Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • प्रचण्डको भारत भ्रमणलाई आशंकाको नजरले हेर्नुपर्दैन : लोकराज बराल

    प्रचण्डको भारत भ्रमणलाई आशंकाको नजरले हेर्नुपर्दैन : लोकराज बराल

    प्रकाश बस्याल
    असार ३१ २०७९, शुक्रबार
    264
    SHARES

    काठमाडौं : सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लामो समयपछि भारतको भ्रमणमा जाँदैछन् ।

    भारतीय जनता पार्टी (भाजपा)को निम्तोमा भारत जान लागेका प्रचण्डले नयाँ दिल्लीमा प्रधामनन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम तय भएको छ । भारतीय सत्तारुढ दल भाजपाले नेपालमा सरकारसँगै प्रमुख पार्टीहरुसँगै सम्बन्ध कायम गर्न खोजेको देखिन्छ ।

    यसअघि नेपाली कांग्रेसका नेताहरु भारत पुगेका थिए, भाजपा नेताहरु नेपाल आएका थिए । भारतीय संस्थापन पक्षसँग प्रचण्डको सम्बन्ध समधुर नभएको चर्चाका बीच यो भ्रमण हुन लागेको हो ।

    नेपाल–भारतसम्बन्धका बारेमा जानकार लोकराज बरालसँग हामीले प्रचण्डको आसन्न भारत भ्रमणका बारेमा संक्षिप्त कुराकानी गरेका छौं ।

    प्रचण्डको आसन्न भारत भ्रमणलाई यहाँले कसरी लिनुभएको छ ?
    नेताहरु भारत जाने–आउने कुरा नयाँ होइन । त्यहाँको पार्टी (भारतीय जनता पार्टी) ले पनि बोलायो । यो दुई देशका पार्टीबीच सम्बन्ध बनाउने कुरा हो ।

    अब भित्रि एजेन्डा त अहिले सार्वजनिक भएको छैन । त्यसैले अनुमानको भरमा बोल्न पनि भएन । तर मैले पनि यसलाई सामान्य रुपमा दुई पार्टीबीचको सम्बन्धका रुपमा मात्र बुझेको छु ।

    उनीहरुले यसअघि पनि कांग्रेसका नेताहरुलाई बोलाएका थिए । एमाले र कांग्रेससँग सबैसँग सम्बन्ध बढाउने उनीहरुको रणनीति होला ।

    चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखसँगको भेट लगत्तै हुन लागेको यस भ्रमणलाई बढि चासोपूर्वक हेरिएको छ नि ?

    चिनियाँ टोली आएर गयो । चिनियाँसँग भेटेपछि भारत जानै हुँदैन भन्ने नहोला । चीनले आफ्ना कुरा ग¥यो र उनिहरुको पार्टी–पार्टी सम्बन्धको कुरा भयो ।

    त्यसकारणले यसले कुनै अर्थ राख्छ र ? हुन त अलि एकदुई दिन ढिला गरेको भएपनि हुन्थ्यो तर पछि जान र अहिले जानुमा कुनै फरक छैन ।भारत पनि एउटा शक्ति हो । छिमेकीसँगको सम्बन्ध राम्रै राखौँ भन्ने हो ।

    यता प्रचण्डहरुलाई पनि भारतसँगको सम्बन्ध राख्न पाए राम्रै होला भन्ने छ । त्यो बाहेक अरु अनुमान गर्दा ठिक नहोला ।

    नेपालकी प्रथम महिला आरजू राणा पनि भारतमै हुनुहुन्छ, अहिले प्रचण्ड पनि भारत जाँदा बढि आशंका भएको हो कि ?

    आरजु देउवा राणा राजनीतिक हिसाबले भन्दापनि व्यक्तिगत काममा गएको बुझिएको छ । उहाँ औषधि उपचारका लागि गएको भनिएको छ ।

    उहाँले राजनीतिक भेट गरेको अहिलेसम्म खवर आएको पनि छैन । अर्को कुरा, भारत जाँदैमा सबै सकिन्छ भन्ने पनि होइन । भारत जाँदैमा लछारपछार गरेर तुरुन्तै गर्ने के हुन्छ र ? भारतले चाह्यो भने उसले नसक्ने पनि छैन । उसले भन्नेवित्तिकै यहाँ उथलपुथल हुने हाम्रो अनुमान छ ।

    कतिपय कुरा भारतले चाहेको भारतमै भएको छैन । उसले चाहदैमा यहाँ हुन्छ त ? हामीले अलि महत्व बढि दिन्छौँ ।

    राजनीति गर्नेहरु हुन्, त्यहाँ गइसकेपछि भेटघाट होला । यहाँको बारेका कुरा होला त्यो स्वभाविक हो । अव यस्ता कुराहरु भइरहन्छन् । यसलाई त्यति धेरै महत्व दिन उपयुक्त नहोला ।

    प्रचण्डको भ्रमणले छाड्ने प्रभाव के हुनसक्छ ?

    यसले दुई देशको सम्बन्धलाई राम्रै गर्ला । मित्रराष्ट्रहरुसँग सम्बन्ध बढाउनु त राम्रै हो नि ।

    अमेरीका, भारत र चीन सबैको चासो नेपालमा देखिन थालेको छ । नेपाललाई कुटनीतिक सन्तुलन मिलाउन गाह्रो पो हुने भयो ?

    सबैले नेपाल क्रिडास्थल हुने भयो भन्न थालेका छन् । यो बनाउने नबनाउने हाम्रो हातको कुरा हो । यदि बन्न दियो भने बन्छ ।

    उनिहरुको गोटी भयौ भने उनिहरुले गोटी चाल्छन् । होइन भने हामीले आफ्नो अडानमा राख्ने हो । चलखेल त संसारमा जहाँकहिँ हुन्छ ।

    ठुलाठुला शक्तिहरुबीच भइहाल्छ । त्यसले गर्दा आफ्नो घर बलियो बनाउनुपर्छ । नीति ठिक हुनुपर्छ । कार्यान्वयन ठिक हुनपर्छ । एक अर्कालाई दोषारोपण गरेर केही हुँदैन ।

    पछिल्ला दिनमा चीन, भारत र अमेरिकाको चासो नेपालमाथि बढेको छ, यसलाई स्वभाविक मान्नुहुन्छ ?

    बिशेष गरी चीन, अमेरिका र भारतको अलि बढी सकृयता देखिएको. छ । अहिले त भारतीय भन्दा पनि चाइना र अमेरिकाको सकृयता बढेको छ ।

    उनिहरुको सकृयता बढ्नु अस्वभाविक पनि होइन । सकृयता बढ्छ । कति हदसम्म उनिहरुलाई डिल गर्ने, हाम्रो क्षमता कसरी बढाउने त्यो हाम्रो कुरा हो ।

    प्रचण्डको भारत भ्रमणलाई कसरी हेर्नुभएको छ ?

    पार्टी–पार्टीबीचको सम्बन्ध स्थापनाका लागि भ्रमण हुँदैछ । त्यसमा नेपालको सत्ता गठबन्धनका कुरा पनि हुनसक्छन् ।

    त्यसैले प्रचण्डको भ्रमणबाट अपेक्षा र निराशा केही गर्नुपर्दैन ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend