Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • काठमाडौं महानगरमा कांग्रेसको अवस्था बलियो देख्छु : एमाले सांसद रामवीर मानन्धर

    काठमाडौं महानगरमा कांग्रेसको अवस्था बलियो देख्छु : एमाले सांसद रामवीर मानन्धर

    नेपालमञ्च संवाददाता
    बैशाख २७ २०७९, मंगलबार

    देश स्थानीय तह निर्वाचनको संघारमा छ । वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि मुख्य त दुई धार गठबन्धन गरेर अघि बढेको छ । सत्तारुढ पाँच दलीय गठबन्धनका रुपमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त उम्मेदवारी दिएका छन् । त्यसैगरी, नेकपा एमालेको नेतृत्वमा पूर्व पञ्चहरुको हिन्दुवादी दल राप्रपा नेपाल र कृश्चियन पार्टीले मिलेर उम्मेदवारी दिएका छन् ।

    हामीले अवलम्बन गरेको निर्वाचन प्रणालीमा गठबन्धन अपरिहार्य हुन्छ । तर, कुन गठबन्धन कसरी बन्यो भन्ने कुरा महत्वपूर्ण मानिन्छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि बनेका दुई ठबन्धन निर्माणको आवश्यकता र महत्व निर्वाचन चित्ने प्रयोजनका लागि मात्र बनेको छैन ।

    केपी ओलीको संवैधानिक कदमले सत्तारुढ गठबन्धन जन्मायो । त्यसैको जवाफमा एमालेले धार्मिक अतिवादी शक्ति जम्मा पारेर गठबन्धन गर्ने प्रयत्न गर्यो । तर, एमाले गठबन्धनको खास अर्थ छैन । किनकी, एमाले गठबन्धका सारथी दुवै दलको हालत प्रष्ट छ ।

    असंवैधानिक कदम हुँदै एक्लिएको एमालेमा टिकट वितरण पनि मनोमानि रुपले भयो । एमाले नेता कार्यकर्ताले नै मनोमानि भएको भन्दै विरोध गरे । यस्तो अवस्थामा निर्वाचनमा होमिएको एमालेले कस्तो परिणाम हात पार्ला ? यसै विषयमा नेकपा (एमाले)का नेता रामवीर मानन्धरसँग संवाद गरिएको छ । मानन्धनरसँगको संवाद मुख्य काठमाडौंको निर्वाचनसँग केन्द्रित छ ।

    काठमाडौँको निर्वाचनलाई कसरी हेर्नुभएको छ ?

    देशको राजधानी काठमाडौँको कुरा गर्न चाहन्छ । काठमाडौंमा एउटा महानगरपालिका र १० वटा नगरपालिका छन् । २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा (एमाले)ले ७ वटा र नेपाली कांग्रेस ४ वटा स्थानीय तह जितेको थियो । ३२ वडा रहेको काठमाडौँ महानगरपालिकामा हाल ३ लाख ३ सय २६ मतदाता छन् । अघिल्लो चुनावमा काठमाडौँ महानगरपालिकामा २ लाख ७९ हजार ३ सय ९ मतदाता थिए । १ लाख ९७ हजार २ सय २७ मत खसेको थियो । जसमध्ये २९ हजार ९ सय ४१ मत बदर भएको थियो । ०७४ को निर्वाचनमा मेयरमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्यले ६४ हजार ९ सय १३ मत ल्याएर जित्नुभयो भने, उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गीले ५८ हजार ९ सय ५२ मत ल्याएर जित्नुभएको हो । कांग्रेसकी खड्गीभन्दा एमालेका शाक्य मत ६ हजार मात्रले मात्र अगाडि हो । काठमाडौँमा कांग्रेस कमजोर छैन । गठबन्धनले कांग्रेसलाई थप बलियो बनाएको छ ।

    वडाको अवस्था कस्तो छ ?

