
काठमाडौं : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेपाल वायुसेवा निगमलाई समयसापेक्ष सुधार र परिवर्तनद्वारा उपलब्धिमूलक बनाउनु आवश्यक भएको बताएका छन्।
मन्त्री ढकालले मंगलबार निगमको स्थलगत निरीक्षण गरी उच्चपदस्थ कर्मचारीसँगको अन्तक्र्रियामा उक्त कुरा उल्लेख गरेका हुन्। उनले निगमको उन्नतिमा आफ्नो तर्फबाट हरसम्भव सहयोग हुने र राजनीतिक हस्तक्षेप नहुने विश्वास दिलाए।
उक्त अवसरमा पर्यटन सचिव यादव कोइरालाले राष्ट्रिय ध्वजावाहकको रूपमा अन्तर्राष्ट्रिय क्षेत्रमा गन्तव्य बढाउनुपर्ने भन्दै भएको स्थिर सम्पत्तिलाई आयमूलक क्षेत्रमा परिवर्तन गरी वित्तीय सुदृढतातिर लाग्न आग्रह गरे। निगम सञ्चालक समितिका अध्यक्ष सुशील घिमिरेले कोभिड—१९ ले ठूलै पीडा दिएको बेलामा पनि निगमले सक्रियतापूर्वक औषधि ढुवानीदेखि उद्धार उडानबाट उल्लेखनीय योगदान गरेको स्मरण गराए।
निगमको कार्यनीति, कार्यक्रम र गतिविधिबारे विस्तृत जानकारी गराउँदै निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले प्रशासन, पारदर्शिता, सूचना प्रविधिको विकास, जनशक्तिको उचित उपयोग र सीप विकाससहित अगाडि बढ्न निगम तदारुकताका साथ लागेको बताए।
प्रतिक्रिया