Online Nepal
  • मंगलबार, २४ साउन २०७९
  • आठ महिनादेखि अचेत अभिषेक : उपचारमा ४० लाख सकियो, परिवारले माग्यो सहयोग

    आठ महिनादेखि अचेत अभिषेक : उपचारमा ४० लाख सकियो, परिवारले माग्यो सहयोग

    नेपालमञ्च संवाददाता
    असार १० २०७९, शुक्रबार
    1.9K
    SHARES

    काठमाडौं:  कावासोती नगरपालिका वडा नं. ४ का अभिषेक तिवारी कम्प्युटर इन्जिनियर बन्न चाहन्थे । काठमाडौं बसेर पढाउन सक्ने परिवारको आर्थिक अवस्था थिएन । एसईईपछि घर नजिकैको मध्यविन्दु बहुमुखी क्याम्पसमा कम्प्युटर साइन्स लिएर पढ्न थाले । कोरोनाका कारण बन्द रहेका शैक्षिक संस्था खुल्न थालेका थिए ।

    अभिषेक पनि साथीहरूसँग क्याम्पस पढ्न थाले । परिवारका एक्ला छोरा उनलाई मायाको कमी हुने कुरै भएन । अभिषेकले चाहना राखेका हरेक कुराहरु परिवारले भ्याएसम्म पुरा गरिदिदै आएको थियो । घरनजिकै क्याम्पस भएपनि उनलाई परिवारले मोटरसाइकल किनिदियो ।

    क्याम्पस–घरको दैनिकी उस्तै गरी चल्दै आएको थियो । अभिषेक इन्जिनियर बन्ने सपना साकार बन्दै गरेकोमा खुसी थिए । परिवार पनि उनको मेहनतमा उस्तै खुसी । समय सधैं एकनास कहाँ हुन्छ र ? नियमित दैनिकीमा एकदिन अकल्पनीय घटना भयो । परिवारले नसोचेको बज्रपात भोग्यो ।

    अघिल्लो वर्ष मङ्सिर ३ गते क्याम्पस सकेर अभिषेक घर फर्किदै थिए । उनी सवार मोटरसाइकल दुर्घटनामा प¥यो । ट्याक्टरले ठक्कर दिएपछि अभिषेक बेहोस भए । ८ महिना भयो अभिषेक दुर्घटनामा परेको । चितवन मेडिकल कलेज भरतपुरमा ६ महिना उपचारपछि पनि उनको स्वास्थ्यमा सुधार आएको छैन।

    उनको थेरापी भइरहेको छ तर उनी अझै अचेत छन् । होसमा आएका छैनन् ।आठ महिनादेखि निरन्तर उपचार गर्दा ४० लाखभन्दा पनि बढि खर्च भइसक्यो तर अभिषेक अझै अचेत छन् । छोराको उपचारमा भएको पैसा सकिएपछि यतिबेला परिवार नै बिचल्लीमा परेको छ ।

    उपचार गराउँदा गराउँदै भएको पैसा पनि सकियो , अब त उपाय नै छैन कसरी उपचार गराउने ? आमा मिना आमा मिना तिवारीले भनिन्, ‘पैसा सबै सकियो तर छोराको होस अझै आएको छैन ।’ श्रीमानको वैदेशिक रोजगारीको भरमा घरधन्दा चलाउनुपर्ने, जग्गा जमिन समेत थोरै भएकोले छोराको उपचार खर्च गर्न नसक्ने अवस्थामा पुगेको आमाको भनाई छ ।

    ‘१३ लाख रुपैयाँ ट्याक्टर धनीले दिएका हुन्, अरू पैसा छरछिमेकबाट सहयोग र सापटी लियौं,’ उनले भनिन्, ‘उपचार भइरहेको छ । अझै कति पैसा लाग्छ त्यो पनि थाहा छैन ।’६ महिना चितवन मेडिकल कलेजमा उपचार गरेपछि अहिले चितवन थेरापीमा उपचार भइरहेको छ ।

    ट्याक्टरको ठक्करबाट अभिषेकको टाउकोमा गम्भीर चोट लागेको थियो । अहिलेसम्म ४ पटक अप्रेसन गरेको मिनाले सुनाइन् । परिवारले थप खर्च गर्न सक्ने अवस्था नभएपछि सहयोगका लागि अपील गरेको छ । आमा मिनाले भनिन्, ‘अब ऋण लिएर पनि उपचार गर्न सक्ने अवस्था छैन । कति खर्च लाग्छ त्यो पनि टुंगो छैन ।’ परिवारले अभिषेकको उपचार खर्चको सहयोगका लागि कावासोतीस्थित सनराइज बैंकमा अभि तिवारीको नाममा रहेको खातामा रकम जम्मा गरिदिन आग्रह गरेको छ ।

    खातावालको नाम: अभि तिवारी
    बैंक : सनराइज बैंक, कावासोती
    खाता नम्बर : ११९१०२५२६५२०८००२
    आमा मिना तिवारीको मोबाइल नम्बर ९८४९३५५४४३ वा ९८२५४३४०८५


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend