
काठमाडौं : ‘म नेपाली नै हुँ, म नेपालकै लागि खेल्छु।’ गौरिका सिंहले भावविह्वल भएर यस्तै यस्तै भनेकी थिइन, एक वर्ष अगाडि काठमाडौंमा १३औं दक्षिण एसियाली खेलकुद (साग) चलिरहेका बेला। यस्तो किन पो भन्नु परेको थियो होला त रु सार खिच्दा यसले नेपाली खेलकुदमा नयाँ मानक भने तयार हुन्छ। विदेशी भूमिमा प्रशिक्षण लिँदै, अभ्यास गर्दै कोही अब्बल हुन्छ र उसले नेपालको प्रतिष्ठा बढाउने काम गर्छ भने त्यसलाई स्वागत गर्न किन कन्ज्युस्याइँ ?
कसैले तिनलाई कहाँ नेपाली होइन भन्न पाइन्छ र रु बरु उनले पाएको उपलब्धिमा खुसी भएर मन ठूलो पार्दा राम्रो। धन्य, गौरिकाले यस्तो फरक बाटो त खोलिदिएकी छन्। लन्डनमा बस्छिन्, पौडी खेल्छिन्, अनि नेपालको प्रतिधिनित्व गर्छिन्, त्यो पनि गौरवले। २०७६ मा नेपाली खेलकुदको इतिहासमा सबैभन्दा ठूलो अवसर केही हो भने त्यो १३औं साग नै हो।
सागको सबैभन्दा ठूलो केही नेपाली उपलब्धि छ भने त्यो गौरिकाले जितेको चार स्वर्ण नै हो। उनले नेपाली खेलकुद इतिहासकै सबैभन्दा ठूलो खेल महोत्सवमा चार स्वर्ण मात्र जितिनन्, दुई रजत र तीन कांस्य पनि जितिन्। अनि सबैको मन पनि। त्यसो त उनको यही प्रदर्शनमा खोट लगाउने पनि रहे। अनि त्यसैकै उत्तरमा त हो, गौरिकाले भनेकी, ‘म नेपाली नै हुँ, म नेपालकै लागि खेल्छु।’
अब कसैले औंला भाँचेर नेपाली खेलकुदका सबैभन्दा सफल खेलाडीको सूची बनाउँछ भने त्यसमा पक्कै गौरिकाको नाम पक्कै हुनेछ। त्यसैले त नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुन लागेको पल्सर स्पोर्ट्स अवार्डको लोकप्रिय खेलाडी विधामा उनको नाम पनि मनोनयन भएको छ। उनी यसका लागि हकदार त छिन् नै, अवार्ड जित्नका लागि बलिया प्रत्यासी पनि छिन्।
हुन पनि पछिल्लो समय नेपाली खेलकुदबाट धेरैले चिनेको अनुहारमा पर्छिन्, गौरिका। यसको पृष्ठभूमि तयार हुन सुरु भएको भने चार वर्ष अगाडिदेखि नै हो। हुन त त्यसको पनि अगाडि फुच्ची गौरिकाले नेपाली घरेलु पौडीमा तहल्का मच्चाइसकेकी थिइन्। तर उनको सबैभन्दा पहिले बलियो उल्लेखनीय प्रदर्शन सन् २०१६ मा भएको थियो, भारतमा भएको १२औं दक्षिण एसियाली खेलकुदमा।
गोवाहटीमा उनले नेपालका लागि एक रजत र तीन कांस्य जितिन्। उनले जितेको त्यो रजत नेपाली पौडीमा पहिलो ठूलो उपलब्धि रह्यो। त्यसपछि त्यही वर्ष ब्राजिलको रियो दी जेनेरियोमा उनले तहल्का नै मच्चाइन्। विश्व खेलकुदको महाकुम्भमा गौरिका नै सहभागी हुने सबैभन्दा कान्छी खेलाडी थिइन्। उनको चर्चा चारैतर्फ रह्यो।यत्तिको विश्वव्यापी चर्चा यसअघि अरू कोही नेपाली खेलाडीले कहिले पनि हासिल गरेकै थिएन्।
पछिल्लो दक्षिण एसियाली खेलकुदमा त उनले झन् गज्जब गरिन्, चार स्वर्णको उपलब्धिसँगै। अब त गौरिकाबारे मज्जाले भन्न सकिन्छ, उनी फगत चर्चामा मात्र रहिनन्, उनले आफूलाई सिद्ध पनि गरेकी छिन्।
प्रतिक्रिया