
काठमाडौं । दस महिनाअघि चैत ११ गते बन्द भएको सिनेमा हलका पर्दा शुक्रबारदेखि खुले । सरकारले अहिलेसम्म मनोरञ्जन क्षेत्र खुला गरेको भने छैन । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले सुटिङ गर्न खुला गर्ने निर्णय गरे पनि बन्द सिनेमा हलका विषयमा कुनै निर्णय गरिसकेको छैन ।
सरकारी निर्णय नआउँदै चलचित्र संघको एकल निर्णयका आधारमा शुक्रबारदेखि देशभरका मल्टिप्लेक्स हलहरू खुलेका हुन् । अन्य हलहरू आंशिक मात्रामा खुलेका छन् । सरकारको औपचारिक निर्णय नआउँदासम्म हल खोल्ने कि नखोल्ने भन्ने दोधारमा सिंगल स्क्रिन थियटर सञ्चालक परेका छन् ।
शुक्रबार क्रिसमसको बिदा भए पनि हलमा दर्शकको भिड देखिएन, तर सपिङ मल, रेस्टुरेन्टहरूमा भने भीडभाड देखिन्थ्यो । पुरानो सिनेमा चलेका कारण हलमा दर्शक नगएको धेरैले अनुमान गरेका छन् । गत फागुनमै रिलिज भएका चलचित्र ‘आमा र सेन्टीभाइरस’ रि–रिलिज गरिएकाले पनि दर्शक हलमा नगएको फिल्मकर्मीको भनाइ छ । शुक्रबार राजधानीका मल्टिप्लेक्समा सेन्टी भाइरस, आमासहित दुई विदेशी चलचित्र प्रदर्शनमा आएका छन् ।
पहिलो दिन दीपकराज गिरी, भुवन केसी, रवीन्द्रसिंह बानियाँ, निर्देशक प्रदीप भट्टराई, प्रचण्डमान श्रेष्ठ, प्रदीप खड्का, निर्माता तथा निर्देशक अशोक शर्मा, कलाकार ऋचा शर्मालगायत दर्जन बढी कलाकार सिनेमा हेर्न सिभिल हललगायतका अन्य मल्टिप्लेक्स हलमा उपस्थित थिए । उनीहरू दस महिनापछि हल खुल्दा निकै खुसी देखिएका छन् । तर, पहिलोपल्ट हल खुलेको हुनाले दर्शक कमी आएको सबैको अनुमान छ ।
शुक्रबार सिभिल मलमा चलचित्र हेर्न पुगेका दीपकराज गिरीले हल तत्काल खोल्नु हुन्न भन्ने मत राख्दै आइरहेका थिए । तर, सबै हल खोल्नुपर्नेमा एक मत भएपछि उनी पनि सहमत भए । हल पुगेपछि उनले तुलनात्मक रूपमा सुरक्षित रहेको प्रतिक्रिया दिए ।
‘अहिले सडकमा देखिने अव्यवस्थित भिडभाड, रेस्टुरेन्टमा देखिने भिडभाडलाई हेर्दा हल तुलनात्मक रूपमा सुरक्षित छ । किनकि यहाँ भौतिक दूरी छ, स्यानिटाइज गर्ने गरिएको छ, मास्क छ । यसले गर्दा पनि अन्यको तुलनामा सुरक्षित छ,’ दीपकले भने । यद्यपि उनले दर्शकको भीडभाड ल्याउन स्वदेशी वा विदेशी नयाँ तथा ठूला चलचित्र आवश्यक पर्ने बताए ।
‘दर्शकको जमात ल्याउन नयाँ फिल्म चाहिन्छ नै । अब, विस्तारै त्यो माहोल पनि बन्ला’ उनले भने । ‘छक्का पञ्जा’ को सिक्वेल र ‘६ एकान ६’ चलचित्रको सिक्वेल बनाउने तयारीमा जुटेका दीपकराज गिरीले कोरोना कहरकै कारण थानकोटमा पाँच करोड लागतको कृषि फर्म खोल्ने तयारी गरेका छन् ।
प्रतिक्रिया