वाचनमा जस्तो नरहेको काठमाडौं–१ का मतदाताहरु बताउने गरेका छन् । उनी यसपटक राप्रपाको चुनाव चिन्हमा निर्वाचनमा होमिने तयारी छन् । मिश्र एमालेको समर्थन खोजिरहेका छन् ।

    एमालेको समर्थनमा निर्वाचनमा जाँदा मिश्र बलियो जस्तै देखिएपनि एमालेको सबै भोट मिश्रले नपाउने निश्चित छ । एकातिर पहिलो जस्तो लोकप्रीयता नहुनु र अर्कातर्फ गठबन्धन हुँदा पनि एमालेको सबै नपाउँदा मिश्रलाई चुनाव जित्न सजिलो छैन । त्यस्तै मिश्रकै पार्टीमा रहेका पुकार बमले काठमाडौं–१ बाटै उम्मेदवारी घोषणा गरिसकेका छन् । उनले स्थानीय तह निर्वाचन लगत्तै चुनावी तयारी अगाडि बढाएका हुन् ।

    यसैगरी पूर्व डिआईजी रमेश खरेलल पनि यहि क्षेत्र रोजेका छन् । धेरै स्वतन्त्र उम्मेदवारहरु प्रतिस्पर्धामा उत्रिदा उनीहरुले मिश्रकै मत काट्ने आकलन कांग्रेसको छ । जसले गर्दा नेता सिंहलाई चुनाव जित्न सहज हुने विश्लेषण गरिएको छ ।

    उता काठमाडौं–४ बाट तेस्रो पटक चुनावी मैदानमा उत्रिएर जितको श्रृंखलालाई निरन्तरता दिने रणनीतिमा छन्, कांग्रेस महामन्त्री थापा । २०६४ मा समानुपातिकतर्फ सांसद बनेका थापा २०७० र २०७४ सालको निर्वाचनमा विजयी भएका थिए । उनी आसन्न निर्वाचन जितेर ह्याट्रिकको पर्खाईमा छन् । तर स्थानीय तहको मतपरिणाम हेर्दा थापा ढुक्क भने छैनन् ।

    स्थानीय तहमा एमाले पहिलो स्थानमा रहेको काठमाडौं–४ मा महामन्त्री थापा व्यक्तिगत मत पाउनेमा निश्चिन्त छन् । निर्वाचन क्षेत्र नम्बर ४ मा काठमाडौं महानगरपालिकाका वडा नम्बर १, ७, ८ र ३० छन् भने बुढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ नम्बर वडा पनि यसै निर्वाचन क्षेत्रमा पर्छन् ।

    स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारतर्फ एमालेले १४ हजार ६५० मत पाएका थिए भने कांग्रेसले १२ हजार ६०२ मत पाएको थियो ।

    कांग्रेस महामन्त्री थापाको एकल सिफारिस भएको छ भने प्रमुख प्रतिस्पर्धी दल एमालेबाट डा राजन भट्टराई र निर्मल कुईकेल सिफारिस भएका छन् । तर एमालेले भट्टराईलाई नै अगाडि बढाउने चर्चा छ । स्थानीय तह मतपरिणाम अनुसार एमाले अगाडि देखिएपनि कांग्रेस महामन्त्री थापाका पक्षमा अन्तिम परिणाम आउने राजनीतिक विश्लेषकहरु बताउने गर्छन् ।

    एकातिर हालै सम्पन्न पार्टीको महाधिवेशनबाट महामन्त्री पदमा थापा निर्वाचित भएका हुन् भने संसददेखि सडकसम्मको उनको प्रभावशाली उपस्थितिले थापालाई गाह्रो नहुने दावी उनीहरुको छ । थापाले निरन्तर निर्वाचन क्षेत्र केन्द्रीत गतिविधि गर्दै आएका छन् । कोरोना संकटमा घरघरमा मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री वितरण गरेका थापाले विकासका कार्यक्रमसँगसँगै विभिन्न अभियानहरु सञ्चालन गर्दै आएका छन् ।

    महामन्त्री थापाले आफूलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रचार गरेका कारण पनि उनले मत पाउने कतिपयको विश्लेषण छ । थापाले काठमाडौंको फोहोर व्यवस्थापन, सार्वजनिक सवारी साधनलाई सहज बनाउनका साथै शहरी स्वास्थ्य सेवाको प्रणाली सुधारका लागि निरन्तर सक्रियता देखाउँदै आएका छन् ।

    काठमाडौंसहित देशका विभिन्न निर्वाचन क्षेत्रमा चर्चित अनुहारले स्वतन्त्र उम्मेदवारी घोषणा गरिरहेका बेला थापा आफ्नो क्षेत्रमा त्यसलाई रोक्न सफल भएका छन् ।

    स्वतन्त्र मतदाताको मत लिन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहदेखि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसँग महामन्त्री थापा संवादमा रहेको सन्देश दिने खालका तस्विरहरु उनको सचिवालयले बारम्बार सार्वजनिक गर्दै आएको छ ।

    कांग्रेसभित्र निर्वाचनमा देखिने अन्तर्घात यसपटक काठमाडौंमा देखिने कतिपयले बताउने गरेका छन् । १४ औं महाधिवेशनमा वडा, क्षेत्र, जिल्ला हुँदै प्रदेश अधिवेशनसम्म एकै समूहमा रहेका सिंह र थापा केन्द्रीय महाधिवेशनमा विभाजित भएका थिए ।

    त्यस्तै काठमाडौं महानगरको निर्वाचनमा थापा समूहबाट सहयोग नभएको चाक्सीबारीको बुझाई छ । अन्तर्घातको डर दुबैलाई उत्तिकै छ तर दुबै नेता सम्भावित अन्तर्घाततर्फ सचेत रहेको कांग्रेसका जिल्ला नेताहरु बताउँछन् ।

    अन्तर्घात हुँदा दुबै पराजय हुने सम्भावना उत्तिकै रहेकाले एकले अर्कालाई ‘देखिने गरी’ सहयोग गर्नुपर्ने बाध्यतामा थापा र सिंह रहेका छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend