Online Nepal
  • शनिबार, ११ असार २०७९
  • जसपा विभाजनको संघारमा : कुन पक्षको बहुमत ?

    जसपा विभाजनको संघारमा : कुन पक्षको बहुमत ?

    नेपालमञ्च संवाददाता
    असार ६ २०७९, सोमबार
    2.5K
    SHARES

    काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको बैठक अझै पनि अनिश्चित जस्तै देखिएको छ । जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई पक्षका नेताहरूले पार्टीमा देखिएको विवाद समाधानका लागि बैठकको माग राख्दै आएका छन् । स्थानीय चुनाव सकिएपछि पार्टीमा चुनावी समीक्षा समेत भएको छैन ।

    चुनावी समीक्षाको प्रतिवेदन जिल्ला–जिल्लाबाट आएपछि मात्र बैठक बस्ने जसपाको तयारी छ । जसपाका कार्यालय सचिवसमेत रहेका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले भने, ‘अहिलेसम्म चुनाव नै सकिएको छैन, जिल्लाहरूमा जिल्ला समन्वय समितिको चुनाव चलिरहेको छ ।’ त्यसको परिणामसहित समीक्षा प्रतिवेदन पठाउन जिल्ला कमिटीलाई भनिएको उनले बताए ।

    चुनावको समीक्षात्मक प्रतिवेदन आउने बित्तिकै पार्टीको बैठक बस्ने उनले बताए । यसअघि जेठ ३० गतेसम्म समीक्षा प्रतिवेदन पठाउन जिल्ला समितिहरूलाई सर्कुलर गरिएको थियो । तोकिएको समयमा सबै ठाउँबाट प्रतिवेदन आइपुगेको छैन । कतिपय ठाउँमा जिल्ला समन्वय समितिको चुनाव हुन बाँकी रहेको त्यहाँ चुनाव सकिएपछि मात्र प्रतिवेदन आउने अधिकारीको भनाइ छ ।

    संघीय परिषद्का अध्यक्ष डा.भट्टराई पक्षका नेताहरू भने चुनावी समीक्षाका लागि पर्खिने मुडमा छैनन् । उनीहरुले तत्कालै बैठक बस्नुपर्ने दबाब अध्यक्ष यादवलाई दिँदै आएका छन् । अध्यक्ष यादव भने बैठकलाई टार्दै आएका छन् । उनले जिल्ला जिल्लाबाट प्रतिवेदन आइसकेपछि मात्र बैठक बस्ने भन्दै आएका छन् ।

    पार्टीमा देखिएको विवाद बैठकबाट नै समाधान गर्ने बताए पनि बैठक कहिले बोलाउने भनेर निश्चित गरेका छैनन् । उनले पार्टीमा आफ्नो बहुमत सुनिश्चित नभएसम्म बैठक बसाउने पक्षमा देखिएका छैनन् । उता, अध्यक्ष डा.भट्टराईले आफूसँग बहुमत रहेको दाबी गर्दै आएका छन् । तर, उनले हस्ताक्षर गराउँदा बहुमत सदस्यले हस्ताक्षर गरेका छैनन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend