Online Nepal
  • मंगलबार, १३ मंसिर २०७९
  • अब जागिर खान नसकिने भो !

    अब जागिर खान नसकिने भो !

    कुमार दाहाल
    असार १२ २०७९, आइतबार
    1.8K
    SHARES

    सक्छौ जागिर नखाउ, सक्तैनौ जागिर खाउ झण्डामुनि बस, दरबार नपस– जसपाउ थापा । उनको यो कथन अहिलेपनि त्यतिकै बलियो छ । त्यतिखेर पनि जागिर खान गाह्रो थियो । दरबारलाई चित्त नबुझेमा जागिर पजनी हुन्थ्यो । काम होइन, चाकरी ठूलो थियो । भीम मल्ल, भीमसेन थापा इमान्दार थिए । पेसालाई दाउमा राखेर काम गरे । त्यसैले दरबारको दाउपेचमा परे । इतिहासमा यस्ता थुप्रै घटना छन् ।

    राजतन्त्र सिद्धिएपछि राजा मात्र होइन । एउटा दरबार पनि सिद्धियो । पहिले एउटा दरबारमा उपस्थिति जनाए पुग्थ्यो । अहिले दरबार छरिएका छन् । कुन दरबार हो र कुन होइन छुट्याउन गाह्रो छ । थाहा पाउन गाह्रो छ । त्यसरी नै जागिरे हरुलाई पनि दरबार चिन्न सजिलो छैन् । सबैलाई राजा बन्ने शोख छ । जागिर खाने रहर चलेको छ। निजामती सेवामा लोकसेवा पास गरेपछि जागिर सुरु हुन्छ । यो नै निजामती सेवाको प्रमुख योग्यता हो । त्यसपछि योग्यता बढेको वा घटेको मापन कहिले गरिदैन । केवल जागिर खाए पुग्छ । जागिर कसरी खाने व्यक्तिलाई परिस्थितिले आफैं सिकाउँछ । र क्रमशः जागिरे बन्दै जान्छ । जागिर पेसा बन्दै गएको छ ।

    अहिले जागिर आकर्षक बनेको छ । राजनीति नेतृत्वलाई सरुवा, बढुवा, नियुक्ति गर्न साह्रै मन पर्छ । कर्मचारितन्त्र यो विषय त्यति रुचाउँदैन । किनकि जागिर खाने बानी परिसकेको छ । राजनीतिमा रहर जाग्नु र प्रशासनमा रहर हराउनुले राजनीति उत्साह बढ्छ भन्ने कुरा कर्मचारीतन्त्रलाई राम्ररी थाहा छ । तर, जागिर खान थालेपछि यो क्रमश विलुप्त हुँदै जाँदो रहेछ । जागिर अहिले व्यापारमा परिणत भएको छ । जागिरे र विज्ञ छुट्टिन छाडेका छन् । विज्ञ हुने लोभमा जागिर बिर्सिदै गएको छ । सूचनाहरु बिक्री गरेर विज्ञहरु जागिरमा रमाएको देखिन्छ ।जताबाट पनि सरकारी ढुकुटीबाट जागिरेहरुको चयन छ ।

    जागिरेहरको सान सौकत नै फरक छ । जो जागिर मात्र खान्छन् उनीहरु जागिरे जस्ता देखिँदैनन् । तर तिनीहरू पनि जागीरे नै हुन् । त्यसैले होला नेपालमा जागिर प्रतिको मोह बढेको छ । तर, सँधैभरि नेपाली जनता तिनै जागिरेलाई गाली गर्छन् र भन्छन् जागिरे प्रवृति । यो प्रवृत्ति जताततै छ । सरकारी ,गैरसरकारी, निजी, न्याय, प्रहरी, व्यापार, पत्रकार ,व्यवसाय सबै क्षेत्रमा । किनकि वास्तविक जागिर खान त्यति सजिलो छैन् ।

    जागिर कसले खाने,कसले नखाने भन्ने विषय लगभग सकियो। राजनीति जागिर , पेशा वा सेवा के हो भन्ने विषयको सीमारेखा सकिएको छ । कर्मचारीले जागिरमा पेशा, सेवा वा व्यापार के गर्दैछ , छुट्टिन छाडेको छ । सबैतिर जागिर जीविका भएको छ । कहीँ कुनै क्षेत्र छुटेको छैन् । पिता पुर्खाले भन्थे । ‘उत्तम खेती ,मध्यम व्यापार, अधम जागिर ।’ तर अहिले उत्तम जागिर, मध्यम व्यापार र अधम खेति भएको छ । जागिर र खेतीको बिचमा व्यापार फस्टाएको छ । व्यापारीहरूले सबैलाई आफ्नै जागिरे बनाउन चाहेका छन् । खेतीमा चाहि जागिर फस्टाएन। किनकि त्यहाँ जागिरे प्रवृत्ति काम लाग्दैन । खेती पेशा हो । जागिर होइन । त्यसैले यो इमान्दार क्षेत्र अहिले पेशा बन्न सकेन । यसलाई पनि जागिरेहरुले ध्वस्त पारेर छाडिसके ।

