
काठमाडौं स् एउटै खेलमा लामो कालखण्ड प्रतिनिधित्व गर्ने खेलाडी हुन्, बास्केटबलकी सदिना श्रेष्ठ। उनलाई नेपाली महिला बास्केटबलकी सक्कली अनुहार भन्दा हुन्छ। उनी अहिले ३० वर्षकी भइन्, उनले सक्रिय रूपमा बास्केटबल खेल्न थालेको १५ वर्षभन्दा बढी भइसकेको छ। अझ उनी त अहिले राष्ट्रिय टिमकी कप्तानसमेत हुन्। उनकै नेतृत्वमा त हो, नेपालले १३औं दक्षिण एसियाली खेलकुद (साग) को महिला बास्केटबलतर्फ रजत जितेको।
यो पनि यस्तो रजत पदक हो, जसको स्वर्ण पदकको हुलबीच पनि छुट्टै सान छ। अझ उल्लेखनीय पक्ष त के भन्दा नेपाली महिला टिमले सागमा खेलेको नै यो पहिलोपल्ट हो। फाइनलमा भने नेपाल भारतसँग रोकियो। त्यस खेलको समाप्तिमा जहाँ अन्य अवस्थामा निराशा छाउन सक्थ्यो, तर त्यति बेला भने सबै नेपाली महिला खेलाडीको अनुहारमा खुसी र गर्व नै थियो। हुन पनि, यो आपैंmमा ऐतिहासिक पदक थियो, यसमा खुसी हुनुपर्ने अनेक कारण थिए।
तिनै सदिना यसपल्टको पल्सर स्पोर्ट्स अवार्ड–२०७६ को लोकप्रिय विधाका एक प्रत्यासी हुन्। झलक्क पहिलोपल्ट हेर्दा उनी विश्व टेनिसकी खेलाडीझैं लाग्छ, सुनौला लामा कपाल, पूर्णतः फिट शरीर। अनुहार पनि धपक्क बलेको। यी सुन्दरी खेलाडी कुनै सिनेमामा खेल्न पनि हक राख्छिन्। उनले यसका लागि प्रस्ताव नपाएको पनि होइन तर उनका लागि बास्केटबल नै सबथोक हो। अझ उनी यो खेलको आवाज पनि हो, उनी आफ्नो मनमा लागेका सबथोक पोखिरहेकी हुन्छिन्।
पछिल्लो पटक उनी आफ्नो टिमले जितेको रजक पदक कम्तीको होइन भने सबैलाई सुनाइरहेकी थिइन्। खासमा उनी प्राकृतिक रूपमा कप्तान सम्हाल्ने खालका खेलाडी हुन्, अथवा भनौं ‘बर्न लिडर’। उनी व्यवस्थापनकी विद्यार्थी हुन्, त्यसमा ‘लिडरसिप’बारे राम्रैसँग पढ्नुपर्छ।
कप्तानले के के गर्नुपर्छ, आफ्नो टिमलाई अभिप्रेरित गर्न के कस्तो गर्नुपर्छ, उनी ती सबैको ख्याल राख्छिन्। अनि प्रत्येकपल्ट आफ्नो होइन, आफ्नो टिमबारे बोल्छिन्।
त्यसैले त जुन दिन उनलाई लोकप्रिय खेलाडी विधामा मनोनयन गरियो, उनी भन्थिन्, ‘यो मेरो होइन, हाम्रो टिमको उपलब्धि हो।’ उनको फेसबुक प्रोफाइल यसो पल्टाउनु पर्छ, उनी खालि ‘हाम्रो टिम, हाम्रो टिम’ मात्र भनिरहेकी हुन्छिन्। यो नै उनको मुख्यः विशेषता हो।
ललितपुर पुल्चोकको रैथाने परिवारमा हुर्केबढेकी सदिना सुरुमा फुटबलकी खेलाडी थिइन्। त्यहाँ हकको एउटा अवसर नपाएपछि बास्केटबलतर्फ लागिन्, बाँकी त अब इतिहास भइसक्यो।
त्यसो भनेको उनी निकै इखालु खेलाडी पनि हुन्, उनी मनैमन केही गर्नु छ भनेर रोज्छिन् भने त्यो गरेरै छाड्छिन्। यही इख गर्ने बानीले उनी यहाँसम्म पुगेकी हुन् भन्दा पनि फरक पर्दैन। फेरि उनको परिवार नै खेलमय छ।
उनको परिवारका धेरै सदस्य नेपाली खेलकुदमा कुनै न कुनै रूपमा जोडिएका छन्। अनि उनी खेल्न छाडेपछि पनि बास्केटबलसँग जोडिइरहने इच्छा राख्छिन्।
किनभने उनलाई यो क्षेत्रमा धेरै पो गर्नुपर्छ। बास्केटबलको कोर्टकी यी ‘पावर फरवार्ड’को तपाई प्रशंसक हो भने उनलाई मत दिनु पनि तपाईंको जिम्मेवारी हो।
प्रतिक्रिया