किसानलाई भुक्तानी दिएपछि लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल तारेखमा छुटे

परासी स् पश्चिम नवलरपरासीको सुनवलस्थित लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाल तारेखमा छुटेका छन् । किसानहरुको भुक्तानी नदिएको भन्दै बिहीबार प्रहरीले बिरगञ्जबाट नियन्त्रणमा लिएर नवलपरासी पुर्‍याएको थियो ।

अग्रवाल प्रहरी नियन्त्रणमा परे लगत्तै उद्योगले किसानहरुको भुक्तानी सुरु गरेको थियो । पहिलो चरणमा २ करोड बैंक खातामा जम्मा गरेको उद्योगले दैनिक रुपमा ३० देखि ४० लाख रुपैयाँ किसानहरुलाई इ–सेवा मार्फत भुक्तानी सुरु गरेपछि उद्योगी अग्रवाल तारेखमा छुटेका हुन् ।

प्रहरी नियन्त्रणमा रहेका अग्रवालले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा एक हप्ताभित्र उद्योगको नामसारी लगायत लोनका लागि सुरु गरिएको बैंकिङ्ग प्रक्रिया सकेर किसानको सम्पूर्ण बाँकी रकम भुक्तानी गर्ने लिखित प्रतिबद्धता जनाएपछि उनलाई एक हप्ताको तारेख दिएर छाडिएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।

अग्रवालले २ वटा बैंकबाट ५र५ करोडका दरले लोन प्रक्रिया सुरु गरेका छन् । बैंकले समेत उद्योगको स्वामित्व अग्रवालको नाउँमा आए लगत्तै लोन स्विकृत गर्ने प्रतिबद्धता जनाएकाले उनलाई तारेखमा छाडिएको प्रजिअ पाठकले बताए ।

हप्ता दिनभित्र प्रक्रिया पूरा गरेर भुक्तानी नगरे अग्रवाललाई कानुन अनुसार कारबाही प्रकृया थालनी गर्ने समेत प्रजिअ पाठकले बताए । उद्योगले करिब ७ सय बढी किसानको ८ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ ।

उद्योगका सञ्चालक मनिष अग्रवालको मृत्यु भएपछि उद्योगको स्वामित्व अग्रवालकी श्रीमती सुशिला गोयलमा गएको थियो । अंशवण्डाका क्रममा उक्त उद्योग मनोज अग्रवालका नाममा परेको छ । गोयलको नाममा रहेको उद्योगको स्वामित्व अहिले मनोजका नाउँमा ल्याउने प्रक्रिया सुरु गरिएको उद्योगका प्रबन्धक बिजय कुमार गुप्ताले बताए ।

प्रतिक्रिया

TOP