
काठमाडौं : नेपाल महिला संघको केन्द्रीय अध्यक्षमा सिर्जना सिंहको नाम चर्चामा आएको छ । नेपाली कांग्रेसको भ्रातृसंस्था महिला संघको केन्द्रीय कार्यसमिति विघटन भएपछि नयाँ तदर्थ समिति गठन गर्ने तयारी भएको हो ।
सभापति शेरबहादुर देउवाले विघटन गरिएका भ्रातृसंस्थाको कार्यसमिति छिट्टै गठन गर्ने तयारी सुरु गरेसँगै महिला संघको नेतृत्वमा सिर्जनाको नाम चर्चामा आएको हो । महिला संघका अध्यक्षसहित अधिकांश पदाधिकारी पार्टी केन्द्रीय सदस्य बनेका छन् ।
स्थानीय तह निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार बनेकी सिंहलाई महिला संघको अध्यक्ष बनाउनुपर्नेबारे पार्टी पदाधिकारी तहमै छलफल भएको हो ।
कांग्रेसको प्रमुख भ्रातृसंस्था महिला संघको नेतृत्वका लागि सिंह उपयुक्त हुने भन्दै उनलाई बनाउनुपर्नेमा सभापति शेरबहादुर देउवा पनि सकरात्मक छन् ।
पार्टीको केन्द्रीय समिति सदस्य भ्रातृसंस्थाको कार्यसमिति सदस्य बन्न नपाइने विधानको व्यवस्था अनुसार महिला संघको नेतृत्वको खोजी भएको हो ।
काठमाडौं महानगरको मेयरको उम्मेदवार भएपछि देशव्यापी चर्चामा आएकी सिंह नै संघको अध्यक्षका लागि उपयुक्त हुने दावी कतिपय कांग्रेस पदाधिकारीको छ ।
‘उहाँ पहिला महिला संघको जिल्ला अध्यक्ष भइसकेको मान्छे । पार्टीबाट महानगरको मेयरको उम्मेदवार पनि भइसक्नुभएको छ । अब पार्टीले उपयुक्त जिम्मेवारी दिनुपर्छ भन्नेमा बहस हुँदा महिला संघको नेतृत्वमा ल्याउनुपर्छ भन्ने मेरो सुझाव पनि हो,’ एक पदाधिकारीले भने, ‘त्यसमा सभापतिज्यू पनि सकरात्मक हुनुहुन्छ ।’
सिर्जना महिला संघ काठमाडौंको सल्लाहकार हुन् । महिला संघ काठमाडौंले नै सिर्जनालाई मेयर उम्मेदवारमा प्रस्ताव गरेको थियो ।
कांग्रेसले पटकपटक म्याद थप्दा पनि अधिवेशन गराउन नसकेका दश भ्रातृसंस्थाको कार्यसमिति विघटन गरेको थियो । कांग्रेसको फागुन ३ गतेको केन्द्रीय समिति बैठकले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, महिला संघलगायत दश भ्रातृसंस्थाको कार्यसमिति विघटन गर्दै एक महिनाभित्रै केन्द्रीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो ।
तर पार्टीले चार महिना पुग्न लाग्दा पनि नेविसंघ र तरुण दलबाहेकको कार्यसमिति चयन गर्न सकेको छैन । नेविसंघ र तरुण दलमा अध्यक्ष मात्रै नियुक्त भएका छन् भने बाँकी कार्यसमितिको टुंगो छैन । असार दोस्रो साताभित्र सबै भ्रातृसंस्थाको तदर्थ समिति गठन गर्ने गरी छलफल सुरु भइसकेको कांग्रेसका एक पदाधिकारीले बताए ।
कांग्रेसले नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल महिला संघ, नेपाल तरुण दल र नेपाल भूतपूर्व सैनिक संघको कार्यसमिति विघटन गरेको थियो ।
काठमाडौं महानगरको मेयरमा सत्ता गठबन्धनकी साझा उम्मेदवार बनेकी सिर्जना झण्डै तीन दशकपछि फेरि राजनीतिमा सक्रिय भएकी हुन् । कांग्रेस नेता प्रकाशमान सिंहकी धर्मपत्नी सिर्जना विद्यार्थी राजनीतिदेखि नै कांग्रेसमा सक्रिय भएपनि विहेपछि भने राजनीतिमा निष्क्रिय भइन् । पार्टी राजनीतिमा क्रियाशील नभएपनि उनले प्रकाशमानको राजनीतिक व्यवस्थापनमा भने सहयोग गर्दै आएकी छन् ।
राजनीतिमा प्रत्यक्ष रुपमा क्रियाशील नदेखिएपनि उनले सामाजिक सञ्जालमा सामाजिक र राजनीतिक विषयमा आफ्ना धारणा राख्दै आएकी छन् । २०३७ सालमा शंकरदेव क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा नेकपा माओवादी केन्द्रकी नेतृ एवं ऊर्जामन्त्री पम्फा भुषाललाई हराएर सिर्जना कोषाध्यक्षमा निर्वाचित भएकी थिइन् । उनी सोहि वर्ष नेपाल महिला संघ गोरखाको अध्यक्षसमेत बनेकी थिइन् । स्ववियू कोषाध्यक्ष निर्वाचित हुनुअघि नै उनी महाबौद्ध क्याम्पसको नेविसंघ एकाई सभापति भइसकेकी थिइन् ।
-
एकीकृत समाजवादीले मन्त्री परिवर्तनको सूचीमा हेरफेर नगर्ने
-
घरको छतबाट खसेर बालकको मृत्यु
-
कांग्रेसले गठबन्धनका अरु दललाई घाटा हुने गरी चलाखी गर्यो, अब चलाखी चल्दैन : पुन
-
आगामी निर्वाचनबाट राप्रपा नेपाल राष्ट्रिय पार्टी बन्छ : कमल थापा
-
बाम गठबन्धनको चर्चा चले पनि ओली प्रवृत्ति रहेसम्म कुनै सम्भावना छैन : वर्षमान पुन
-
‘म नेकपा एमाले भन्दिनँ, केपी ओली गुटमात्र भन्छु’ : झलनाथ खनाल
-
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु
-
नेपालका लागि नवनियुक्त भारतीय राजदूत श्रीवास्तव आइपुगे काठमाडौं
-
पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण पुष्टि
-
अविरल वर्षाका कारण पोखरा हेम्जाका ३०० भन्दाबढी घर डुबानमा