    पहिले राजाको सिदुर पहिरिनु‌ गौरव मानिन्थ्यो । अहिले कसैलाई पनि राज्यको सिन्दूर पहिरिएको अनुभूति हुँदैन । कोही स्वतःस्फूर्त जागिरे बन्दै जान्छन् । कोही जागिर मात्र खान्छन् । कोहि जागिरे मात्र हुन्छन् । यो सीमारेखा नछुटिदा वास्तविक जागिरेहरु ओझेलमा परेका छन् । संगठनले न्याय देला भन्ने भर छैन् । आफैं न्याय खोज्न नहिड्ने जागिरेहरु संगठनभित्रै हराउँछन् । कर्मचारीतन्त्र भित्र वास्तविक जागिरे हरुलाई खोज्नु भनेको उत्प्रेरणा, मनोबल, उत्साह, उत्तरदायित्व र जिम्मेवारी बढाउनु हो । यो क्रमशः क्षयीकरण हुँदैछ । अब जागिर खान गाह्रो हुँदै गाएको छ ।

    अन्न, नुनको सोझो गर्दा अहिले कसैले पत्याउँदैनन् ।अहिले नून र गुन सकिएको छ । राम्रो काम गर्ने बरण्डामा पुग्छन् । जागिरेहरु मूल भान्सामा । र खटनपटन गर्छन् । भान्सामा कसरी पुगिन्छ भन्ने नबुझ्नेको के दोष? अरुले बुझ्ला भनेर आशा गर्नेहरु वास्तविक जागिरे होइनन् । यि त जागिर मात्र खान्छन्।जागिर बिस्तारै औपचारिक हुँदै गएको छ । ‘राजाको काम कहिले जाला घाम’ जताततै छ । नतिजा भन्दा नजिकमा बढी विश्वास बढेको छ । ठूलाठूला भ्रष्टाचारमा मुछिएका घटनाले कसैलाई लाजमर्दो बनाउँदैन ।

    पहिले ब्रह्मस्व, राजस्व , देवस्व मास्ने कर्मचारी वा नेता दुबै महापातकी मानिन्थे । अहिले यही स्रोत नै कर्मचारीतन्त्र ,राजनीति र निजीक्षेत्रको कमाउने र जागिर खाने मुख्य स्रोत भएको छ । पहिले यस्ता रकम मास्ने समाजबाट तिरस्कृत हुन्थे । त्यसैले समाज नैतिक थियो। यस्ता चरित्रलाई समाजले स्वीकार गर्दैनथ्यो। अहिले यस्ता वर्ग नै समाजमा बढी प्रभावी छन् । कर्मचारितन्त्र र राजनीतिमा सम्मानित छन् । पहिले पनि निश्चित वर्गको हालीमुहाली चाहि थिया े। उनिहरुकालागि राज्यका सबै स्रोत पारिवारिक थिए । वर्ग विभाजित थियो । इमान्दार वर्गले सम्मान पाउन कठिन थियो । इमान्दार सिपाहीले ‘हजुरको नजर बाङ्गो कि मेरो घाँटी चिलाएको रुख त बाँङ्गै छ’ भनेजस्तो साहस गर्ने त्यतिखेर केहि थिए। अहिले यो शब्द पनि उच्चारण हुँदैन । जसो जसो ब्राह्मण त्यसै–त्यसै स्वाहा । यो प्रवृत्तिले जागिर पेशा हुदै गएको छ । जागिर खान गाह्रो हुँदै गएको छ ।

    नेपालमा तलब समय र जागिर पर्याय जस्तै छन्,टेन टु फाइभ । सबैतिर जागिरको समय एउटै । बैक, निजीक्षेत्रको जागिर तलबको हिसाबले उच्च छ । तर, सम्मानित अझै हुन सकेको छैन् । अदालत, न्याय क्षेत्रको जागिर ,पेशामा नमुछिनु पर्थ्यो । यद्यपि यि विषय पनि प्रमुख समचार बन्दैछन । राजनीतिमा तलब, सुविधा र समयले महत्व नदिनु पर्थ्यो । समय र सेवा प्रमुख हुनुपर्थ्यो । यो क्षेत्रपा पनि तलब र समयले महत्व पाउँदै गयो । कर्मचारीतन्त्रको त लगभग विशेषता नै यही जस्तै भएको छ । योभन्दा माथि उठेर सोच्ने गरी अब सबैलाई जागिर गाह्रो भएको छ । जागिर खान नसकिने भो ।

    (दाहाल नेपाल सरकारका सहसचिव हुन् ।)


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend