January 24, 2021, Sunday
२०७७, ११ माघ आईतवार
Nepal 1:37:26 pm
अंशिका बनिन् मिस युनिभर्स
नेपालमञ्च संवाददाता
२०७७ पुष १७

275

काठमाडौं : मिस युनिभर्स नेपाल, २०२० को विजेता विराटनगरकी अंशिका शर्मा बनेकी छन्। विजेतासँगै अंशिकाले १० लाख नगद र विशेष डिजाइनले बनेको १५ लाख बराबरको क्राउन प्राप्त गरिन्। उनलाई मिस युनिभर्स नेपाल कार्यक्रमकी नेसनल डिरेक्टर नग्मा श्रेष्ठले ताज पहिर्‍याएकी थिइन्।

ब्रेभ बोल्ड ब्युटिफुल प्रालिको आयोजनामा सञ्चालन भएको मिस युनिभर्स नेपालको ग्रान्ड फिनाले बुधबार सम्पन्न भएको हो। होटल म्यारियट लाजिम्पाटमा सम्पन्न भएको फिनाले कार्यक्रममा उत्कृष्ट १८ बाट १० र ५ मा छनोट हँुदै अन्तमा विजेता घोषणा गरिएको हो।

कार्यक्रममा विभिन्न सबटाइटल विजेता पनि छनोट गरिएको थियो। जसमा मिस फ्यावलेयस सव टाइटलसँगै फोर्थ रनरअप न्यान्सी खड्का, थर्ड रनरअप दिक्ता थापा, सेकेन्ड रनरअप निनाकान्त मण्डल, मिस लाइफस्टाइल सबटाइटलसँगै फस्ट रनरअप सुजिता बस्नेत, मिस फियर्स सबटाइटलसँगै अंशिका शर्मा विजेता बनेकी हुन्।

मिस युनिभर्स नेपाल २०२० की विजेताले मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुने मौका पाउनेछन्। फाइनल कार्यक्रममा नेपालमै पहिलो पटक स्विम सुट क्वाटवाक समेत गरिएको थियो।

फाइनल कार्यक्रममा प्रतियोगीहरूलाई मानसिक स्वास्थ्य, पशु अधिकार, सामाजिक सञ्जालको प्रयोग, नेपालको आर्थिक विकास, कोभिड—१९ ले सिकाएको शिक्षालगायत विभिन्न विषयमा प्रश्न सोधिएको थियो। गायक शाश्वत खड्काको गीत र प्रस्तुतिसँगै उत्कृष्ट पाँचले आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए।

कार्यक्रमकी नेसनल डिरेक्टर नग्मा श्रेष्ठका अनुसार मिस युनिभर्स नेपाल कार्यक्रममा सहभागिताको लागि पाँच सय जनाको आवेदन परेको थियो। जसमध्ये ९७ जना छनोटमा परेका थिए। ९७ बाट ५०, २४ हुँदै १८ जना फाइनलका लागि प्रतिस्पर्धामा थिए।

कार्यक्रममा निर्णायकको भूमिकामा माल्भिका सुब्बा, अनुपमा खुञ्जेली, चारु चड्डा, अभया सुव्वा, उषा रजक र प्रेरणा शाह रहेका थिए। फाइनल कार्यक्रमको उद्घोषण रविराज राजकर्णिकार र शुभेच्छा खड्काले गरेका थिए।