Online Nepal
  • शनिबार, ११ असार २०७९
  • प्रजातान्त्रिक आन्दोलनमा राजेश्वर निधि

    प्रजातान्त्रिक आन्दोलनमा राजेश्वर निधि

    परशु घिमिरे
    जेष्ठ ३० २०७९, सोमबार
    177
    SHARES

    माहात्मा गान्धीको भारत स्वतन्त्र आन्दोलनप्रति राजेश्वर निधिको सद्भाव थियो । छत्तर निधिका तीन छोराहरुमध्ये जेठा छोरा नेवैत निधिका सुपुत्र राजेश्वर निधि थिए । राजेश्वर निधिका तीन छोरा र तीन छोरी थिए । जेठा छोराको नाम दिवश नारायण निधि, माइला महेन्द्रनारयण निधि र कान्छा छोरा शिवनारायण निधि थिए ।

    राजेश्वर निधिका छोरीहरुमा राम सुन्दरी देवी, पार्वती देवी र लीला देवी थिए । महेन्द्रनारायण निधिका दुई छोरा छन्, नवेन्द्र निधि र विमलेन्द्र निधि । धनुषाको नगराइन क्षेत्रमा १३ वटा गाउँ पञ्चायत थिए, जसमा राजेश्वर निधिलाई अध्यक्ष बनाइएको थियो । निधिको पैतृक सम्पति २०२० सालसम्म १०४ विघा थियो । यद्यपी २०१९ सालमा राजेश्वर निधिको निधन भएको थियो ।

    परशु घिमिरे, वरिष्ठ पत्रकार

    वरिष्ठ अधिवक्ता युगलकिशोर निधि भन्नु हुन्छ– भारतीय स्वतन्त्रता सेनानी एवं लोकनायक जयप्रकाश नारायण राजेश्वर निधिलाई कलकत्ता गएका बेला भेट्न आएको अहिले पनि सम्झना छ । त्यस्तै भारतीय स्वतन्त्रता सेनानी एवं राजनीतिज्ञ विनोभा भावेसँग राजेश्वर निधिको भेटघाट बरोबर भइरहन्थ्यो । पूर्वीय ज्ञान/विज्ञानका प्रकाण्ड विद्वान् आचार्य विनोभा भावे (विनायक नारहरि भावे) सँग राजेश्वर निधिको उचित परामर्शसमेत हुने गरेको बताइन्छ ।

    भावेको ८७ वर्षको उमेरमा १५ नोभेम्बर, १९८२ मा निधन भएको हो । माहात्मा गान्धीबाट प्रभावित राजेश्वर निधि कुवा (पानीका लागि इनार) आपू जता गयो, उतै खनाउँनु हुन्थ्यो । वि.सं. १९७३ भदौ २४ गते (८ सेप्टेम्बर १९१४, भारतको वाराणासी) जन्मनु भएका बीपी कोइरालासँग राजेश्वर निधिको राम्रो जानपहिचान भएको थियो ।

    हजुरबुवा राजेश्वर निधि पनि तत्कालीन समयमा गान्धीको आदर्शबाट प्रभावित रहेर समाजसेवा र शिक्षाको प्रसारमा लागेको नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले बताएका छन् । कांग्रेसका पूर्व उपसभापति निधि भन्नु हुन्छ– मेरो हजुरबुबा राजेश्वर निधि राणाविरुद्ध भूमिगत रूपमा सक्रिय हुनुहुन्थ्यो ।

    राजेश्वर निधि तत्कालीन समयमा नेपालबाट गान्धी आश्रम पुगेका नेपाली महावीर गिरीका समकक्षी रहेका थिए । उनै महावीरसँग राजेश्वर निधि सन् १९३० को दशकमा गान्धीलाई भेट्न साबरमतीसमेत पुगेका थिए । साबरमती आश्रम भारतको गुजरात राज्य अहमदाबाद जिल्लाको प्रशासनिक केन्द्र अहमदाबाद नजिक साबरमती नदीको किनारमा छ ।

    सत्याग्रह आश्रमको स्थापना सन् १९१५ मा अहमदाबादको कोचरब नामक स्थानमा महात्मा गान्धीद्वारा गरिएको थियो । सन् १९१७ मा यो आश्रम साबरमती नदीको किनार, वर्तमान स्थानमा स्थानान्तरित भएको हो । र, सो समयदेखि साबरमती आश्रम भनिन थालिएको थियो । आश्रमको वर्तमान स्थल प्राचीनकालदेखि दधीचि ऋषिको आश्रम स्थल भएको इतिहासकारहरूले बताएका छन् ।

    महावीर गिरी नेपालबाट गान्धी आश्रम पुगेकी कृष्णमैया गिरीका सुपुत्र हुन् । सन् १९३० मा गान्धीले नेतृत्व गरेको दाण्डीमार्च (नामक सत्याग्रह) का मुख्य सहभागी ७९ मध्ये महावीर गिरी एक थिए । मूर्धन्य गान्धीवादी अनुयायी नारायणभाइ देसाईका अनुसार महावीर गिरी र भाइ धर्मवीर गान्धीको सान्निध्यमा हुर्किएका नेपाली थिए । उनीहरूका बारेमा सोधखोज हुन बाँकी नै छ ।

    पारिवारिक स्रोतका अनुसार महेन्द्रनारायण निधिका पिता राजेश्वर निधि पनि गान्धीवादी रहेका थिए । उनले पनि तत्कालीन समयमा शिक्षाको प्रसारका लागि विद्यालय स्थापना गरेका थिए। धनुषा जिल्लाको नगराइन र जदुकोह भन्ने स्थानमा २००४ सालमा विद्यालय स्थापना गरेका थिए।

    जनकपुर नजिकै नगराइनमा २००७ सालमा प्राथमिक विद्यालय खोल्नु भएको थियो, जसले २०११ सालमा मात्र बैधानिकता पाएको थियो । उक्त विद्यालयको नाम राजेश्वर निधि मावि राखिएको छ । प्रा. नवेन्द्र निधिका अनुसार जदुकोहाको उक्त विद्यालयको नाम अहिले राजेश्वर निधि उमावि बनेको छ ।

    को हुन् महेन्द्रनारायण निधि ?

    वि.सं. १९७८ फागुन १३ गते शिवरात्रीका दिन धनुषा जिल्लाको नगराइनमा जन्मनु भएका महेन्द्रनारायण निधि ‘सादा जीवन, उच्च विचार’युक्त जीवन बाँचेका थिए । त्यसैले कर्म र व्यवहारले उनी सच्चा गान्धीवादी थिए भन्न हामीलाई कर लाग्छ । महात्मा गान्धीको विचार र क्रान्तिबाट प्रभावित भएका महेन्द्रनारायण निधि नेपाली कांग्रेसका संस्थापक नेता थिए । उहाँलाई नेपालका गान्धी पनि भनिन्छ ।

    २००३ सालदेखि नेपाल राष्ट्रिय कांग्रेसबाट राजनीतिको शुभारम्भ गरेका निधिलाई २००७ सालको क्रान्तिका बेला पार्टीले जनकपुर, महोत्तरी र सर्लाही क्षेत्रको ‘जनसरकारको प्रधानमन्त्री’ पदमा नियुक्त गरेको थियो । २००४ सालमा उनी सत्याग्रहका पक्षपाती थिए भने २०१४ सालमा सत्याग्रही हुँदा गिरफ्तारी दिए ।

    ०१७ पुस १ गते नेपाली राजनीतिमा कालो इतिहासका रूपमा दर्ज छ । उक्त काण्डपछि नेपाली काँग्रेसको पटना सम्मेलनले सशस्त्र आन्दोलन गर्ने निर्णय ग¥यो । हिंसाको राजनीतिमा असहमति प्रकट गर्दै महेन्द्रनारायण निधि नेपाल फर्किएर गिरफ्तारी दिए ।

    असहमतिका बाबजुद २०४२ मा सत्यग्रहमा सहर्ष भाग लिएका थिए । त्यही जगमा ०४६ को शान्तिपूर्ण आन्दोलन हुन पुगेको हो । प्रदीप गिरिले भनेका छन्– ‘०२१ मा मैले निधिसँग हिंसा र अहिंसाका विषयमा बहस गरेको थिएँ । निधिले प्रष्ट भन्नुभएको थियो, म त गान्धीवादी हुँ ।’

    उनको आदर्श, चिन्तन र चरित्रमा एक रूपता पाइन्थ्यो । वर्तमान काँग्रेस नेतृत्वमा उल्लिखित गुणको अभाव छ । ०१५ सालको पहिलो संसद्मा किसुनजी सभामुख र जनकपुरको ४३ नम्बर क्षेत्रबाट ११ हजार ६४३ मत ल्याएर निर्वाचित महेन्द्रनारायण निधिलाई उपसभामुख बनाइएको थियो । राजा महेन्द्रद्वारा प्रजातन्त्रको अपहरणसँगै दुवैजना जेल परे । संयोग दुवैजना नख्खु जेलमा राखिए । दुवै अहिंसाका पक्षपाती थिए ।

    ‘जेलमै संसद् सञ्चालन गरौँ’ भन्नेसम्मको छलफल चलाएको स्मरण गर्ने गरिन्छ । ०३२ को आरम्भमा संविधान सुझाव समितिलाई बहुदलीय व्यवस्था र बालिग मताधिकारको माग गर्दा महेन्द्रनारायण निधि जनकपुरबाटै पक्राउ परेका थिए । गान्धीले सन् १९३२ मा पुना जेलमा रहँदा ब्रिटिस शासकसँग त्यसरी नै बालिग मताधिकारको प्रयोग र स्वतन्त्र रूपमा जनप्रतिनिधि चुन्न पाउनुपर्छ भन्ने माग गरेका थिए ।

    २०२१ सालमा जनकपुरमा पञ्चायतको कार्यक्रममा बोल्दै महेन्द्रनारायण निधिले भने, ‘ऐन–कानुन लेख्दैमा देशमा परिवर्तन आउन सक्दैन । त्यसको इमानदारीपूर्वक कार्यान्वयन हुनुपर्छ  ।’ उक्त सन्दर्भ स्मरण गर्दै वरिष्ठ पत्रकार राजेश्वर नेपालीले महेन्द्रनारायण निधिमा गान्धीमा जस्तै निर्भीकता रहेको बताएका थिए ।

    २००९ सालमा गान्धीवादी समाजसेवी तुलसी मेहरले जनकपुरको बसहियामा गान्धी आश्रमको स्थापना गरेका थिए । उक्त आश्रम स्थापनामा महेन्द्रनारायण निधिको पनि योगदान रहेको थियो । निधि विभिन्न सन्दर्भमा १२ पटक गिरप्तार हुनु भएको थियो, संयोग महात्मा गान्धी पनि जीवनमा १२ पटक जेल पर्नु भएको थियो ।

    राणाकालमा स्थानीय युवकलाई संगठित गर्न उनले कीर्तिनया मण्डली सञ्चालन गरेर गाउँगाउँमा रामलीला तथा भजनकीर्तनका माध्यमले स्थानीय युवकलाई राणा शासनविरुद्धको क्रान्तिमा ओराल्नु भएको थियो । २००८ देखि २०१० सालसम्म तत्कालीन महोत्तरी जिल्ला, जसमा हालको धनुषा, महोत्तरी र सर्लाही तीनवटा जिल्ला सम्मिलित थिएको काँग्रेस सभापति बन्नु भएको थियो ।

    २०१० देखि २०१५ सालसम्म पार्टीको संसदीय सचिवको रूपमा काम गर्नु भएका निधि २०१५ सालको आमनिर्वाचनमा तत्कालीन महोत्तरी जिल्लाको क्षेत्र नम्बर ४३ बाट प्रतिनिधिसभामा पहिलोपटक निर्वाचित भई उपसभामुख बन्नु भएको थियो ।

    २०१७ सालमा राजा महेन्द्रबाट प्रजातन्त्रमाथि प्रतिबन्ध लगाइएपछि प्रजातान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गिरफ्तार निधिले करिब १० वर्ष जेल जीवन बिताउँनु भएको थियो । र, २०१८, २०२६, २०२९ सालमा उहाँ लामो समय जेलमा बस्नु परेका थियो । अहिंसाका पक्षधर निधिले सुवर्णशमशेर र विश्वेश्वरप्रसाद कोइरालाले गरेको २०१८ र २०३१ सालको सशस्त्र संघर्षको खुलेरै विरोध गरेका थिए ।

    गान्धीको नेतृत्वमा भारतमा स्वतन्त्रता प्राप्तिको आन्दोलन चलिरहेको थियो । जयप्रकाश नारायण (जेपी) र राममनोहर लोहिया अग्रमोर्चामा थिए । बिहार पुगेका बखत महेन्द्रनारायण निधिको लोहियासँग भेट भएको थियो । लोहियाले भनेछन्– ‘म मारवाडी भएर राजनीतिमा लागेको छु, तपाँई कायस्थ भएर पनि व्यापारमा ?’ लोहियाको उक्त वचनले निधिलाई राजनीतिमा होमिन उत्प्रेरित ग¥यो ।

    जसरी गान्धीले गोपालकृष्ण गोखलेलाई राजनीतिक गुरु मान्थे, त्यसैगरी निधिले लोहियालाई राजनीतिक गुरु मान्नु भएको छ । निधिले जसरी लोहियालाई आफ्ना राजनीतिक गुरु मानेका छन्, त्यसैगरी महेन्द्रनारायण निधिका स्पुत्र विमलेन्द्र निधिले नेपाली काँग्रेसका नेतां पिता महेन्द्रनारायण निधिलाई आदर्श राजनीतिक गुरु मान्नु भएको छ ।

    नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि भन्नु हुन्छ– ‘पिताजीमा गान्धीको आदर्श र विचार मात्र नभएर आजीवन चरित्र पनि कायम रह्यो । गान्धीले जस्तै सत्य र अहिंसाको जगमा राष्ट्र पुनर्निर्माण हुनुपर्छ ।’


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार
    नयाँ अपडेट

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend