
मोरङ : मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता शेरधन राईले नेकपा संसदीय दलको विधान विपरीत आफूविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने थप एकजना प्रदेशसभा सदस्यलाई शुक्रबार निलम्बन गरेका छन् । राईले नेकपा दाहाल–नेपाल समूहका प्रदेशसभा सदस्य उपेन्द्र घिमिरेलाई निलम्बन गरेका हुन् ।
मुख्यमन्त्री राई समर्थक नेकपाको प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले घिमिरेलाई निलम्बन गरेको बोधार्थ प्रदेशसभामा शुक्रबार दर्ता गराएका छन् । योसँगै निलम्बित प्रदेशसभा सदस्यको संख्या १६ पुगेको छ ।
संसदीय दलको विधान विपरीत दलका नेता मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रतावमा हस्ताक्षर गरेकामध्ये १९ जना प्रदेशसभा सदस्यलाई मात्रै मुख्यमन्त्रीको निर्देशनमा सोमबार २४ घण्टे स्पष्टिकरण सोधेको बताएका प्रमुख सचेतक राजभण्डारीले २० जनालाई स्पष्टिकरण सोधिएकोमा भूलवश १९ जना मात्रै भएको प्रष्टिकरण दिए । ‘सञ्चारमाध्यममा स्पष्टिकरण सोधिएका प्रदेशसभा सदस्यको संख्या १९ मात्रै आएको हेरेर मुख्यमन्त्रीज्यूले २० जना हुनुपर्नेमा १९ कसरी भएको जिज्ञासा राखेपछि भूल भएको थाहा पाएँ,’ उनले भने, ‘त्यसैले स्पष्टिकरण सोधिएको तर निलम्बनको पत्र दिन छुटेका प्रदेशसभा सदस्य उपेन्द्र घिमिरेलाई पत्र पठाएर बोधार्थ प्रदेशसभामा दर्ता गराएँ ।’
तर वास्तविकता फरक रहेको एक प्रदेशसभा सदस्यले बताए । मुख्यमन्त्री राईले प्रददेशसभा सदस्य घिमिरेलाई अविश्वासको प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएर आफ्नो पक्षमा ल्याउन गरेको प्रयास विफल भएपछि निलम्बनको पत्र पठाएको उनको भनाइ थियो ।
प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले प्रदेशसभा सदस्य घिमिरेलाई निलम्बन गरेको बोधार्थ आएको पुष्टि गरे।
प्रतिक्रिया