Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • आईएनजीओको जागिर छोडेर निजामतीमा छलाङ मार्ने सहसचिव अरुणा जोशी

    आईएनजीओको जागिर छोडेर निजामतीमा छलाङ मार्ने सहसचिव अरुणा जोशी

    नेपालमञ्च संवाददाता
    बैशाख २८ २०७९, बुधबार

    मुलुक हाँक्ने सरकारको स्थायी संयन्त्र कर्मचारी प्रशासनमा महिलाहरूले आफ्नो क्षमता र विज्ञता प्रदर्शन गरी महत्वपूर्ण पद प्राप्त गर्न सफल भएका छन्। कुनैबेला महिलाले के गर्न सक्छन् र भनेर महिलाको दक्षतामाथि प्रश्न उठाउनेहरूले अहिले महिलाले निर्वाह गरेको भूमिका देखेर गर्व गर्न थालेका छन्।

    महिलाले राज्यको नीति निर्णायक तहमा रहेर आफ्नो कार्यकुशलता प्रदर्शन गरेको देखेपछि राज्यले पनि महिलाको क्षमताको कदर गर्दै महत्वपूर्ण जिम्मेवारी दिन थालेको छ। समाजले भने अझै पनि महिलाको दक्षता र कार्यकुशलतामाथि सजिलै विश्वास गरेको पाइँदैन।

    त्यसैले त राज्यको उच्च तहमा पुगेर गहन भूमिका निर्वाह गरेका महिलाले आफ्नो योगदान अनुरूपको सम्मान पाउन पुरुषलाई भन्दा कठिन भएको गुनासो गर्ने गर्छन्। परम्परागत सोच र पुरुषवादी प्रवृत्ति अझै पनि कायम रहेकाले महिलालाई उच्च तहसम्म पुग्न अनेकौ व्यवधान र चुनौतीको समाना गर्नुपरेको छ तर महिलाले हार नमानी हरेक प्रतिकूल परिस्थितिलाई आफू अनुकूल बनाउँदै कार्यक्षेत्रमा होमिएका छन्।

    यसरी नै विभिन्न चुनौतीलाई छिचोलेर आफूलाई अब्बल सावित गर्नुभएकी सहसचिव अरुणा जोशीले हाल प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अन्तर्गतको मानव अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखामा प्रमुखको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ। काठमाडौंको मध्यम परिवारमा जन्मनुभएकी अरुणाले विज्ञान विषयमा ‌प्लस टु, कानूनमा ५ वर्षे स्नातक र २ वर्षे स्नातकोत्तर गर्नुभएको छ।

    बुवा सरकारी जागिरे र आमा निजी विद्यालयको शिक्षिका भएकाले पढाइप्रति उहाँको लगाव गहिरिँदै गयो। सानैदेखि पढाइमा अब्बल अरुणा लैनचौरस्थित १०/१२ वटा विद्यालयको क्लस्टरमा सर्वोत्कृष्ट अंक प्रप्त गरेकाले योगनाथ स्मृति दिवसमा सम्मानित समेत हुनुभएको छ।

    पहिले अधिवक्ता बनेर मुद्दामामिलाको छिनोफानो गर्ने सोच बनाउनुभएकी अरुणा पछि भने निजामती सेवामा होमिनुभयो। २०६९ सालमा लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरेर न्याय सेवाअन्तर्गत कानून समूहमा शाखा अधिकृतको रूपमा निजामती सेवामा प्रवेश गर्नुभएकी अरुणाले छोटो समयमै द्रुतगतिमा सफलताको सिंढीहरू पार गर्दै लोभलाग्दो गरी वृत्ति विकास गर्नुभएको छ।

    उहाँ लोकसेवाको परीक्षा अर्थात् खुला प्रतिस्पर्धाबाट पहिलो प्रयासमै २०७४ सालमा उपसचिव र २०७८ सालमा सहसचिव हुनुभयो। निजामती सेवामा प्रवेश गरेपछिका अनुभवहरू उहाँ यसरी सुनाउनुहुन्छः

    हामी सरकारले यो गरेन, त्यो गरेन, देश डुब्यो, अब यहाँ केही हुँदैन भनेर जहिले पनि राज्यलाई गाली गरिरहन्छौ। यदि हामीले परिवर्तन चाहेको हो भने आफू पनि परिवर्तनको संवाहक हुनुपर्छ। निजामती सेवा राज्य, सरकार सञ्चालनको एक व्यवस्थित प्रणाली हो। यस प्रणालीभित्र हामी आएर कमसेकम आफ्नो जिम्मेवारीको कामलाई नतिजामुखी तवरले पूर्ण लगनशीलता र प्रतिबद्धताका साथ गर्न सके मात्र पनि समग्र प्रशासनमा सकारात्मक परिवर्तन आउँछ।

    अधिवक्ता बन्ने सोच थियो तर निजमतीमा मोडिएँ

    मैले विज्ञान विषयमा ‌+२ मा राम्रै अंक प्राप्त गरे पनि कानून विषयले मलाई आकर्षित गर्यो र एउटा सफल अधिवक्ता भै राष्ट्र र समाजमा केही योगदान गर्न सकिन्छ भन्ने उद्देश्यले कानून विषय पढ्न थालें। ५ वर्षे पढाइको अवधिमा समेत कहिल्यै लोकसेवा दिने निजामती सेवामा प्रवेश गर्ने सोच आएन। मेरो बुवा भने हामी छोराछोरीलाई सरकारी जागिर खानुपर्छ भनेर बेलाबेलामा भन्ने गर्नुहुन्थ्यो।

    उहाँ आफैं पनि सरकारी सेवामा नै हुनुहुन्थ्यो। उहाँको २०६४ सालमा निधन भयो। ५ वर्षे पढाइ सकेर स्नातकोत्तर पढ्दै गर्दा म अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा काम गरिरहेको थिएँ। स्नातकोत्तरका साथीहरू (उमेर र अनुभवमा म भन्दा ठुला दाइ दिदीहरू) ले लोकसेवा दिए हुन्छ भन्ने सल्लाह दिनुभयो। त्यही बेला मैले मेरो बुवाको इच्छा पनि सम्झें र एक पटक परीक्षा दिई हेरौं न त भनेर न्याय सेवा कानून समूहमा मात्रै फारम भरी परीक्षा दिएँ। हरेक परीक्षाका समयमा मेरो आमा, दिदी र भाइबाट पाएको हौसला नै मेरो प्रेरणाको स्रोत बन्यो।

    फूल कमिट्मेन्टसहित जिम्मेवारी पूरा

    निजामती सेवामा पहिलो पोष्टिङ कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको थियो। निजामती सेवामा प्रवेश गर्नु पूर्वमै छोटो समय काठमाडौं स्कूल अफ ल भित्रकै परियोजना (५ वर्षे स्नातक पढाइकै अवधिमा) र त्यसपछि युएनडीपीको एउटा परियोजना र अर्को एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गरेको थिएँ।

    ती कार्यालयको वातावरण, काम गर्ने शैली र निजामती सेवाको वातावरण र काम गर्ने शैली, कामको प्रकृति धेरै नै फरक भएको मैले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा हाजिर भएको पहिलो दिनमै अनुभव गरें। त्यही फरकपनमा आफ्नो जिम्मेवारीको काम फूल कमिटमेन्ट सहित गर्ने सोचें। शुरुमै सकारात्मक दृष्टिकोण राखेर आफ्नो तर्फबाट बेस्ट गर्छु भन्ने सोचेर काम गरेको हुँदा कुनै पनि दिन मैले असहज महसुस गर्नु परेन।

    कोहीले सरकारी सेवामा आएको भनेर निरुत्साहित गरे

    निजामती सेवा, सरकारी सेवा एउटा सिस्टम हो। यसमा तहगत संरचना र पदीय जिम्मेवारी तोकिएका हुन्छन्। कुनै पनि कार्यलाई नतिजामुखी बनाउन टिमवर्क आवश्यक हुन्छ। यही टिम भित्र रहेर काम आफ्नो जिम्मेवारीलाई मैले सधैं लगनशीलताका साथ पूरा गरें। कहिल्यै पनि आफ्नो जिम्मेवारीबाट भागिन।

    यहाँ समस्या र चुनौती दुवै छन्। शुरुमै यस्तो सेवामा आउनु भएछ यहाँ केही छैन, किन आएको भनेर निरुत्साहित गरेका केही तीता अनुभव मसँग छन्। त्यसपछि हरेक काममा पहिला त महिला, यसले के नै गर्न सक्ली र भनेर सोच्छन्।

    पुरुष प्रवृत्ति हावी छ

    निजामती सेवा भित्र पनि कतै न कतै विभेदपूर्ण व्यवहार र पितृसतात्मक सोच कायम छ। हामीले जतिसुकै समावेशी सहभागिता भनेर नारा लगाए पनि अझैसम्म पुरुष प्रवृत्ति हावी छ। महिलालाई हाकिमले अलि डोमिनेट गर्न खोज्ने प्रवृत्ति छ नै। शुरु शुरुमा मलाई कोही कोहीबाट यस्तै फिल भएको हो तर आफ्नो कामले मैले आफूलाई अब्बल सावित गरेपछि त्यस्ता व्यवहार हराए।