    वडागतरुमा केही तथ्य भन्न चाहन्छु । वडा नं. १ मा एमालेका भरतलाल श्रेष्ठले ३–४ सय मतान्तरले मात्रै जित्नुभएको थियो । वडा नं. २ मा एमालेका राजेन्द्र श्रेष्ठले ७–८ सय मतान्तरले जित्नुभएको थियो । वडा नं. ३ मा एमालेका दीपक केसीले १५ सय मतान्तरले जित्नुभएको थियो । केसी अहिले नेकपा (एकीकृत समाजवादी)बाट कलम चिन्ह लिएर चुनावी मैदानमा हुनुहुन्छ । वडा नं. ४ मा मोहनबहादुर विष्ट ४–५ सय मतान्तरले विजयी हुनुभएको थियो । तर, विष्टले यसपटक टिकट पाउनुभएको छैन । वडा नं. ५ मा कांग्रेसका रमेश डंगोल पनि झिनो मतान्तरले विजयी हुनुभएको थियो । वडा नं. ६ मा कांग्रेसका दीपेन्द्र लामा ६ सय मतान्तरले विजयी हुनुभएको थियो । अरु वडाको अवस्था पनि यस्तै छ । धेरै मतान्तरले कुनै पनि वडामा जितहार भएको छैन । नेकपा (एकीकृत समाजवादी) र एमालेको भोट बैंक एउटै हो । त्यसकारण एमालेको भोट काटिएर गठबन्धनको पक्षमा जाने निश्चित छ । अरु कुरा छाडौँ, माओवादी केन्द्र र एकीकृत समाजवादी मात्रै मिले भने पनि एमाले पत्तासाफ हुन्छ ।

    उदाहरणका लागि म दुईपटक वडाध्यक्ष भएको वडा नं. १६ लाई नै हेरौँ न । २५ वर्षदेखिको प्रधानपञ्च शारदाप्रसाद भट्टराईलाई २०४९ सालमा मैले जम्मा ९० मतले मात्रै हराएको थिएँ । तेस्रो स्थानको एमालेबाट मैले जित्दा कांग्रेस तेस्रो बनेको थियो । ०५४ सालमा अहिलेको वडाध्यक्ष मुकुन्द रिजाल नै मसँग चुनाव लड्नु भएको थियो । रिजालले १८ सय मत मात्र मात्रै ल्याउँदा मैले ५८ सय मत ल्याएर जितेको हुँ । ०७४ सालसम्म आइपुग्दा ४३ सय हाराहारी मत ल्याएर रिजालले जित्नुभयो । करिव ७० मतको फरकले एमालेले निर्वाचन हार्न पुग्यो । यहाँ गठबन्धन हुँदा एमालेको हालत के हुन्छ ? गठबन्धन हुँदा कांग्रेसको त प्लस हुने नै भयो । अब तपाईं आफैँ आँकलन गर्नुस्, काठमाडौँमा गठबन्धन हुँदा एमालेले कति मतान्तरले हार्छ ? म त काठमाडौँमा एमाले ‘क्लिन स्वीप’ हुने अवस्था देखिरहेको छु ।

    काठमाडौंका अन्य नगरपालिकाको अवस्था पनि महानगरकै जस्तो हो कि फरक होला ?

    काठमाडौँको सबै पालिकाको अवस्था उस्तै हो । काठमाडौँको सबैभन्दा कम मतदाता भएको नगरपालिका कागेश्वरी मनोहरा हो । त्यहाँ २०७४ मा २७ हजार ९ सय २९ जना मात्रै मतदाता थिए । एमालेका कृष्णहरि थापाले ८ हजार ९ सय ६९ मत ल्याएर विजयी हुनुभएको थियो । उहाँको मतान्तर जम्मा ४–५ सय मात्रै थियो । अहिले उहाँ कलम चिह्न लिएर नेकपा (एकीकृत समाजवादी)बाट निर्वाचनमा उठ्नुभएको छ । कीर्तिपुर नगरपालिकाकै कुरा गरौँ न । ७ हजार ३ सय ६० मत ल्याएर करिव ६ सय मतान्तरले एमालेका रमेश महर्जनले निर्वाचन जित्नुभएको हो । अहिले रमेशले टिकट पाउनुभएको छैन । त्यहाँ एमालेले कस्तालाई टिकट दिएको छ, तपाईं आफैँ हेर्नुहोला ।

    एमालेले काठमाडौँका प्रायः सबै पालिकामा उम्मेदवार दोहोर्याउँदा काठमाडौँमा विद्यासुन्दर शाक्य र कीर्तिपुरमा रमेश महर्जन मात्रै किन छुट्नुभयो ?

    एमालेमा अहिले बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन भनेजस्तै भएको छ । काठमाडौँमा शाक्यले भित्री रुपमा धेरै काम गर्नुभएको छ । वडा–वडामा भएका काम मेयरकै कारण भएको हो । मेयरले नचाएको अवस्थामा वडा–वडामा विकास सम्भव छैन । अहिले मेयर कार्यकारी हो भने वडाध्यक्ष म्यानेजर मात्रै हुन् । एमालेले काठमाडौँ महानगर र कीर्तिपुर नगरमा जालझेल गरेको छ । अरु सबै ठीक, दुई जना (विद्यासुन्दर शाक्य र रमेश महर्जन) मात्रै बेठीक ? शाक्य र महर्जनको ठाउँमा कसलाई ल्याइएको छ भन्ने पनि हेर्नुपर्छ । इमान्दार कार्यकर्तालाई पन्छाएर विवादित व्यक्तिलाई एमालेले किन बोक्दै छ ? यसको जवाफ केपी ओलीले दिनुपर्छ ।

    मिटु (यौन दुव्र्यवहार) आरोप लागेका केशव स्थापितलाई एमालेले काठमाडौँको मेयरको टिकट दिएकोमा तपाईंको असन्तुष्ट हो ?

    अहिले सामाजिक संजालहरूमा धेरै कुरा आइराखेका छन् । मिटुको कुरा उठ्ने बितिक्कै स्थापितलाई रिसाउनुपर्ने कुरा थिएन नि । कसैलाई ‘तिम्रो फेस राम्रो छ, तर थुतुनो ठिक भएन’ भनेर गाली गर्न आवश्यक छैन ।

    कुनै पनि दिदीबहिनीले आफ्नो अस्मितासँग खेल्न चाहालान र ? होइन भने, होइन भनेर जवाफ दिन सक्नुपर्छ । किन झर्केर–फर्केर जवाफ दिनू ? विचारको शुन्यता भएपनि मान्छे रिसाउँछ । एउटा दिदीबहिनीले उठाएको प्रश्नको जवाफ सभ्य ढंगले नदिएर हामीजस्ता कार्यकर्ताको मनोबल गिराउने काम स्थापितले गरेका छन् । ‘रिसको भाँडो हुँ, कराते खेलेको छु’ भन्नुपर्ने आवश्यकता थियो र ? अझ जनताले स्थापितलाई ठूलो कुरो त सोधेकै छैनन् ?

    त्यो ठूलो कुरो चाहिँ के हो नि ?

    बसपार्क ५० वर्षसम्मका लागि कसरी लिजमा दिनुभयो ? धरहरा कसलाई कसरी लिजमा दिनुभयो ? सुन्धाराको पानी सुक्ने गरी काठमाडौँ मल कसरी बनाउन दिनुभयो ? भनेर सोध्दा स्थापितको जवाफ के हुन्छ ? नक्सापासदेखि, कसको जग्गा थियो ? के थियो भन्ने इतिहास खोलिदियो भने उहाँले के गर्नुहुन्छ ? काठमाडौँ महानगरपालिकाभित्र बनेको आकाशे पुलको ठेक्का कसलाई दिइएको थियो ? भनेर सोध्यो भने जवाफ के दिनुहुन्छ ? माइतीघर मण्डला बनाउन कति रुपैयाँ लाग्नेमा कति खर्च गर्नुभयो भनेर सोध्दा उहाँको जवाफ के हुन्छ ? माइतीघरका घर कस्ता थिए, कति रुपैयाँको बिल पेश भएको थियो भनेर सोध्यो भने के हुन्छ ?

    ती काममा स्थापितबाट भ्रष्टाचार भएको थियो ?

    यी विषयमा कहाँ–कहाँ मुद्दा छन् ? के–के भएको थियो भन्ने तपाईंहरू खोज्नुस् । अभियन्ताहरूले पनि खोजबिन गर्दा हुन्छ । यो कति वर्ष अघिको कुरो हो भनेर सुख पाइन्छ र ? कुनै विषय उठ्यो भन्दैमा रिसाएर, झम्टेर पार्टीकै बदनाम हुने गरी प्रस्तुत हुन पाइन्छ ? मिटुको प्रश्न उठ्दैमा स्थापितले जुँडो र करातेको पोजिसन किन देखाउनुपर्यो ? गल्ती गर्नेलाई जोगाउने पक्षमा म चाहिँ छैन ।

    पार्टी अध्यक्ष ओली त स्थापितको बचाउमा लाग्नुभएको छ त ?

    पार्टीले खडा गरेको उम्मेदवार भनेर जे मन लाग्यो, त्यही बोल्ने हो र ? जहाँ मन लाग्यो, त्यही जाने, जे मन लाग्यो, त्यही गर्ने भएपछि कार्यकर्ताले जोगाएर राख्नुपर्छ भन्ने छैन । २१औँ शताब्दीका कार्यकर्ताले गल्तीलाई गल्ती नै भन्नुपर्छ । सहीलाई सही नै भनेर हिड्नुपर्छ । हिजो बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँगको झगडा हो कि मिटुको हो ? त्यसलाई जोडेर प्रश्न उठ्यो भने नेताहरूले पनि जवाफ त दिनुपर्ला नि ? मन्त्रीबाट निकाल्नुको कारण के हो ? यदि, आज मेयरको दाबेदार बनाउनु थियो भने हिजो मन्त्रीबाट घोक्रेठ्याक लगाएर स्थापितलाई किन निकालेको ? आँखाभरी आशु पारेर निस्केको तपाईं–हामी सबैले देखेकै होइन र ? त्यसको जवाफ त पार्टीले दिनुपर्छ नि । हिजो खराब भनेर कारबाही गर्ने अनि आज स्वच्छ, पवित्र छ भनेर टिकट दिने ? यस्ता विवादित पात्रका लागि इमान्दार कार्यकर्ता पार्टीबाट लखेटिनुपर्ने हो र ?

    स्थापितको उम्मेदवारीमा एमालेकै कार्यकर्तामा असन्तुष्टि किन चुलिएको हो ?

    कम्युनिष्टलाई बिगार्ने को–को हुन ? प्रजा परिषदको अध्यक्ष को बन्यो ? ०५९ सालमा राजाले सत्ता हातमा लिएपछि तत्कालीन राजाको टिके मेयर को बन्यो ? राजतन्त्र ढलेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग मित लगाएर काठमाडौँ उपत्यका विकास प्राधिकरणको कार्यकारी प्रमुख को बन्यो ? बाबुराम भट्टराईले घर भत्काउन भनेर प्राधिकरणको प्रमुख बनाउँदा के–के काम भयो ? स्थापितबाट भएका यी काम काठमाडौँका जनताले भुलिसके र ? म त सत्य बोल्ने मान्छे हुँ । पार्टी निर्माणका लागि धेरै रगत, पसिना बगाएको छु । ताली बजाउन दुईटा हात चाहिन्छ । म एउटा ताली हुँ, पार्टी अर्को ताली हो । मैले ३० वर्षदेखिको मेरो बफादारिता, इमान्दारिता खोज्नुस भनेको छु । बसपार्क ५० वर्षका लागि लिजमा दिनुहुँदैन भनेर कराउने मान्छे मै हुँ ? जापानले उपहारमा दिएको एउटा बसपार्क टुक्राटुक्रा पारेर सव–लिजमा दिइएको छ । सर्वोच्चमा यो मुद्दा के भइरहेको छ ? त्यो पनि हेर्नुस ।

    तर, केशव स्थापित त ०५४ सालमै ८४ हजार भोट ल्याएर जितेको हुँ, अहिले पनि सहजै जित्छु भन्दै छन् त ?

