
परासी : पश्चिम नवलरपरासीको सुनवलस्थित लुम्बिनी चिनी उद्योगका सञ्चालक मनोज अग्रवाल पक्राउ परेलगत्तै उखु किसानहरुलाई भुक्तानी दिन सुरु गरिएको छ। अग्रवालले बैंक खातामा २ करोड रुपैयाँ जम्मा गरेको जनाएपनि किसानहरुलाई भने भुक्तानी दिइएको थिएन।
बिहीबार विरगञ्जबाट अग्रवाल पक्राउ गरेलगत्तै उद्योगले जिल्लाका किसानहरुलाई भुक्तानी दिन सुरु गरेको हो। प्रहरीले पक्राउ गरेका अग्रवाललाई विरगञ्जबाट नवलपरासी पुर्याउँदै छ।
अग्रवाल नवलपरासी नपुग्दै उद्योगका प्रबन्धक विजयकुमार गुप्ता बिहीबार दिउँसो जिल्ला प्रशासन पुगेर किसानको रकम भुक्तानी प्रकृया सुरु गरिएको र पुस मसान्तभित्र सबै रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएका थिए। गुप्ताले भुक्तानीका लागि आवश्यक पर्ने अन्य रकम बैंकमार्फत प्रकृया सुरु गरिएको जिल्ला प्रशासनमा जानकारी गराएका थिए।
बिहीबार साँझसम्म उद्योगले किसानहरुको खातामा १ करोड ९ लाख रुपैयाँ जम्मा गरी सकेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए।
प्रजिअ पाठकले भने‘उद्योगका प्रबन्धकले पुस २४ गतेभित्र पुन २ करोड रुपैयाँ जम्मा गर्ने र बाँकी रकमको बैंक ग्यारेण्टी पत्र ल्याउने प्रतिबद्धता जनाएका छन्। ’
प्रतिक्रिया