
काठमाडौँ : विद्युतीय ग्रिड आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडीबी) सँग १८ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।
अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा सरकारका तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफिस इन्चार्ज रुडी भ्यान डेलले हस्ताक्षर गरे ।
सम्झौतामा हस्ताक्षरपछि सहसचिव नेपालले विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनाको विद्युत् प्रसारण एवं वितरण प्रणालीमा सुधार गर्ने, विद्युत् ग्रिडको आधुनिकीकरण गरी विद्युत आपूर्तिलाई दिगो र भरपर्दो बनाउने तथा नेपाल विद्युत् प्राधिकरणको क्षमता विकास एवं सुदृढीकरण गर्ने उद्देश्य रहेको जानकारी दिए ।
विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनाको कुल लागत करिब २२ अर्ब ८१ करोड रुपैयाँ (अमेरिकी डलर १९५ मिलियन बराबर) रहेकामा बाँकी ४ अर्ब ५६ करोड रुपैयाँ (अमेरिकी डलर ३९ मिलियन बराबर) नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको स्रोतबाट व्यहोरिने उनको भनाइ छ ।
विद्युतीय ग्रिड आधुनिकीकरण आयोजनाबाट विद्युत् चुहावटका कारण हुने ऊर्जा नोक्सानीलाई न्यूनीकरण गरी बचत हुने अर्थ मन्त्रालयले जनाएको छ । यो आयोजनाको कार्यान्वयन नेपाल विद्युत् प्राधिकरणमार्फत हुनेछ ।
प्रतिक्रिया