    भन्न त पाइन्छ । तर, हामी तथ्य र प्रमाणमा जानुपर्छ । २०४९ सालमा केशव स्थापित काठमाडौँको उपमेयरमा हारेको होइन र ? पिएल सिंह र नविन्दराज जोशीसँग हारेको चाहिँ जोड्नु पर्दैन ? २०५४ मा केशव स्थापितको कारण एमालेलाई भोट आएको होइन । अहिले विद्यासुन्दर शाक्यले पनि निर्वाचन जितेको होइन र ? कसैले दम्भ र घमण्डको कुरा गर्छ भने छाता चुनाव चिह्न लिएर स्थापितले २०७० सालमा कति भोट ल्याउनुभयो ? एमालेका उम्मेदवार योगेश भट्टराईले ११ सय ३७ मत ल्याएर कांग्रेससँग हार्दा स्थापित तेस्रो भएको होइन ? एमालेका निष्ठावान कार्यकर्ता के गर्दै छन् ? जनता के भन्दैछन् भन्ने पनि हेक्का राख्नुपर्छ । त्यसैले यति, उति भोटको दम्भ नगरेकै बेस हुन्छ । खोलामा पानी धेरै बगिसक्यो । हिजोको ५१ सालको मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकारको लोकप्रिय कार्यक्रम ‘आफ्नो गाउँ आफैँ बनाऔँ’, वृद्धभत्ता, ‘नौ स’ लगायतका कामले ०५४ सालको निर्वाचनमा पार्टीले जितेको थियो । ०७४ सालको निर्वाचनपछि के परिणाम आयो त ? कम्युनिष्टहरू एक ठाउँमा बस्न सके त ? त्यो कुरा पनि हेर्नुपर्छ नि ।

    अहिले एमालेको स्वार्थ चाहिँ के हो त ?

    काठमाडौँ जिल्लाको एमाले नेतृत्व पार्टी सिध्याउन मिलेको छ । कृष्णगोपाल श्रेष्ठ, कृष्ण राई, दीपक निरौला होस् या केशव स्थापितहरू नै किन नहुन । केन्द्रीय सदस्यहरूले नै एमाले सिध्याउने कोसिस गरिरहेका छन् । म दुई पटक निर्वाचित सांसद, मन्त्री भइसकेको कार्यकर्ता, पार्टीको प्रदेश कमिटी सदस्य । उम्मेदवारबारे मलाई एक पटक सोध्नु पर्दैन ? मेरो नाम लिने जो कोहीलाई सिध्याउन खोज्ने ? के मैले पार्टी सिध्याएको हो ? पार्टी सिध्याउन लाग्नेहरू पार्टीभित्रकै रअका एजेन्ट नै हुन कि भन्ने लाग्छ । हेर्नुहोला, एकजना पनि काठमाडौँको कार्यकर्तालाई नेतृत्वदायी भूमिकामा एमालेले राखेको छैन । अनि कसरी पार्टी बलियो बन्छ ? एमालेलाई जसरी पनि सिध्याउने योजनामा कृष्णगोपाल, दीपक, कृष्ण र केशवजस्ता मान्छे लागेको कुरा अब लुकाएर लुक्दैन । चुनावपछि एमाले कहाँ पुग्छ हेर्नुहोला ।

    चुनावपछि एमाले पत्तासाफ नै हुने अवस्थामा पुगेको हो त ?

    इमान्दार कार्यकर्ताको मूल्यांकन नै गर्न छाडेपछि, कार्यकर्ताको मनोबल, इच्छा र आकांक्षा नै नेतृत्वले नबुझ्ने भएपछि के हामी कार्यकर्ता लेवी तिर्न मात्रै हो र ? के हामीजस्ता कार्यकर्ताले एमालेमा आफ्नो अधिकार प्रयोग गर्न पाइँदैन ? हामीले जनतामाझ धेरै प्रतिवद्धता जाहेर गरेका छौँ । समृद्ध नेपाल, सुखी नेपाली भन्नका लागि मात्रै थियो त ? एउटा व्यक्तिको रहर र लहडले सबै ध्वस्त पार्ने ? हामीले आफ्नो औकात र हैसियत कहिल्यै बिर्सनु हुँदैन । को मेरो घरवेटी थियो भन्ने नबिर्सदै राम्रो होला ।

    हिजो झण्डै दुईतिहाइको केन्द्रीय सरकारसँगै सात प्रदेश मध्ये ६ वटामा हाम्रो सरकार थियो । राष्ट्रिय सभामा दुईतिहाइ सांसद थिए । अहिले अवस्था के छ ? अझ भोलि के होला अवस्था ? जिउ सबै तल परिसक्यो, अनि एउटा खुट्टा माथि राखेर मैले जिते भनेर कसैले भन्छ भने मलाई केही भन्नु छैन । पार्टी त कति छन कति ? भइरहेको विरासत गुमाएर पूर्वराजा ज्ञानेन्द्रको जस्तो अवस्था भएपछि के हुन्छ ? हिङ नभए पनि हिङको टालो त छ नि भनेजस्तै हुँदैन र ? यसको जवाफ नेतृत्वले दिनुपर्छ ।

    एमालेले उपमेयरमा टिकट दिँदा पनि लामो त्याग, तपस्या गरेका इमान्दार कार्यकर्तालाई अन्याय गर्यो होइन ?

    दुःखका साथ भन्नुपर्छ, नेताहरू नै खराब भएपनि कसको के लाग्छ र ? टिकट दिने मान्छे को हो भनेरसमेत नचिन्ने अवस्था एमालेमा आयो । हाम्रो पार्टीमा अखिल नेपाल महिला संघ (अनेमसंघ) छ कि छैन ? काठमाडौँमा नेतृत्व गर्ने महिला एमालेमा कोही पनि छैनन् त ? अनि एउटा हिरोनी आएर चुनाव लड्नुपर्ने अवस्थामा एमाले पुग्यो ।

    यस्तो अवस्था आउँदा पनि कार्यकर्ता किन बोल्न सक्दैनन् ?

    बफादार, इमान्दार कार्यकर्ताले नेतृत्वले जे भनेपनि ठिक होला भनेर स्वीकार्छ । तर, पार्टी नै टाटै पल्टिएपछि त कार्यकर्ताले पनि सोच्नैपर्छ । पार्टीका महिला भोट र लेवी तिर्न मात्रै हुन त ? पार्टीमा लामो समयदेखि लागेका महिलाहरूको अधिकार नै छैन ? अनेमसंघ बनाउन धेरै रगत पसिना बगाएका मेरा दिदीबहिनी हुनुहुन्छ । पार्टीमा किन लाग्नु ? काठमाडौँको ११ वटै पालिका हार्ने गरी एमालेले टिकट बाँड्नुपर्ने अवस्था किन आयो ? अध्यक्ष केपी ओलीसँग यो मेरो प्रश्न हो । के हामी गणेशमानले भनेजस्तै भेडै हौ त ?

    एमालेमा यस्तो प्रश्न गर्ने अवस्था छ र ? जवाफ होइन, स्पष्टीकरण चाहिँ आउला नि ?

    मलाई कारबाही गरेपनि केही फरक पर्दैन । चुनावअघि कारबाही गरिदियो भने सबैभन्दा राम्रो हुन्छ । नेतृत्वलाई म भन्न चाहन्छ, खबरदार तिमीहरूकोे मात्र पार्टी होइन एमाले । मेरो अमुल्य जीवन पार्टीका लागि बिताएको छु । बफादार, इमान्दार कार्यकर्ता अहिले पनि जिउदै छन । व्यक्ति विशेषले मनपर्दी गर्न पाइँदैन । जनता मत हाल्न तयार भएर बसेका छन् । यस्ता जिद्दीहरू, घमण्डीहरूलाई जनताले सिध्याइदिन्छन । काहीँ नभएको जात्रा हाँडीगाउँमा भनेजस्तै काठमाडौँका जनताले हाँडीगाउँको जात्रा देखाइदिन्छन । अब हसाउने र हास्ने मात्र होइन, जनताले रुवाइदिन्छन पनि । जनताले फेरि हिजोको दिन सम्झना गराइदिन्छन ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend