
प्रदेश नं. १ मा नयाँ सरकार गठन गर्न छलफल अघि बढीरहेका बेला नेपाली कांग्रेसले अहिलेसम्म नेकपाको कुनै पनि पक्षलाईं वचन नदिएको प्रस्ट पारेको छ।
प्रदेश नं. १ मा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मुख्यमन्त्री शेरधन राईंबिरुद्द अविश्वासको प्रस्ताव दर्ता भएपछि १५ जना सांसदलाई निलम्बन गरेसँगै नेकपाका पुष्पकमल दाहाल–माधव नेपाल समूहले संसदीय दलको नेतामा भीम आचार्यलाई निर्वाचित गरेको पत्र प्रदेशसभामा दर्ता गरेकाले सरकार गठन गर्न छलफल अघि बढेको छ।
मुख्यमन्त्री राईं र दाहाल–नेपाल समूह दुवैले कांग्रेसलाई साथ लिन खोजेका बेला पार्टीको केन्द्रीय निर्णय तथा निर्देशन बिना प्रक्रिया अघि नबढ्ने कांग्रेसले जनायो।
नेपाली कांग्रेस प्रदेश नं. १ संसदीय दलका नेता तथा सुनसरी सभापति राजीव कोइरालाले दुवै पक्षसँग वार्ताको क्रम जारी भएपनि कुनै पनि पक्षलाई वचन नदिएको र निर्णय पनि नभएको स्पस्ट पारे। ‘कि त केन्द्रले प्रदेशको स्थिती हेरेर अघि बढ् भन्न पर्यो। कि त केन्द्रले एउटा नीति तय गरेपछि मात्रै हामीलाई अगाडि बढ्न सजिलो हुन्छ,’ नेपाल प्रेस यूनियन सुनसरीले शुक्रबार इटहरीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेता कोइरालाले भने, ‘कांग्रेस लोकतन्त्रको अगुवाई गरेको पार्टी भएकाले गर्दा अहिलेको अवस्थामा सरकारमा जान हतार गर्नु हुँदैन्।’
नेता कोइरालाले अहिलेको अवस्थामा सरकारमा गएर कुनै उपलब्धी नहुने बरु पार्टी कमजोर हुने बताए। ‘प्रदेश नं। १ सरकारले प्रदेश विकासको बजेट सांसदहरुलाई दिएको छैन्। फोहोरको डङ्गुर छ, अहिले त्यहाँ गएर फोहोर सफा गर्न सकिन्छ रु’ उनले भने, ‘स्पस्ट दुई तिहाईको सरकारले काम गर्न नसकेको अवस्थामा हामी जादा केही पनि गर्न सकिदैन।’
प्रतिक्रिया