
फुटको संघारमा पुगेको नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई आफ्नो पक्षमा आउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता माधवकुमार नेपालले आग्रह गरेका छन्।
मंगलबार बिहान गौतमको भैंसेपाटी निवासमा पुगेर नेताहरूले आज दिउँसो बस्ने प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकमा सहभागी हुन उनलाई आग्रह गरेका छन्।
स्रोतका अनुसार वामदेवलाई भेट्न बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ भैंसेपाटी पुगेका हुन्।
‘उहाँहरूले गौतमलाई आजको बैठकमा आउनुस् भन्नुभयो। तर गौतमले आफू कुनै बैठकमा नजाने जवाफ दिनुभयो,’ गौतमनिकट केन्द्रीय सदस्य बलराम बाँस्कोटाले भने।
वामदेवले यसअघि नै आफू कुनै गुटको भेलामा नजाने बताएका थिए। संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई भने गौतमले दुर्भाग्यपूर्ण बताएका थिए।
प्रचण्ड-नेपालले बोलाएको बैठकमा गौतम नगए पनि उनीनिकट सांसद बाँस्कोटा भने सहभागी हुनेछन्।
प्रतिक्रिया