
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनका लागि पठाएको प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेपछि सेयर बजारमा उच्च गिरावट आएको हो ।
आइतबार बजार खुलेदेखि नै परिसूचकमा ठूलो उतारचढाव देखियो । राजनीतिक अस्थिरता आउने डरले लगानीकर्ताको मनोबल खस्किँदा नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ ।
कारोबार सुरु भएदेखि नै घटिरहेको बजारमा राष्ट्रपति भण्डारीले संसद् विघटन गरेको समाचार आएसँगै अन्तिम २५ मिनेटमा थप ४३ अंकको गिरावट दखियो । समग्रमा नेप्से ४ दशमलव ७७ प्रतिशत अर्थात् ९६ दशमलव ८८ अंकले घटेर एक हजार नौ सय ३५ दशमलव ६३ अंकमा बन्द भएको छ ।
‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४ दशमलव २५ प्रतिशत अर्थात् २६ दशमलव ३९ अंकले घटेर तीन सय ६९ दशमलव ५५ अंकमा झरेको छ ।
दिनभर एक सय ९८ कम्पनीको नौ अर्ब ४ करोड ७९ लाख २७ हजार रुपैयाँबराबरको एक करोड ४५ लाख नौ हजार पाँच सय ३३ कित्ता सेयर खरिद–बिक्री भएको छ । कारोबारमा आएका सबै समूहका सूचकहरू घटेका छन् ।
कारोबारमा आएका समूहमध्ये सबैभन्दा धेरै अन्य समूह ८ दशमलव ३९ प्रतिशतले घटेको छ ।
यस्तै, जलविद्युत् समूह ६ दशमलव ६८ प्रतिशत, निर्जीवन बिमा समूह ५ दशमलव ४८ प्रतिशत, जीवन बिमा समूह ५ दशमलव ०५ प्रतिशत, व्यापार समूह ४ दशमलव २८ प्रतिशत, विकास बैंक समूह ३ दशमलव ६९ प्रतिशत, बैंकिङ समूह २ दशमलव ९७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह २ दशमलव ९२ प्रतिशत, होटेल समूह २ दशमलव ६३ प्रतिशत, फाइनान्स समूह २ दशमलव ३५ प्रतिशत र म्युचुअल फन्ड समूहका शून्य दशमलव ९९ प्रतिशतले घटेको छ ।
नेप्से परिसूचकमा भारी गिरावट आए पनि १४ वटा कम्पनीका सेयरधनीले भने कमाएका छन् । युनाइटेड इदी–मर्दी आरबी जलविद्युतका सेयरधनीले झन्डै १० प्रतिशतले कमाएका छन् । सूर्योदय लघुवित्त वित्तीय संस्थाका सेयरधनीले १० प्रतिशतले गुमाएका छन् ।
यसबाहेक विभिन्न १२ कम्पनीका सेयरधनीले नौ प्रतिशतभन्दा बढी गुमाएका छन् । जसमध्ये नेरुडे लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त वित्तीय संस्था, छ्याङ्दी जलविद्युत्, अपर तामाकोसी जलविद्युत् कम्पनीलगायतका कम्पनीका सेयरधनी रहेका छन् ।
यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार सबैभन्दा धेरै एक अर्ब ६ करोड ८४ लाख ६३ लाख रुपैयाँबराबरको भएको छ ।
प्रतिक्रिया