
काठमाडौँ — नेकपा (दाहाल-नेपाल) पक्षका केन्द्रीय सदस्य हितबहादुर तामाङले प्रतिनिधिसभा विघटन गरेर केपी ओलीले संविधानको मूल मर्म र भावनालाई च्यात्ने काम गरेको बताएका छन् ।
नुवाकोटमा नेकपाको ककनी गाउँपालिकाको भेलालाई बिहीबार सम्बोधन गर्दै नेता तामाङले संविधानमै नभएको अधिकार प्रयोग गरेर ओलीले संविधान कच्याककुचुक पारेको टिप्पणी गरेका हुन् । ‘उहाँ (ओली) ले संसद् विघटन गरेर निर्वाचन घोषणा गरी टोपलेर संविधानको मूलमर्म र भावनालाई कच्याककुचुक पार्ने, च्यात्ने, संविधानलाई अर्थहीन बनाउने काम गर्नु भयो । केपी ओली कमरेडले चुनाव गराउन चाहेको हुँदै होइन ।’
विघटित प्रतिनिधिसभाका सांसद् समेत रहेका तामाङले आफू हार्ने चुनाव ओलीले आयोजना नगर्ने बताए । बरु आफूहरुको पक्षमा बहुमत नेता, कार्यकर्ता रहेको चुनाव जित्ने उनको भनाइ थियो । कुनै प्रधानमन्त्रीको सनकको भरमा संविधानमा नभएको अधिकार प्रयोग गरी संसद् विघटन नहोस् भन्नका लागि आफूहरु संसद् पुनर्स्थापनाको पक्षमा आन्दोलनमा लाग्नुपरेको उनले बताए ।
प्रतिक्रिया