Online Nepal
  • आइतबार, ९ असोज २०७९
  • यसरी सम्भव छ फोहोर ब्यवस्थापन

    यसरी सम्भव छ फोहोर ब्यवस्थापन

    रामकुमारी झाँक्री
    साउन ३० २०७९, सोमबार
    270
    SHARES

    काठमाडौँ उपत्यकामा विगत केही हप्ता देखि फोहोरको पहाड बन्दै गएकोछ । ठूलो पानी पर्दा फोहोर बगाएर ढल थुनिने देखि महामारी फैलने सम्मका समस्या हाम्रो सन्निकट देखिन्छ। फोहोर थुप्रिएको कारण सडकहरु साँगुरो हुन गई ट्राफिक समेत अवरुद्ध हुन थालेको छ।

    यो बेला काठमाडौँका प्रमुख बालेन साहलाई ह्यास ट्याग, खुचिङ गर्ने कि, यो हाम्रो साझा समस्या हो भनेर आवश्यक समन्वय गरेर समस्या समाधान गर्न पहल गरिदिने? गत वर्ष जब म मन्त्री भएर शहरी विकाश मन्त्रालयको जिम्मेवारी लिएँ। त्यसपछि मन्त्रालयले २९३ नगरपालिकाको फोहोर ब्यवस्थापनमा खास गरी काठमाडौँ उपत्यका र यस आसपासको क्षेत्रको फोहोर ब्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न थालेका थियो ।

    यो कामको प्राथमिक क्षेत्र हो भनेर। फोहोर ब्यवस्थापनमा केही कानूनी समस्या, केही राजनिती समस्या, क्षेत्राधिकारको समस्या, “फोहोर मोहर” हो भन्ने आंशिक बुझाईले गर्दा फोहरमा हातै हल्न नपाउने वा नदिने समस्या, समन्वयको अभाव, एकले अर्को तह वा निकायलाई स्वीकार नगर्ने प्रवृति । नयाँ नेतृत्व आउदा वित्तिकै बुद्धी दिन आउने मान्छेहरूले गराउने अलमल, देखाउने रोमान्चित सपना, संघीयता संगै केन्द्रीय तहमा समन्वय गर्ने, प्रविधिक सहायता दिने निकायको अभाव। क्षेत्राधिकारको प्रश्न त झनै ठूलो थियो। हालसम्म कानून त यो फोहोर ब्यवस्थापनको काम स्थानीय तहले गर्ने ब्यवस्था छ । यि र यस्ता जटिल समस्याका विच काम गर्नुपर्ने चुनौति थियो । काम कहाँबाट हात हाल्ने? कसरी सुरू गर्ने? बग्रेल्ति समस्या छन।

    त्यही विचमा हामीले आन्तरीक छलफल गर्यौ र मन्त्रालयको तर्फबाट अन्य निकायसंग धेरै परामर्श गर्यौ। बिभिन्न समयमा गरिएका औपचारिक, अनौपचारिक प्रयास र छलफलपछि बल्ल ठोस निर्णयमा पुगेका थियौ। अहिले ति निर्णयहरू कार्यन्वयनको चरणमा छन।

    १)बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल साईट छिटो भन्दा छिटो निर्माण सम्पन्न गरी फोहोर खसाउ तयारी गर्ने र फोहोर खसाउन सूरू गर्ने ।हाल फोहोर बन्चेडाडामै खसाउन सुरू गरिएको छ।

    २)तिनपिप्ले- बन्चरेडाँडा सडक खण्ड शहरी विकास मन्त्रालयले टेकओभर गरेर छिटो भन्दा छिटो निर्माण गर्ने कार्य सुरू गर्ने । सिस्डोलमा करिव दुई सय मिटर बाटो फोहोरको पहाडमा बनाउनु पर्ने भएकोले प्राविघिक हिसाले गार्हो काम थियो। जुन काम वर्षा याममा गर्न झनै गार्हो थियो। बाटोको कारण समस्या आउँछ भनेर नै छोटो खरिद प्रकियाको लागि मन्त्रिपरिषदबाट स्वीकृत गरी काम सूरू गरिएको थियो । हाल सडकको एकतर्फी काम सकिएको छ र बाँकी काम तिब्र गतिमा हुदैछ।

