Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • ३१ वर्षीया मेघाको अठोट : शिक्षा र स्वास्थ्य प्राथमिकतामा, भ्रष्टाचारमुक्त जीतपुर-सिमरा

    ३१ वर्षीया मेघाको अठोट : शिक्षा र स्वास्थ्य प्राथमिकतामा, भ्रष्टाचारमुक्त जीतपुर-सिमरा

    नेपालमञ्च संवाददाता
    बैशाख २७ २०७९, मंगलबार

    काठमाडौं : नेपाली कांग्रेसबाट बारा जिल्लाको जीतपुर–सिमरा उपमहानगरपालिकाको उपमेयर उम्मेदवार मेघा शाहीले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएकी छन् ।

    सत्तारुढ गठबन्धनबाट उपमेयरकी उम्मेदवार उनले उपमहानगरभित्र शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा काम गर्न चाहेको बताएकी हुन्। ‘हाम्रो उपमहानगरमा धेरै उद्योगहरू छन् तर यहीका मानिस बेरोजगार छन्, त्यसका लागि रोजगारीको व्यवस्थापनमा काम गर्छु’ उनले भनिन्, ‘म उपमेयर भएँ भने शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा काम गर्छु।’

    ३१ वर्षीया शाहीले उपमहानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउन भूमिका खेल्ने दावी गरिन् । उनले सुशासनलाई प्राथमिकतामा राख्ने बताइन् । ‘स्थानीय तहलाई भ्रष्टाचारमुक्त बनाउनुका साथै सेवालाई सरल बनाउने प्राथमिकता मैले लिएकी छु’ उनले भनिन् । उनले ‘भ्रष्टाचारमुक्त उपमहानगरपालिका’ लाई चुनावी नारा नै बनाएकी छन् ।

    विद्यार्थी राजनीतिबाट जनप्रतिनिध बन्ने दौडमा रहेकी कांग्रेस नेतृ शाहीले गुणस्तरीय शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गर्ने बताइन् । उनले व्यवस्थित सहरीकरण, सुशासन र नागरिक अधिकारको रक्षा नै आफ्नो मुख्य एजेण्डा भएको बताइन् । ‘शिक्षाले नै समाजको मुहार फेर्ने हो । त्यसैले पनि शिक्षालाई विशेष महत्वका साथ अगाडि बढाउनु पर्छ’ उनले भनिन् ।

    औद्योगिक क्षेत्रकारुपमा चिनिने जीतपुर सिमरालाई विकाससँगै पर्यावरण स्वच्छ पार्नुपर्नेमा उनको जोड छ । ‘उद्योग हाम्रो सम्पति हो । देश समृद्धिको आधार पनि हो । यसले यहाँ धेरैलाई रोजगारी दिएको छ । यद्दपी त्यसबाट पर्यावरणलाई पर्ने असरलाई न्यून बनाउनैपर्छ’ उनले भनिन्, म त्यसमा काम गर्छु।’

    पर्यटकीय हिसावले पनि निकै सम्भावना बोकेको जीतपुर सिमरा क्षेत्रमा उनले आन्तरिक पर्यटनलाई बढावा दिन विज्ञहरुसँग परामर्शसमेत लिन थालेकी छन् । ‘पर्सा राष्ट्रिय निकुञ्ज व्यस्थित बनाउनु सके मात्र पनि आन्तरिक पर्यटनलाई बढाउन सकिन्छ’ उनी भन्छिन् ,’हाम्रो काम गर्ने इच्छा शक्तिले हाम्रो बुनिएका योजनालाई मुर्तरुप दिन्छ ।’

    स्थानीय तहमा न्यायाधीशको भूमिकामा हुन्छ, उपमेयर । उनी कानुनकै विद्यार्थी भएकाले स्थानीय तहमा उजुरीमाथि आफूले न्याय दिनसक्ने उनको विश्वास छ । उनले न्यायिक समितिमार्फत् समतामूलक र सचेत समाज निर्माणका लागि अभियान नै चलाउने योजना बनाएकी छन् ।

    नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको केन्द्रीय नेतृत्वको आकांक्षी शाहीलाई पार्टीले उपमहानगरको उपमेयरको उम्मेदवार बनाएको हो । पार्टीले युवाहरुलाई नेतृत्वमा अगाडि ल्याउन खोजेको शाहीको भनाई छ ।

    उनले बाराको राष्ट्रिय माविबाट विद्यार्थी राजनीति सुरू गरेकी थिइन् । उनी उक्त विद्यालयको इकाइ सभापति भएकी थिइन्। उनी नेविसंघ जिल्ला कोषाध्यक्ष र उपाध्यक्ष भएकी हुँदै ठाकुरराम क्याम्पस वीरगञ्जमा दुई पटक इकाइ सभापति भइन्। नेविसंघको ११ औं महाधिवेशनबाट मधेश प्रदेशमै धैरै मत ल्याएर केन्द्रीय सदस्य बनेकी थिइन्।

    कांग्रेसले नेविसंघमा ३२ वर्षको उमेरहद लागू गर्ने निर्णय गरेपछि उनी पनि अध्यक्षको दावेदार थिइन् । तर कांग्रेसले डोजाङ शेर्पालाई नेविसंघको अध्यक्षको जिम्मेवारी दिएपछि उनी पार्टी राजनीतिमा सक्रिय भएकी हुन् । उपमहानगरमा  गठबन्धनबाट मेयर पदमा नेकपा माओवादीका राजन पौडेल उम्मेदवार छन् ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend