Online Nepal
  • आइतबार, ८ जेष्ठ २०७९
  • नवलपुरमा गठबन्धनले उत्साहित कांग्रेस, एमालेलाई विरासत जोगाउन धौ-धौ

    नवलपुरमा गठबन्धनले उत्साहित कांग्रेस, एमालेलाई विरासत जोगाउन धौ-धौ

    नेपालमञ्च संवाददाता
    बैशाख २६ २०७९, सोमबार

    नवलपुर : स्थानीय निर्वाचन नजिकिएसँगै उम्मेदवारहरुलाई मतदाता भेट्न भ्याई नभ्याई छ । ८ वटा स्थानीय तह रहेको नवलपुरमा २०७४ सालको स्थानीय तह निर्वाचनमा ५ वटा पालिका प्रमुखमा नेपाली कांग्रेसले जित हात पारेको थियो भने ३ वटा पालिकामा एमाले विजयी भएको थियो । यसपटक सत्तारुढ दलहरुबीच जिल्लामा चुनावी तालमेल भएको छ भने एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग तालमेल गरेको छ ।

    कांग्रेसले गैँडाकोटमा मदनभक्त अधिकारीलाई मेयरको उम्मेदवार बनाएको छ भने उममेयरमा शान्ति कोइरालालाई उम्मेदवार बनाएको छ । कांग्रेसले यो नगरमा केही वडामा मात्र गठबन्धन गरेको छ । गैँडाकोटको मेयरका लागि ६ जनाको उम्मेदवारी परेको छ । यसअघि नगरपालिका प्रमुख जितेको एमालेले छत्रराज पौडेललाई नै दोहोर्याएको छ । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) एक्लै चुनावी प्रतिस्पर्धामा छ । जसपाले भवानीशंकर सापकोटालाई मेयरको उम्मेदवार बनाएको छ ।

    प्रमुख चार दलको साथ पाएको कांग्रेस यसपटक गैँडाकोटमा जित हात पार्ने दाउमा छ । कांग्रेसको गढ मानिएको गैँडाकोटमा पार्टीभित्रको आन्तरीक कलहका कारण पराजय भोग्नुपरेको कांग्रेस नेताहरुले बताउँदै आएका छन् । गैँडाकोटमा कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको क्षेत्र हो । एमालेले यो पटक पनि कांग्रेसचित्रको अन्तरद्वन्दको फाइदा उठाएर जितलाई निरन्तरता दिने रणनीतिमा छ ।

    देवचुली नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन रहेको कांग्रेस नवलपरासी बर्दघाट सुस्ता पूर्वका सचिव होमराज रानाभाटले जानकारी दिए । देवचुलीको मेयरमा कांग्रेसबाट अशोक बास्ताकोटी उम्मेदवार छन् भने उपमेयरमा माओवादी केन्द्रले सत्यनारायण भुषाललाई उम्मेदवार बनाएको छ । अघिल्लो पटक मेयरमा कांग्रेस विजयी भएको थियो भने उपमेयरमा एमाले विजयी भएको थियो । अहिले पनि एमालेले पुरानै अनुहारलाई उम्मेदवार बनाएको छ । गत निर्वाचनमा मेयरमा पराजित भएका हरी न्यौपाने र उपमेयरमा विजयी बनेकी पार्वता तिवारीलाई उम्मेदवार बनाएको छ ।

    जिल्ला सदरमुकाम रहेको कावासोती नगरपालिकामा सबैको चासो रहेको छ । गत निर्वाचनमा एमालेले जितेको नगरपालिकामा यसपटक विरासत जोगाउन गठबन्धनको चुनौती छ । कावासोती नगरपालिकामा गठबन्धनबाट मेयरमा कांग्रेसले महेन्द्र पोखरेललाई उम्मेदवार बनाएको छ । पोख्रेल गत निर्वाचनमा एमालेसँग पराजित भएका थिए । यस्तै उपमेयरमा माओवादी केन्द्रका पतिराम थनेतलाई उम्मेदवार बनेका छन् । यता एमालेले भने विष्णुप्रसाद भुषाललाई मेयरको उम्मेदवार बनाएको छ । यस्तै फुलकुमारी महतोलाई उपप्रमुखको उम्मेदवार बनाएको छ ।

    मध्यविन्दु नगरपालिकामा गठबन्धन दलहरुबीच वडाहरुमा मात्रै चुनावी तालमेल भएको कांग्रेस जिल्ला सचिव रानाभाटले बताए । गत निर्वाचनमा कांग्रेसले जित हात पारेको मध्यविन्दुमा एमालेलाई यसपटक पनि सजिलो छैन । कांग्रेसले तरुण दलका जिल्ला सभापति सूर्य गुरुङलाई मेयरको उम्मेदवार बनाएको छ । उपप्रमुखमा टिका कुमारी महतोलाई उम्मेदवार बनाएको छ । एमालेबाट प्रमुखमा पुरानै उम्मेदवारलाई दोहोरिएका छन् । एमालेले मेयरमा गत निर्वाचनमा कांग्रेसका चन्द्र बहादुर रानासँग पराजित भिमलाल अधिकारीलाई उम्मेदवार बनाएको छ । एमालेले पूर्णकला चौधरीलाई उपमेयरमा उठाएको छ ।

    कांग्रेसले विनयी त्रिवेणी, बौदीकाली , बुलिङटार र हुप्सेकोट गाउँपालिकाका केही वडामा गठबन्धन गरेपनि प्रमुख र उप प्रमुख पद भने आफैसँग राखेको छ । कांग्रेसका उम्मेदवारविरुद्ध गठबन्धनका अन्य दलहरुले उम्मेदवार उठाएका छैनन् । यी गाउँपालिकाको प्रमुख पदमा यसअघि कांग्रेसका उम्मेदवार विजयी भएका थिए । गतनिर्वाचनमा कांग्रेस एक्लै लडेको भएपनि योपटक गठबन्धनको साथ रहेकाले जित्नेमा गठबन्धनका दलहरु ढुक्क छन् ।

    कांग्रेस एक्लै प्रतिस्पर्धा गर्दा पनि पराजित भएको एमालेलाई गठबन्धन भएपछि थप चुनौती देखिएको हो । विनयीत्रिवेणी गाउँपालिकाको अध्यक्ष पदमा कांग्रेसका डम्मर बहादुर जिसी उम्मेदवार छन् भने उपाध्यक्षमा कांग्रेसले कला भुजेललाई उम्मेदवार बनाएको छ । जिसी यसअघि विजयी भएका थिए । यस्तै एमालेले घनश्या गिरीलाई अध्यक्ष र भगवती वैदावारलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ ।
    हुप्सेकोटको अध्यक्ष पदमा कांग्रेसले लक्ष्मीदेवी पाण्डेलाई नै टिकट दिएको छ । उनी यसअघि एमालेका उम्मेदवारलाई पराजित गर्दै विजयी बनेकी थिइन् । एमालेले भने यो पटक गाउँपालिका अध्यक्षमा प्रेम राना र उपाध्यक्षमा मनी पाण्डेलाई उम्मेदवार बनाएको छ ।

    कांग्रेसले जितेको बौदीकाली र बुलिङटार गाउँपालिकामा कांग्रेसले गठबन्धन नगरी आफ्नै उम्मेदवार उठाएको छ । पडाडी क्षेत्रका यि पालिकाका केही वडाहरुमा भने माओवादीसँग तालमेल गरेको छ । पहाडी क्षेत्र भन्दापनि गैडाकोट र कावासोती नगरपालिकामा धेरैको चासो छ । कावासोतीमा एमालेको गढ भत्काउन गठबन्धनलाई सजिलो छैन भने गैँडाकोटमा एमालेलाई अघिल्लो जितलाई निरन्तरता दिन उत्तिकै कठिन छ । कांग्रेस जिल्ला सचिव रानाभाटले गठबन्धनका दलहरुबीच अन्तरघात नभए जिल्लाका सबैजसो पालिकामा एमाले पराजित हुने दावी गरे ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalmanch.com Site By: SobizTrend