    ३)सिस्डोल डम्पिङ साईट निर्माण गर्न गरिएको इआईए रिपोर्ट स्वीकृत गर्दा राखिएका शर्तहरू क्रमशः कार्यन्वयन गर्दै जाने र आगामी ६/६ महिनामा इआईए रिपोर्टको अडिट  गर्ने।

    ४)अडिट रिपोर्टका आधारमा नयाँ इआईए गर्न आवश्यक भए आगामी वर्ष नास्ट, वन र शहरी विकास मन्त्रालयले आवश्यक अध्ययनको अतिरिक्त इआईए गर्ने । उक्त रिपोर्टका शर्तको आधारमा बन्चरे डाडाको स्यानिटरी ल्याण्डफिल साइटको प्रभावित क्षेत्र, अति प्रभावित क्षेत्र र त्यसको बफर जोन निर्धारण गर्ने।

    ५)अति प्रभावित क्षेत्रका जनताको जमिन आवश्यकताको आधारमा अधिग्रहणको प्रक्रिया अगाडी बढाउने । यो कामको लागि अर्थ मन्त्रालयसंग आवश्यक परामर्श पनि गरिसकिएको थियो।

    ६)सिस्डोलमा डम्प गरिएको फोहोरको निश्चित समय भित्र वैज्ञानिक रुपमा पोष्ट क्लोज गर्ने । यो कामको लागि कुन प्रविधि र कस्तो मोडालिटीमा गर्ने भन्ने विषय महानगरलाई “फोहर मैला ब्यवस्थापन प्राविधिक सहायता केन्द्र” जसलाई शहरी विकास मन्त्रालयमा स्थापना गरिएको छ त्यस संस्थाले उपलब्ध गराउने।

    ७)विगतमा नेपाल सरकारका विभिन्न निकायले र महानगर पालिकाले प्रभावित क्षेत्रका सरोकारवालाहरुसंग गरिएका संझौताहरूलाई तदारुकताका साथ क्रमशः कार्यन्वयन गर्दै जाने, जुन काम क्रमश अगाडी बढेको थियो।

    ८)बालाजु-तीनपिप्ले सडक खण्डको निर्माण कार्य यथासिघ्र सुरू गर्न सडक विभागले पुरानो ठेक्का तोडी नयाँ ठेक्का प्रक्रियाबाट तुरून्त प्रारम्भ गर्ने। हाल ठेक्का तोडिको छ। तर निर्माण ब्यवशायिक मुद्धामा गएको छ । यो मुद्दालाई प्राथमिकतामा राख्न पटक पटक परामर्श पनि भएको थियो।

    ९)प्रभावित क्षेत्रमा अस्पताल बनाउनका लागि काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागको प्रमुखको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शहरी विकास मन्त्रालयका प्रतिनिधि सहित पाँच सदस्य प्राविधिक समिति गठन गरिएको थियो।सो समितिलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्डको आधारमा १५ शैयाको अस्पताल बनाउने, दिईवटा प्रभावित पालिका मध्ये उपयुक्त स्थान समेत तय गर्ने अधिकार सहित एक महिना भित्र प्रतिवेदन दिने गरी जिम्मेवारी दिएको थियो ।

    १०)फोहोर प्रभावित क्षेत्रलाई काठमाडौँ महानगरले उपलब्ध गराएको शिक्षक दरवन्दी सो क्षेत्रका दुई पालिका विच न्यायोचित वितरण गर्न आवश्यक अध्ययन गरी उक्त प्रतिवेदनका आधार दरवन्दी मिलान गर्ने प्रक्रिया तत्काल सुरू गर्ने।

    ११)चालु आ. व. मा नै प्रभावित क्षेत्रका जनताको स्वास्थ्य विमा गर्ने कार्यक्रम महानगरले तुरून्त प्रारम्भ गर्ने।

    १२)फोहोरलाई श्रोतमै वर्गीकरण गरी ननअर्गानीक फोहोर मात्र ल्याण्डफिल साईट लाने गरी आवश्यक ब्यवस्था गर्ने।
    यसो गर्ने हो भने बन्चरे डाडा स्यानीटरी ल्याण्डफिल साईट करीव डेड दुई सय वर्षलाई पुग्छ। यत्तिकै डम्प गर्ने हो भने १५/२० वर्षमा भरिन्छ। त्यसैले फोहोरलाई श्रोतमा बर्गिकरण कसरी गर्ने, कसरी संकलन गर्ने र कसरी विसर्जन गर्ने भन्ने म्यानुअल दिन आवश्यक हुन्छ। त्यसको लागि शहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तुरून्त तयारी गर्ने र शहरी विकास मन्त्रीको अध्यक्षतामा रहेको स्टेरिङ कमिटीले निर्णय गरी, जारी गर्ने गरी, यो काम पनि अगाडी बढेको थियो।

    १३)फोहोरको प्रकृति र परिमाण अनुसार कुन प्रविघिमा विसर्जन गर्ने ? फोहोर मैला ब्यवस्थापनको लागि आवश्यक सबै प्रकृतिका सहायता प्रदान गर्न नेपाल सरकार (मन्त्रिपरिषद) को २०७८/११/२६ को निर्णयबाट शहरी विकास मन्त्रालय अन्तर्गत “फोहोर मैला प्राविधिक सहायता केन्द्र” स्थापना गरेको थियो र त्यसको ओ एण्ड एम गर्न समिति समेत गठन गरी कार्य प्रारम्भ गरिसकेको थियो ।

    १४)सिस्डोलमा फोहोर विसर्जन गर्दा तोकिएका कुनै मापदण्ड पुरा गरिएन, यति सम्म कि इआईए स्वीकृत गर्दा राखिएका सर्त मात्र पुरा गरेको भए स्थिती यस्तो पनि हुने थिएन। छोटो समयको लागि भनेर बनाईएको अस्थायी ल्याण्डफिल साईटमा वीसौ वर्ष फोहोर खासायौ। तर यसको कथा सुखद रहेन, आगामी दिनमा यहि कथा फेरी बन्चरे डाडामा नदोहोर्याउने शहरी विकास मन्त्रालयको प्रतिबद्धता छ । त्यसको लागि बन्चरे डाडा स्यानिटरी ल्याण्डफिल साईटमा फोहोरको बैज्ञानिक ब्यवस्थापनको लागि आवश्यक कार्यविघि मन्त्रालयले बनाई महानगरलाई हस्तान्तरण गरिसकेको छ। तर महानगरले आफै काम गर्न सक्षम नहुदासम्म केही समयको लागि महानगर पालिकालाई प्राविधिक सहायत शहरी विकाश मन्त्रालयले दिने निर्णय नै भएको छ।

    १५)संघीय सरकारका विभिन्न निकायहरुसंग आवश्यक राय, परामर्श र समन्वय गरी आवश्यक नीतिगत निर्णय र अनुगमन गरी समस्या समाधान गर्न नेपाल सरकार (मन्त्रिपरिषद)को मिति २०७८/११/२६ को निर्णयानुसार शहरी विकास मन्त्रीको अध्यक्षामा सदस्य काठमाडौ र ललितपुर महानगरपालिकाका प्रमुखहरु, गृह सचिव, शहरी विकास सचिव, संघीय मामिला तथा सामान्य प्रशासन सचिव, वन तथा वातावरण सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव, धुनीबेसी नगरपालिकाका प्रमुख र ककनी गाउपालिकाका अध्यक्ष, ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सदस्य र काठमाडौ महानगर पालिकाको प्रमुख प्रशासकिय अधिकृत सदस्य-सचिव भएको स्टेरिङ कमिटी गठन गरेको छ । र , मन्त्री परिषदले ले दिएको जिम्मेवारी अनुरुप कामको सुरुवात भइसकेको थियो। सोही समयमा उपत्यकाको फोहोर पहिलो चरणमा बन्चरेडाँडामा लगेर ब्यवस्थापन गर्न सुरू गरिएको छ ।

    १६)शहरी विकाश मन्त्रालयले प्राविधक सहसचिवको नेतृत्वमा छुट्टै बन्चरे डाडाको आयोजना नै संचालन गरेको छ । स्यानिटरी ल्याण्डफिल साईटको दोश्रो चरणको काम र तीनपिल्ले-बन्चरे डाडा सडक मर्मतको काम द्रुत गतिमा भइरहेकोछ ।

    १७)स्थानीय सरोकारवालाहरु र दुई वटा पालिका (ककनी गाउँपालिका, धनीवेशी नगरपालिका) का जनप्रतिनिधिले माग गरे बमोजिम बिभिन्न तीन वटा सडक, ढल, नाली निर्माणको लागि करिव ४० करोड विनियोजन भएको छ। बन्चरे डाडामा फोहोर-मैला लाने डेडीकेटेड सडक निर्माणको लागि चालु आ. व. मा नै निर्माण कार्यमा जान डिपिअार बनिसकेको छ। त्यसै गरी नेपाल सरकारका खानेपानी, बन, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा र संघीय मामिला मन्त्रालयबाट पनि विभिन्न कार्यक्रमहरु रहेकाछन ।

    १८)संघीयताको मर्म अनुसार फोहोर मैला ब्यवस्थापनको अधिकार स्थानीयमा रहेको छ । एक पालिकाबाट अर्को पालिका वा अर्को जिल्ला वा कतिपय अवस्थामा एक प्रदेश भन्दा समेत बाहिर गएर काम गर्नु पर्ने अबस्था आउन सक्छ यस्तो अवस्थामा सघिय सरकारको तर्फबाट समन्वयको खाचो पर्छ। त्यो आवश्यकतालाई बोध गरेर संघियताको मर्म अनुसार कानुन तर्जुमा गर्न सामान्य प्रशाशन तथा संघिय मामिला मन्त्रालयलाई शैद्धान्तिक सहमति पनि २०७८/११/२६ को मन्त्रीपरिषदले दिईसकेको छ।

    १९)यी सबै काम कार्यान्वयनको प्रक्रिया हाम्रो पालामा नै गएका छन । ती कामहरु मध्ये केही काम सम्पन्न हुने अस्थामा पुगेकाछन । तर आज खाँचो छ केबल विभिन्न निकाय र तह विचको समन्वय गर्नुपर्ने।

    २०)यति काम गर्न हामीले धेरै नै समन्वय गरेको थियौ । दिन दिनैको निगरानी, सहयोग र समन्वय विना काम गर्न गार्हो छ । फोहोरमा राजनिती नगरौं । सके सहयोग गरौं, नसके असहयोग नगरौं ।

    २१)यो विचमा स्थानीय सरोकार समुहले राखेको एउटा माग गुठी जग्गालाई रैकर जग्गामा परिणत गर्ने प्रक्रिया थाल्ने बाहेक उहाँहरूका करीव सबै माग सम्बोधन गर्ने प्रयास गरिएको पनि छ।

    २२)हाम्रो पालामा सबै तहका जनप्रतिनिधि, माननीय सांसद, विभिन्न राजनितीक दल र स्थानीय सरोकार समुहहरू विच पटक पटकको वार्ता र सम्वादबाट यसको दिर्घकालीन समाधन पनि निकालेका थियौं । र, तल उल्लिखित कार्यहरू गर्न समन्वय गर्ने संयन्त्र स्थापित गरेका थियौः

    क)फोहोरको ईकोसिस्टम बिगार्न आवश्यक छैन। यहि सिस्टमलाई कानुनी दायरामा लिएर काम गर्न सकिन्छ।
    ख)यसो गर्न फोहोर मैलामा काम गर्ने सबै गैह्र सरकारी संस्थाहरू कम्पनीमा जानुपर्छ।
    ग)ति कम्पनीहरूले महानगरसंग करार संझौता गरेपछि मात्र काम गर्न दिनुपर्छ।
    घ) फोहोर संकलन देखि ट्रान्सफर सम्म काम गर्ने ब्यक्ति र साधनहरूले तोकिएका सबै मापदण्ड पुरा भए नभएको निगरानी, अनुगमन र कारवाही सम्म गर्नुपर्छ।
    ङ) कार्यथलोमा सुरक्षाको प्रत्याभूति गरिनुपर्छ।
    च) स्थानीय सरोकार समुहहरूले स्थानीय जनप्रतिनिधि मार्फत आफ्ना सरोकार राख्ने गर्नुपर्छ । जसले गर्दा फोहोरको राजनीतिकरण हुने अबस्थाको अन्त्य हुन्छ।र संघिय सरकार र विभिन्न पालिकाहरू गरिएका संझौताहरूको प्रभावकारी कार्यन्वयन हुन्छ।
    छ) एक अर्का विच रहेको अविश्वासको वातावरण र आरोपप्रत्यारोपको पनि अन्त्य हुन्छ। हिजो राज्य पक्ष संवेदनशील नभएको भन्ने पुरानो न्यारेटिभ पनि परिवर्तन गर्न सकिन्छ।

    २३)पासाङल्हामु राजमार्गको बालाजु -तिनपिप्ले -ककनी सडक खण्डको ठेक्का टर्मिनेट गरेपछि निर्माण ब्यवशायी मुद्दामा सर्वोच्च अदालत गएका थिए। सायद आज यो मुद्दाको टुंगो लाग्ला, किन कि यो PIL हो भन्ने कुरा सम्माननीय कामु प्रधान न्यायाधीशलाई पनि हामी भेटेर जानकारी गराएका छौ। टुंगो लागेन भने मुद्धाका पक्षविपक्षसंग बसेर टुंगो लगाउन आवश्यक समन्वय गर्नु परे म त्यो पनि गर्न तयार छु।

    २४)धेरै दिन देखि थुप्रिएको फोहोर धेरै परिण्ममा छ । यो उठाउन सिमित साधन श्रोत भएकोले समय भने लाग्छ। त्यसैले उपत्यका र यस वरपर भएका मेसिन, ट्रिपर लोडरहरू पनि भाडामा परिचालन गर्नुपर्ने हुन्छ। ट्राफिक प्रहरी र अरू सुरक्षा निकायसंग आवश्य समन्वय गरेर रातदिन लगाएर काम गर्नुपर्छ। रातीमा काम गर्न बाटो र साईटको लागि हामीले विधुत प्राधिकरणसंग समन्वय गरेर आवश्यक पर्ने डेडीकेटेड वत्ति दिने ब्यवस्था पनि गरेका थियौ।

    २५) र अन्त्यमा यदि फोहोरमा राजनीति नहुने हो भने काठमाडौँको फोहोर ब्यवस्थापनमा समस्या छैन । तसर्थ फोहोरमा फोहरी राजनिती नगरौं, सबैले सतप्रयास गरौं, गर्न सकिन्छ। काम जस पाउन होईन, कर्तब्य ठानेर गरौ। कोही सहयोग गर्न आयो भने जस लिन आयो भनेर नधकेलौ, मिलेर काम गरौ, हामी सबैको साझा समस्या हो भन्ने ठानेर काम गरौ भन्छु म । आज पनि मेरो तर्फबाट हुने सहयोग गर्न म तयार छु । सबै पक्षसंग समन्वय र परामर्श गर्न सकिन्छ। काम गरौ । सहयोग र समन्वय गरौ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend