
दाङ : कोरोना महामारीका कारण लामो समय घरमै सीमित महिला राष्ट्रिय खेलाडीहरू पहिलोपल्ट मैदानमा आएका छन् । पुस ११ देखि लमहीको क्रिकेट मैदानमा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता सुरु भएपछि देशभरका खेलाडी कोरोनापछि पहिलोपल्ट मैदान उत्रन पाएका हुन् ।
लुम्बिनी प्रदेशकी ब्याट्सवुमन नीतु भण्डारी कोरोना कहरपछि पहिलोपल्ट मैदान देखिइन् । रूपन्देही शान्तिनगरकी नीतु महामारीमा घरमै सामान्य शारीरिक अभ्यास गर्थिन् । ‘कोरोनाकालमा घरबाट निस्कन पनि पाइएन, बाहिर जान डर थियो । घरमै सामान्य अभ्यास गरेर बसियो,’ उनले भनिन्, ‘एक वर्षपछि पहिलोपल्ट मैदान उत्रन पायौं । यसले हामीलाई उत्साही बनाएको छ ।’
क्रिकेट विकास हुन नियमित प्रतियोगिता हुन जरुरी रहेको उनले बताइन् । ‘स्पर्धाहरू धेरै हुनुपर्छ । हामीले वर्षमा एकपटक मात्रै खेल्न पाइरहेका छौं । जति टुर्नामेन्ट धेरै भयो, उति नै राम्रो खारिन पाउछौं,’ उनले भनिन्, ‘घरपरिवार, राज्य सबैतिरबाट खेललाई महत्त्व दिनुपर्छ । हामीले नियमित खेल्न पाएकै छैनौं । वर्षमा खेल्ने अवसर धेरै हुनुपर्छ ।’ सात वर्षदेखि क्रिकेट खेलिरहेकी उनी नेपालको क्रिकेट टिम निकै बलियो र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम रहेको विश्वास गर्छिन् ।
लामो समयपछि राष्ट्रिय खेलाडीलाई मैदानमा देख्दा दर्शकसमेत उत्साही भएका छन् । लमही क्रिकेट मैदानमा दिनहुँ दर्शकको उपस्थितिले त्यही देखाउँछ । खेलाडीहरू पनि उत्साहसाथ मैदानमा जमिरहेका छन् । लामो समयपछि मैदान उत्रिए पनि आफ्नो टिमलाई सशक्त बनाएर प्रतिस्पर्धा गरिरहेको वाग्मती प्रदेशकी कप्तान अस्मिना कर्माचार्य सुनाउँछिन् । गण्डकी प्रदेशकी कप्तान शिला रेग्मी क्षेत्री पनि लामो समय सुस्ताएको आफ्नो टिमलाई उच्च सक्रियतासाथ मैदानमा उतारेको बताउँछिन् ।
प्रतिक्रिया