    हामीले पनि काम गर्ने सवालमा महिला हुँ भन्ने सोच्नु हुँदैन रहेछ। म त जिम्मेवार अधिकृत, उपसचिव, सहसचिव हुँ भनी आत्मविश्वासका साथ काम गरे कसैले हेप्ने वा डोमिनेट गर्न नसक्ने रहेछन्। म गर्व साथ भन्छु मेरो तहका धेरै पुरुषहरू भन्दा म राम्रो काम गर्छु र गर्दै रहनेछु।

    थुप्रै अवसर, तालिम र फेलोसिप प्राप्त गरें

    सेवा प्रवेश गरेपछि मैले आफ्नो व्यावसायिक विकासका लागि थुप्रै अवसर पाएँ। ती मध्ये केही उल्लेखनीय नै छन्। म अन्य राष्ट्रका प्रतिस्पर्धीसँगको प्रतिस्पर्धामा लिखित र अन्तरर्वाताको परीक्षा समेतबाट छनौट भई स्वीट्जरल्याण्डको जेनेभास्थित एड्भाइजरी सेन्टर अन डब्लुटीओ ल मा पहिलो पटक नेपालको तर्फबाट जुनियर काउन्सेलको रूपमा ९ महिने तालिममा सहभागी हुने अवसर पाएँ।

    त्यसैगरी, युएनको फेलोसिप अन इन्टरनेशनल ल दि हेग दि नेदरल्याण्डमा समेत छनौट भई सहभागी भएँ। साथै नेपाल सरकारको प्रतिनिधिको रूपमा विभिन्न द्विपक्षीय र बहुपक्षीय सन्धिका वार्ता टोलीमा सहभागी हुने अवसर पाएँ। यसका अलावा नेपालका विभिन्न दुर्गम जिल्लाका स्थानीय तहमा कानूनी शिक्षा सचेतना कार्यक्रम सञ्चालन गर्दा नेपाल बुझ्ने, विभिन्न व्यक्ति, समुदायसँग अन्तरक्रिया गर्ने अवसर पाएँ।

    यी सबै अनुभवले मेरो व्यक्तित्व विकासमा मात्र नभई सकारात्मक सोच र प्रवृत्तिबाट सिस्टमको एक भाग भई काम गर्दा परिवर्तन गर्न सकिदो रहेछ भन्ने लाग्यो। शाखा अधिकृतबाट उपसचिव हुँदा जिम्मेवारीसहित नीति, कानून निर्माणमा संलग्नता बढेको थियो। हाल सहसचिव हुँदा जिम्मेवारी थप बढेको छ।

    आफूले काम र पढाइको सिलसिलामा देखेका, बुझेका र सिकेका कुराले आफ्नो कार्यक्षेत्रमा नीतिगत रूपमा नै प्रयोग गर्न पाउने कुरामा म विश्वस्त छु। यस क्षेत्रमा प्रवेश गरेदेखि अहिलेसम्म खासै गुनासा छैनन्। कार्यालयमा आफूभन्दा माथि, आफूसँगै तथा आफू भन्दा तल सबैबाट साथ र सहयोग पाएर नै काम गरिरहेको छु। आफूले सबैसँग राम्रो बोली र आचरण गरेमा आफूलाई पनि त्यस्तै हुन्छ भन्ने विश्वासले अहिलेसम्म मेरो जीवनमा काम गरेको छ।

    महिलाहरू परिवर्तनको संवाहक बन्नुपर्छ

    महिला भएको नाताले हेर्ने हो भने चाहिँ केही अप्ठ्यारा परिस्थिति नआएका होइनन्। प्रगति गर्दै गए पनि समाजबाट सो अनुरूपको विश्वास पाउन महिलालाई कठिन नै छ।

    हामी सरकारले यो गरेन, त्यो गरेन, देश डुब्यो, अब यहाँ केही हुँदैन भनेर जहिले पनि राज्यलाई गाली गरिरहन्छौ। यदि हामीले परिवर्तन चाहेको हो भने आफू पनि परिवर्तनको संवाहक हुनुपर्छ। निजामती सेवा राज्य, सरकार सञ्चालनको एक व्यवस्थित प्रणाली हो। यस प्रणालीभित्र हामी आएर कमसेकम आफ्नो जिम्मेवारीको कामलाई नतिजामुखी तवरले पूर्ण लगनशीलता र प्रतिबद्धताका साथ गर्न सके मात्र पनि समग्र प्रशासनमा सकारात्मक परिवर्तन आउँछ। हामीले सोचेको जस्तै समृद्ध र सुखी समाज बनाउने दायित्वमा योगदान गर्न सकिन्छ। यस क्षेत्रमा धेरै भन्दा धेरै महिलाहरू आउनु जरुरी छ किनभने राज्यको स्थायी संयन्त्रमा मार्फत राष्ट्रको विकासमा महिलाको योगदान अपरिहार्य भएको छ।

    श्रोत : आइएनएस-स्वतन्त्र समाचार


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend